+
+
नेपाल पुलिस क्लबको ओरालो यात्रा :

इतिहासकै कठिन अवस्थामा नेपाल पुलिस क्लब

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ चैत २ गते ८:०१

२ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको जारी संस्करणमा नेपाल पुलिस क्लब चौथो खेलसम्म अंकविहीन छ । डबल राउण्ड रोविन प्रणालीमा हुने लिगका सुरुवाती चार खेलले प्रष्ट संकेत गरेको छ कि लामो विरासत बोकेको नेपाल पुलिसको फुटबल टिम इतिहासमै कठिन अवस्थामा छ ।

२०६० सालमा सिधै ए डिभिजन क्लबको मान्यता लिएर लिग खेल्न थालेको पुलिस कुनै समय घरेलु फुटबलकै पर्यायवाची थियो । ए डिभिजन लिगमा ४९ खेलसम्म अपराजित रहेर कीर्तिमान बनाएको थियो । २०६८ सालमा एक खेल अगावै लिग च्याम्पियन बन्दा पुलिसले ४९ खेलसम्म अपराजित थियो । तर अहिले च्याम्पियन होइन, लिगमा कसरी जोगिने भन्ने प्रश्न पुलिस टिम सामु छ ।

गर्विलो इतिहास

२००८ सालमा तत्कालीन युवराज महेन्द्रको नामबाट स्थापित पुलिस क्लबले लामो समय नेपाली फुटबलमा एउटा शक्तिका रुपमा राज गर्यो । ए डिभिजन लिगको सुरुवाती केही संस्करणमा ‘महेन्द्र पुलिस क्लब’को पनि सहभागिता थियो । वि.सं ३० को दशकपछि फौजी टिमलाई लिगमा समावेश गरिएन ।

तर पुलिस टिमप्रति खेलाडीको मोह कहिल्यै घटेन । अच्युतकृष्ण खरेल, रुपकराज शर्मा, विज्ञानराज शर्मा, देवनारायण चौधरी, हरि खड्का र जुमानु राईसम्मले पुलिसको विरासतलाई कायम राखिरहे । ४० र ५० को दशकमा ए डिभिजन लिग नखेल्दा पनि नकआउट प्रतियोगितामा पुलिस सधैं प्रमुख शक्तिका रुपमा रहृयो । त्यसबेला प्रतियोगिताहरु थोरै हुन्थे, तर जति प्रतियोगिता आयोजना हुन्थे, सबैजसोमा फाइनलमा पुलिस टिमको स्थान निश्चितजस्तै थियो ।

राष्ट्रिय टिमका अधिकांश खेलाडीको प्रमुख प्राथमिकता नेपाल पुलिस हुने गर्थ्यो । कतिसम्म भने २०४७/४८ सालतिर पुलिसले क्लबमा खेलाडी संख्या धेरै हुँदा माछापुच्छ्रे क्लबको नामबाट आफ्नो ‘बी’ टिमसमेत बनाएको थियो ।

२०६० सालमा एन्फाले विभागीय टिमलाई पनि ए डिभिजन लिगमा प्रवेश दिने निर्णय गरेपछि पुलिसले लिग खेल्न पायो । पहिलो सहभागितामै दोस्रो भएको पुलिसले २०६३, २०६६-६७ र २०६८ मा लगातार तीनपल्ट उपाधि उचाल्यो । तेस्रोपल्ट लिग जितेकै वर्ष पुलिस क्लब राष्ट्रिय लिग च्याम्पियन पनि बन्यो । त्यसपछि हो पुलिसको ओरालो यात्रा सुरु भएको । त्यसयता लिगको पाँच संस्करणमा पुलिस उपाधिको छेउछाउ पनि पुग्न सकेको छैन । गत वर्षको संस्करणमा त पुलिसले मुस्किलले रेलिगेसन टार्‍यो र ११औं स्थानमा रहेर सिजन अन्त्य गर्‍यो ।

यो सिजन त चौथो चरणसम्म आउँदा पुलिस क्लब अंक तालिकाको पुछारमा छ । टिमको सन्तुलन र पछिल्ला लिगको नतिजाका आधारमा यसो हुनु अप्रत्यासित पनि थिएन ।

विभागीय टिम नेपाल पुलिसले विदेशी खेलाडीलाई टिममा राख्ने निर्णय गरेको छैन । पछिल्लो सिजन पुलिस टिममा रहेका सुमन लामा, तेज तामाङ लगायत ८ खेलाडीले छाडिसकेका छन् । तेज र सुमन अस्ट्रेलिया पुगिसके । निरकुमार राई, रोशन खड्का र तीर्थ रानामगर पुलिसको स्थायी जागिर छाडेर दुबई गएका छन् । कपिल ढकाल र साजन राईले पनि पुलिस छाडेका छन् भने दिनेश गुरुङ साँगास्थित प्रहरी विद्यालयमा सहायक प्रशिक्षक बनेर गएका छन् ।

लिग च्याम्पियन टिमका जुमानु राई, भोला सिलवाल र सुमन सुवेदी अहिलेसम्म खेलिरहेका छन् । भरत शाह र अजित भण्डारीले युवा अनि कम अनुभव भएका खेलाडीसँग सन्तुलन मिलाउने प्रयास गरिरहेका छन् । तर टिम लयमा छैन ।

ए डिभिजन लिगमा नेपाल पुलिस क्लबको नतिजा ।

‘राम्रा खेलाडीहरुले नै राम्रो टिम बन्ने हो । नयाँ खेलाडीहरु बेलैमा ल्याउन सकिएन । टिममा खेलाडीको कमी भएको छ,’ पुलिसका भेट्रान खेलाडी समेत रहेका प्रशिक्षक चेतन घिमिरे भन्छन्, ‘खेलाडी पलायनले पनि अप्ठ्यारो बनायो । अनुभवी खेलाडीहरुले एकैपल्ट छाड्दा टिम अहिले असन्तुलित भएको छ ।’

