+
+

मोरङमा अनेरास्ववियुको ह्रस्व र दीर्घले विवाद

विद्यार्थी संगठनको नाम पछाडि पार्टीको नाम जोड्न अनेरास्ववियुको माग

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत १ गते १८:१५

१ चैत, विराटनगर । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनको नाम उस्तै भएपछि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विवाद भएको छ । नेकपा एमालेको विद्यार्थी संगठनले अनेरास्ववियु (ह्रस्व यु) र एकीकृत समाजवादीले अनेरास्ववियू (दीर्घ यू) लेख्छ ।

नाम एउटै भएपछि एमालेको विद्यार्थी संगठनका नेताहरुले आफ्नो भोट घट्न सक्ने आकलन गरेका छन् । उनीहरुले मतपत्रमा संगठनको नामको पछाडि पार्टीको नाम लेख्न माग गरेका छन् । तर उसको यो प्रस्तावमा अरु संगठन तयार नभएपछि विवाद भएको हो ।

एउटै नाम हुँदा आफ्ना मतदाता झुक्किने भएपछि संगठनको नामको पछाडि पार्टीको नाम थप्न माग गरिएको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताए । निर्वाचन समितिले अनेरास्ववियुको माग बमोजिम विद्यार्थी संगठनको नामको पछाडि पार्टीको नाम एमाले लेख्ने तयारी गरेको थियो । तर अन्य संगठनले विरोध जनाएका छन् ।

‘संगठनको नाम उच्चारण गर्दा उस्तै सुनिन्छ, नाममा ह्रस्व दीर्घ मात्रै फरक छ’, अनेरास्ववियु अध्यक्ष घिमिरेले भने, ‘नाम उस्तै भएका कारण मतदाता झुक्किन्छन् ।’

मतदाता झुक्किने अवस्था आएपछि संगठनको नाम पछाडि पार्टीको नाम राख्न माग गरिएको उनले बताए । संकेतको रुपमा पार्टीको नाम नराखिए समानुपातिक मतमा प्रभाव पर्ने उनले बताए ।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादव संगठन दर्ता भएकै नाम मतपत्रमा हुनुपर्ने बताउँछन् । मतदानअघि नाम थपघट गर्न नपाउने उनको भनाइ छ । उनले भने, ‘संगठन दर्ता हुँदाकै नाम मतपत्रमा उल्लेख गर्नुपर्छ ।’

नेपाल विद्यार्थी संघ महेन्द्र मोरङका सभापति जसवन्त पौडेल विद्यार्थी संगठनको चुनावमा पार्टीको नाम जोड्न नहुने बताउँछन् । अखिलले पार्टीको नाम जोडेपछि विरोध भएको बताउँदै उनले त्रिभुवन विश्वविद्यालयको निर्देशिका अनुसार अगाडि बढ्न आग्रह गरिएको बताए ।

प्रदेश १ को ठूलो कलेज महेन्द्र मोरङ कलेजमा तीन दल निकट विद्यार्थी संगठनको प्रतिस्पर्र्धा छ । नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियुबाट नविन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादवले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् ।

अनेरास्ववियु र नेपाल विद्यार्थी संघ एकल रुपमा प्यानल बनाएका छन् । अखिल क्रान्तिकारीका उम्मेदवार यादवलाई जसपा र जनमत पार्टीका विद्यार्थी संगठनको समर्थन छ ।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले भने सचिवमा र सदस्यहरुमा उम्मेदवार उठाएको छ । त्यस्तै समानुपातिकतर्फ पनि उम्मेदवारहरु उठाएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?