+
+

तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १०:१४
फाइल तस्वीर

१ चैत, बुटवल । चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने छ ।

दुई विभागीयसहित ८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ ।

चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

यस्तै ८ गते रुपन्देही ११ र सुदूरपश्चिमबीचको विजेता तथा हिमालय शेर्पा र थ्रीस्टारको विजेताबीच पहिलो सेमिफाइनल हुने छ भने अन्तिम सेमिफाइनल ९ गते एपीएफ र फ्रेण्ड्सबीचको विजेता तथा मनाङ मर्स्याङ्दी र पुलिसको विजेताबीच हुने छ ।

चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने संघका महासचिव गौचनले बताए ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् ।उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष लोक पुनले बताए ।

प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ दिने निर्णय गरेको संघका पूर्व अध्यक्ष दीर्घबहादुर केसीले बताए ।

२१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

२०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायतका कारणले २२औं संस्करण हुन सकेको थिएन ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो ।

बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

हालसम्म को को विजयी भए ?

२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पाँचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।

त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्र मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९औं संस्करणको उपाधि सीएमसी संकटा क्लवले जितेका थिए ।

२०औं तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टार क्लब काठमाडौंले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?