+
+

सरकारको आम्दानी भन्दा १ खर्ब ५६ अर्ब बढी खर्च

अच्युत पुरी अच्युत पुरी
२०७९ चैत १ गते १९:५५

१ चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को सुरुवाती दिनबाटै गडबड भएको सरकारी वित्तको खाडल अझ बढ्दै गएको छ । आवको ८औं महिना (फागुन) बितिसक्दा सरकारको आम्दानी र खर्चका बीचमा १ खर्ब ५६ अर्ब ४४ करोड ८७ लाख रुपैयाँको अन्तर देखिएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

फागुन मसान्तसम्म राजस्व, अनुदान र अन्य आम्दानीमार्फत सरकारले कुल आम्दानी ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख रुपैयाँ बराबरको गरेको छ । यसबीचमा सरकारको खर्च भने ७ खर्ब ७९ अर्ब २३ करोड १ लाख रुपैयाँ देखिएको छ । यस वर्ष चालु खर्चमा तीब्र दबाब र राजस्व प्राप्तिमा आएको संकुचनले आम्दानी र खर्चका बीचमा धेरै अन्तर देखिन पुगेको मन्त्रालयले बताउँदै आएको छ । तीन वटै तहको निर्वाचन यस वर्ष सम्पन्न भएका थिए ।

तर, बाह्य क्षेत्रमा परेको दवाव घटाउन सरकारले आयात निरुत्साहनको नीति यो वर्ष लियो । त्यसपछि अर्थतन्त्रमा समेत केही शिथिलता देखा पर्‍यो । यसको असर सरकारी राजस्वमा देखियो । जसले समग्र आम्दानी प्रभावित भएको हो । अर्थ मन्त्रालयका अनुसार सरकारको आम्दानी र खर्चमा देखिएको यो अन्तर पुरा गर्न आन्तरिक तथा बाह्य ऋण लिने गरिएको छ ।

राजस्वले पुनः थेग्न छाड्यो चालु खर्च

महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुनसम्मको तथ्यांकले राजस्वबाट पुनः चालु खर्च समेत धान्न नसक्ने अवस्था दोहोरिएको छ । यस वर्ष सरकारले राजस्वबाट फागुनसम्म ५ खर्ब ८२ अर्ब ७७ करोड १५ लाख रुपैयाँ प्राप्त गरेको छ । तर, यस अवधिमा चालु प्रकृतिको खर्च ६ खर्ब ८ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुगिसकेको छ ।

यस अनुसार चालु प्रकृतिको खर्चलाई सरकारले उठाएको राजस्वले धान्न नसक्ने अवस्था आएको हो । सरकारले यस आवमा १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । फागुन मसान्तसम्म भएको संकलन मात्र ४१.५३ प्रतिशत हो । यो तथ्यांकले सरकार लक्ष्य भन्दा निकै पर रहेको संकेत गरेको छ ।

पूँजीगत खर्चको गति सुस्त

चालु प्रकृतिको खर्च चुलिएको यो वर्ष पूँजीगत खर्चको गति भने साविककै जस्तै छ । फागुनसम्म सरकारले ६ खर्ब ८ अर्ब रुपैयाँ चालु खर्चे गर्दा पूँजीगत खर्च भने अझै १ खर्ब नाघेको छैन । फागुनसम्म सरकारले ८४ अर्ब २५ करोड रुपैयाँ मात्र पूँजीगत खर्च गरेको छ । यो कुल लक्ष्यको २२.१५ प्रतिशत हो । चालु खर्च भने लक्ष्यको ५१.४६ प्रतिशत पुगिसकेको छ । फागुनसम्म सरकारले ८६ अर्ब १२ करोड रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गरेको छ । यो लक्ष्यको ३७.४१ प्रतिशत हो ।

सरकारले चालुआवमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । जसमध्ये फागुनसम्म ७ खर्ब ७९ अर्ब २३ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ । यो कुल लक्ष्यको ४३.४४ प्रतिशत हो । सरकारले यो लक्ष्यलाई अर्धवार्षिक समिक्षाबाट भारी कटौती भने गरेको छ । नयाँ लक्ष्य अनुसार सरकारले यस अवधिमा १५ खर्ब ४९ अर्ब रुपैयाँ खर्च गर्नेछ ।

राजस्व संकलन ४१.५३ प्रतिशत मात्र

नेपालले यस वर्ष ८औं महिना बितिसक्दा लक्ष्यको मात्र ४१.५३ प्रतिशत राजस्व संकलन गर्न सकेको छ । यसो हुनुमा आन्तरिक तथा भन्सार दुवै राजस्वमा ठूलो गिरावट आएको छ ।

आन्तरिक राजस्व विगभाले फागुनसम्म २ खर्ब ८१ अर्ब रुपैयाँ संकलन गरेको छ । भन्सार विभागले २ खर्ब ५० अर्ब रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । दुवै विभागले लक्ष्य अनुसार राजस्व उठाउन सकेनन् । यसो हुनुमा आवको सुरुवातमा आयातमा लागेको प्रतिबन्ध तथा आन्तरिक अर्थतन्त्रमा आएको सुस्ततालाई मुख्य कारण मानिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?