+
+

केन्द्रीय क्याम्पसमा ठूला संगठनलाई स्वतन्त्रको चुनौती

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियुको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनसँगै विद्यार्थीहरुले स्वतन्त्र समूह बनाएर पनि उम्मेदवारी दिएका छन् । त्यसैले यहाँको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

नुनुता राई नुनुता राई
२०७९ फागुन ३० गते २१:४९
बाँयाबाट क्रमश: श्यामराज ओझा, प्रकाश विष्ट, विपिन विक र विष्णु बडैला ।

२९ फागुन, काठमाडौं । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर पढाइ दिउँसोमात्रै हुनेगर्छ । प्राय विहान एमफिल पीएचडीका शोधार्थी मात्र आउने हुनाले उस्तो चहलपहल हुने गर्दैन । तर हिजोआज बिहानैदेखि विद्यार्थीहरुको आउजाउ बढेको छ । कारण हो, स्वतन्त्र विद्यार्थी युनियन चुनाव ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका यी केन्द्रीय विभागमा अध्ययन गर्ने विद्यार्थीले विश्वविद्यालय क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि चैत ५ गते मतदान गर्नेछन् । त्रिविको केन्द्रीय विभागमा अध्ययन गर्ने विद्यार्थीबीच प्रतिस्पर्धा हुने र विगतमा यहाँको स्ववियु जित्नेहरु केन्द्रीय राजनीतिमा स्थापित भएकाले यहाँको स्ववियुको विशेष महत्व छ ।

अहिलेसम्म त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले ७ पटक, अनेरास्ववियुले ६ पटक स्ववियु सभापति जितेका छन् । २०६५ सालमा अखिल क्रान्तिकारीले जितेको थियो । १४ वर्षपछि हुन लागेको चुनावमा एमाले, कांग्रेस र माओवादी केन्द्रको विद्यार्थी संगठनबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

अध्यक्ष पदमा १२ जनाको उम्मेदवारी परेको र स्वतन्त्र हैसियतमा पनि विद्यार्थीहरुले प्यानल बनाएकाले यहाँ नतिजाको अनुमान कठिन छ ।

अनेरास्ववियु ढुक्क

एमालेले प्रकाश विष्टको नेतृत्वमा प्यानल बनाएको छ । हाल इतिहास विषय अध्ययन गरिरहेका विष्ट एमालेको बुद्धिजीवी परिषद केन्द्रीय समिति अन्तर्गतको राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध अध्ययन केन्द्रमा समेत आबद्ध छन् । एमालेका नेताहरुले विष्टलाई बलियो उम्मेदवारका रुपमा हेरिरहेका छन् ।

त्रिवि कीर्तिपुर क्याम्पसमा अनेरास्ववियुले राष्ट्रिय जनमोर्चाको भ्रातृ संगठन अखिल छैटौं र जसपाको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनसँग पनि तालमेल गरेको छ ।

अनेरास्ववियुले अन्य विद्यार्थी संगठनमा देखिएको विवाद र आफ्नो संगठनको एकता नै जितको आधार रहेको दाबी गरेको छ । अनुशासित, राम्रो शैक्षिक पृष्ठभूमि रहेका र नेतृत्व गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउँछ भन्ने छाप त्रिविमा रहेको प्रकाश बताउँछन् ।

अनेरास्ववियुले स्ववियु चुनाव जितेपछि दुई वर्षमा गर्ने कामलाई दुई भागमा बर्गीकरण गरेर भिजन टेन–टेन सार्वजनिक गरेको छ । जसमा विश्वविद्यालय एक्सिलेन्स सेन्टर बनाउने र व्यवहारिक क्यालेन्डर लागू गर्ने प्रतिवद्धता गरेको छ । उसले डिजिटल लाइब्रेरी, विश्वविद्यालय बन्दरहित सम्मानित क्षेत्र, हरियाली विश्वविद्यालय परिसरलगायतको नारा दिएको छ ।

अनेरास्ववियुले संगठन एकढिक्का रहेकाले आफूहरुले नै जित्ने दाबी गरेको छ । प्रकाश भन्छन्, ‘संगठन एक ढिक्का छ । पार्टीको केन्द्रीय कमिटीदेखि लिएर, पार्टीगत लाइन संगठन सबैले ब्याकफोर्सको रुपमा काम गरिरहेकोले हामी जित्छौं ।’ मुख्य प्रतिद्वन्द्वी संगठन नेपाल विद्यार्थी संघभित्र चर्केको विवादलाई पनि अनेरास्ववियुले आफ्नो जितका लागि लाभदायक देखेको छ ।

नेविसंघभित्र समस्या

सोमबार त्रिवि स्ववियु निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा नेविसंघमा आस्थावान चार जनाको अध्यक्षमा उम्मेदवारी छ । संस्थापन पक्षले श्यामराज ओझालाई अध्यक्षको टिकट दिएपछि विष्णुबहादुर बडैलाले नेपाल स्वतन्त्र विद्यार्थी समाज नामको छुट्टै समूह बनाएर प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

अंग्रेजी साहित्यमा स्नातकोत्तरका विद्यार्थी ओझा एमएड अंग्रेजी विषयमा उत्कृष्ट विद्यार्थी हुन् । नेपाल विद्यार्थी समाजबाट उम्मेदवारी दिएका समाजशास्त्रका विद्यार्थी बडैला गणित विषयका स्वर्ण पदक विजेता हुन् । हाल उनी राजनीतिशास्त्रबाट पनि स्नातकोत्तर गरिरहेका छन् ।

