+
+

घोराहीको ग्याँस प्लान्ट : उद्‌घाटन भयो, ग्याँस आएन

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ चैत १ गते २०:२०

१ चैत, दाङ । फोहोरबाट निस्किएको ग्याँस बाल्न पाउने खबर सुन्दा घोराही उपमहानगरपालिका-१६ गुरुवा गाउँका पृथ्वीलाल चौधरी खुसी भए । पाइपबाट भान्सामै आउने ग्याँसमा खाना पकाउन पाइने कुराले पृथ्वीलाल फुरुङ्ग थिए ।

घोराही उपमहानगरपालिका-१६ स्थित करौतीडाँडामा वायो ग्याँस प्लान्ट पनि स्थापना भयो । तर प्लान्ट उद्‌घाटन भएको वर्ष दिन बितिसक्दा पनि उनले त्यहाँबाट निस्किएको ग्याँस बाल्न नपाउँदा पृथ्वीलाल निराश छन् । उनीमात्र होइन, ग्याँस पाइप जोडिएका ३४ घरका बासिन्दा फेरि पनि दाउरा र सिलिण्डर ग्याँसमा भर पर्न बाध्य छन् ।

परीक्षणका लागि भनेर केही दिन ग्याँस बाँडिए पनि त्यसपछि नआएको पृथ्वीलाल बताउँछन् । ‘फोहोरबाट ग्याँस बाल्ने भनेको धेरै भयो,’ उनी भन्छन्, ‘तर चुलोमा ग्याँस अझै आइपुगेको छैन ।’

जिल्लामै पहिलोपटक फोहोरबाट ग्याँस उत्पादन गर्ने प्लान्ट निर्माणका लागि २०७५ मंसिर ५ गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको थियो । सो सम्झौता अनुसार घोराही उपमहानगरपालिका–१६ को करौतीडाँडामा २२ करोड लागतमा प्लान्ट स्थापना गरिएको थियो ।

‘ग्याँस प्लान्टका लागि दैनिक २० टन फोहोर आवश्यक पर्छ,’ उनी भन्छन्, ‘तर अहिले आधा टन मात्र फोहोर उपलब्ध हुने गरेको छ । चाहिएजति फोहोर नहुँदा ग्याँस उत्पादन गर्न सकेका छैनौं ।’

प्लान्टको उद्घाटन गत वर्ष फागुनमा गरिएको थियो । तर स्थानीयले त्यो ग्याँस बाल्न पाएका छैनन् । पर्याप्त ग्याँस उत्पादन नहुँदा सुरुमा गुरुवा गाउँका ३४ घरमा परीक्षणका लागि वितरण गरिएको ग्याँस पनि अहिले बन्द गरिएको छ ।

थोरै भयो फोहोर

नेपाल ऊर्जा विकास कम्पनी भने फोहोर संकलन नहुँदा ग्याँस उत्पादनमा समस्या भइरहेको बताउँछ । कम्पनीका ग्याँस प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले पर्याप्त फोहोर नहुँदा ग्याँस उत्पादन कम भएको र वितरण पनि गर्न नसकेको बताए ।

‘ग्याँस प्लान्टका लागि दैनिक २० टन फोहोर आवश्यक पर्छ,’ उनी भन्छन्, ‘तर अहिले आधा टन मात्र फोहोर उपलब्ध हुने गरेको छ । चाहिएजति फोहोर नहुँदा ग्याँस उत्पादन गर्न सकेका छैनौं ।’

उनका अनुसार अहिले प्लान्टमा दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्याँस उत्पादन हुने गरेको छ । दैनिक ८ सयदेखि ९ सय घनमिटर ग्याँस उत्पादन गर्न सकेमात्रै लक्ष्यअनुसार ग्याँस वितरण गर्न सकिने श्रेष्ठको भनाइ छ । पहिलो चरणमा ७५० घरघुरीमा ग्याँस पुर्‍याउने लक्ष्य राखिएको थियो ।

उत्पादन बढेमा गुरुवा गाउँसँगै नारायणपुर बजारसम्म ग्याँस पुर्‍याउन सकिने कम्पनीले जनाएको छ । हाल घोराही–१६ को खिरट्टे गाउँमा पाइप विस्तारको काम भइरहेको छ ।

प्लान्ट म्यानेजर श्रेष्ठका अनुसार फोहोर उत्पादन गर्नका निम्ती सड्ने गल्ने फोहोर आवश्यक पर्छ । उपमहानगरबाट संकलन गरिएको फोहोर अपुग भइरहेकाले जिल्लाका अन्य पालिकाहरूबाट पनि फोहोर संकलनका लागि छलफल भइराखेको प्लान्ट म्यानेजर श्रेष्ठ बताउँछन् ।

ग्याँस उत्पादनका लागि कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता भएको छ । ग्याँस प्लान्टका लागि उपमहानगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । ग्याँस प्लान्ट २ हजार घन मिटरको छ ।

सम्झौताअनुसार कम्पनीले २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । २० वर्षका लागि कम्पनीले महानगरपालिकालाई ५ प्रतिशत रकम दिने गरी सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?