नेविसंघमै आस्थावान दीपकराज जोशी र मिलन बस्नेतले पनि अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मातृ पार्टी कांग्रेस र नेविसंघका केन्द्रीय नेताहरु श्यामराज ओझालाई सघाउन अरु उम्मेदवारलाई आग्रह गरिरहेका छन् । तर सफल हुन सकेका छैनन् । सोमबार माओवादीको विद्यार्थी सगठन अखिल क्रान्तिकारीसँग तालमेल गर्ने र बडैलाको पनि उम्मेदवारी फिर्ता गराउने कांग्रेस र नेविसंघका केन्द्रीय नेताहरुको प्रयास असफल भयो ।

नेविसंघभित्रको विवादले चुनावमा असर नगर्ने नेविसंघका उम्मेदवार श्यामराज ओझा बताउँछन् । नेविसंघबाट उम्मेदवार बनेका सबै जना योग्य र क्षमतावान भएकाले मतदाता विद्यार्थीमाझ राम्रो प्रभाव भएको उनको जिकिर छ । ‘हामी सबैजना क्वालिटी भएको उम्मेदवारको टिम छौं । त्यसैपनि विश्वविद्यालयमा नेविसंघप्रतिको चार्म छँदै छ ।’

स्वतन्त्र उम्मेदवारी दिएकाहरुले आफूलाई समर्थन गर्ने सहमति भइसकेको पनि ओझा बताउँछन् । ‘भोलिदेखि हामी सँगै हिँड्छौं । सँगै क्याम्पेनिङ गरेर हिँड्ने भएकोले हिजो के भयो भन्ने कुराले खासै फरक पर्दैन’ ओझाले भने ।

स्वतन्त्र विद्यार्थी समूह बनाएर आफ‌ंै प्रचारमा हिँडेका बडैलाले पनि केही दिनमा आफूलाई साथ दिने ओझाको आशा छ । उनी भन्छन् ‘हामी सबै साथी हौं । संगठनभित्र सानातिना असन्तुष्टि हुन्छन् उहाँहरुको पनि छ, तर सम्भवत भोलिबाट सँगै हिँड्छौं ।’

नेविसंघले परीक्षा र नीतिगत प्रणाली, संरचनागत सुधार, पाठ्यक्रम निर्माण लगायतका विषयमा सुधार गर्नुपर्ने विषय उठाएको छ ।

दलका नेताहरुले नेविसंघभित्रको विवाद समाधान नगर्दा यसपटक स्ववियु निर्वाचनमा नेविसंघले ठूलो क्षति बेहोर्नुपर्ने एक विद्यार्थी नेता बताउँछन् । ‘हामीभित्रको यो फुट दोस्रो पक्षको लागि अवसर हुने सम्भावना छ, नेतृत्वको कमजोरी समग्र संगठनले ब्यहोर्नुपर्ने स्थिति छ ।’

बडैलाले थाले प्रचार

नेविसंघबाट टिकटको आकांक्षी रहेका विष्णु बडैला पार्टी र संगठनका केन्द्रीय नेताहरुले समस्या समाधान गर्न नचाहेकाले अब सम्झौता हुने ठाउँ नरहेको बताउँछन् । ‘(उम्मेदवारी) फिर्ता हुने सहमति भएपनि हुन सकेन । त्यसपछि पार्टीका, संगठनका केन्द्रीय नेताहरुले बुझ्न खोजेनन् । त्यसो भइसकेपछि हामीले हाम्रो आत्मसम्मान गुमाएर किन पछि हट्ने भनेर मैदानमा उत्रिएका छौं’ उनी भन्छन् ।

बडैला आफ्नो समूहको उम्मेदवारको योग्यता र समूहले उठाएको एजेन्डाका कारण मत पाउनेमा ढुक्क देखिए । विश्वविद्यालय क्याम्पसको स्ववियु सभापति सिनेट सदस्य हुन्छ । प्रधानमन्त्री, शिक्षामन्त्री, उपकुलपतिलाई प्रभावित गर्न सक्ने ल्याकत भएको स्ववियु सभापति हुनपर्ने र त्यो सबै गुण, क्षमता आफ्नो टिमसँग भएको बडैलाको दाबी छ ।

अखिल क्रान्तिकारी अलमलमा

अखिल क्रान्तिकारी धेरै समय गठबन्धन गर्ने कि नगर्ने अलमलमा पर्‍यो । अन्तिममा बिपिन विकको नेतृत्वमा उम्मेदवारी दियो । अब एकल रुपमै जाने तयारीमा जुटेको उम्मेदवार बिपिन बताउँछन् । एजुकेसन प्लानिङ एन्ड मेनेजमेन्ट (ईपीएम) का विद्यार्थी बिपिन अंग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर हुन् ।

अखिल क्रान्तिकारीले विश्वविद्यालय विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्नको लागि पहल गर्ने, बिहानी कक्षा सञ्चालन गर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित गर्ने एजेन्डा उठाएको छ । अध्यक्षका उम्मेदवार विपिन भन्छन् ‘हामीले ठूला सपना बाँडेका छैनौं । हामीले खास सुधार गर्नुपर्ने जसले गर्दा विद्यार्थीले भोगिरहेको समस्या समाधान हुने र विश्वविद्यालयको सुधारको मुख्य आधारलाई एजेन्डा बनाएका छौं ।’

विपिनले अब तालमेलको सम्भावना टरेको पनि बताए । ‘हामी एकल रुपमा जान्छौं र हामी जित्छौं’ उनले भने ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट प्रविन लाखाजु, स्वतन्त्र विद्यार्थी समूहबाट अर्जुन बगाले,स्वतन्त्र उम्मेदवार ललितजन रावल, अनेरास्ववियूबाट समीर गौतम, अखिल (क्रान्तिकारी) संयुक्तबाट प्रवल भण्डारी अध्यक्षको उम्मेदवार बनेका छन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?