विभागमा रहेका प्रतिभाको पहिचान गर्ने उद्देश्यले पुलिसले गत महिना आइजिपी कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । २०७२ सालयता पहिलोपल्ट भएको प्रतियोगिताबाट पहिचान भएका खेलाडीलाई यही लिगमा प्रयोग गर्न असम्भव भएको चेतन बताउँछन् । पाँच चरणको खेलपछि लिग रोकिनेछ र मोफसलका प्रतियोगिताहरु हुन्छन् । नकआउट प्रतियोगिताहरु खेलेर टिमलाई सन्तुलनमा ल्याउने प्रयास गर्ने उनले बताए ।

पुलिस क्लबका महान खेलाडी हरि खड्का पनि अहिलेसम्म नतिजामा शून्य देखिए पनि पुलिसका युवा खेलाडीको जोश हेर्दा भविष्यमा सुखद नतिजा आउनेमा आशावादी छन् । ‘सफलता हासिल गर्न सक्नुहुन्न भने तपाईँको प्रयासको अर्थ रहँदैन । तर अहिलेसम्म चार खेल हेर्दा पुलिसले प्रयास नै नगरेको चाहिँ होइन’, प्रशिक्षक समेत रहेका खड्काले अनलाइनखबरसँग भने, ‘समयमा स्कोर निकाल्न सकिरहेको छैन । टक्करमा चुनौती भने दिइरहेको छ ।’

चार खेललाई विश्लेषण गर्दा पनि पुलिस टिमको व्यवस्थापनले अनुभवहीन, तर युवा जोश भएकालाई अनुकूल प्रयोग गर्न चुकेको देखिन्छ । चर्च ब्वाइजसँगको पहिलो खेल र मंगलबार मच्छिन्द्रसँगको खेलमा पुलिसले सुरुवाती अग्रता लिएर पनि जोगाउन सकेन । हिमालयन शेर्पासँग इन्जुरी समयमा गोल खाएको पुलिसले संकटासँग ३-० ले हार्दा २ गोल अन्तिम १० मिनेटमा खाएको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाले यसपालीदेखि नियम परिवर्तन गरी एउटा टिमले पाँच जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र प्लेइङ सेटमा चार जनासम्म राख्न पाउने बनाएको छ । विदेशी खेलाडीको उपस्थितिले पनि टिमको असन्तुलन कम गर्न सक्थ्यो । तर पुलिसले अहिलेसम्म विदेशी खेलाडी राख्ने निर्णय गरेको छैन । क्लबको प्रदर्शन नसुधि्रने हो भने पुलिस टिमले बी डिभिजन लिगको नयाँ अनुभव लिनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।

पुलिसले नदेखेको संकट

तीन पटक उपाधि जितेको क्लब यो अवस्थामा पुग्नु नेपाली फुटबलकै लागि सुखद होइन, तर यसका लागि पुलिस क्लब आफैं पनि उत्तिकै जिम्मेवार छ ।

२०६८ सालमा पछिल्लोपल्ट राष्ट्रिय लिग जितेको पुलिसको टिममा भएका स्टार खेलाडीहरुको उमेर ढल्किँदै गएको थियो । पुस्तान्तरणको प्रक्रियालाई बुझेर नयाँ प्रतिभाको खोजी गर्नुपर्ने थियो । तर पुलिसले विभागभित्र प्रतिभाको खोजी त गरेन, नयाँ प्रतिभालाई अनुबन्धन गर्न व्यवसायिक रुपमा अगाडि बढाउन चाहेन । प्रष्ट रुपमा भन्दा फुटबलमा फेरिएको परिस्थितिलाई बुझेन ।

एक दशकसम्म अगाडि पुलिस टिम सबै खेलाडीको मुख्य प्राथमिकतामा पर्ने थियो । किनकी पुलिसले दिएको सुविधा बाहिरका क्लबले दिएको भन्दा धेरै हुन्थ्यो । साथै पुलिसको जागीरले भविश्यको अनिश्चय पनि हट्थ्यो, बढुवा भएर अफिसरसम्म बन्न पाउने पनि लोभ हुन्थ्यो । अहिले अवस्था फेरिएको छ ।

पुलिसको परीक्षा लोक सेवा आयोगले लिन थालेपछि आन्तरिक दरबन्दीमा खेलाडीलाई राख्न पाउने व्यवस्था हट्यो, विशेष व्यवस्था गरेर जागिर दिन पाउने व्यवस्था हट्यो । अनि, अरु क्लबहरुले दिने सेवा सुविधा पनि बढ्यो । विभाग बाहिरका क्लबका खेलाडीले पाउने सुविधा पुलिसका स्टार खेलाडीले पाउनेभन्दा तीन/चार गुणासम्म बढी हुन्छ ।

पुलिसको जवानको तलब करिब ३० हजार हुन्छ । विभाग बाहिरका क्लबले फुटबल गतिविधि भइरहेको समयमा कम्तिमा पनि ८०/९० हजार रुपैयाँ भुक्तानी गरिरहेका छन् । जस्तो, गत सिजन पुलिसको जवानबाट राजीनामा दिएका तेज तामाङले यो सिजनका लागि चर्च ब्वाइजसँग मासिक डेढ लाखमा वार्षिक सम्झौता गरेका थिए । यद्यपि उनी सम्झौतालगत्तै अस्ट्रेलिया पलायन भएका छन् ।

‘अहिलेको आधुनिक फुटबललाई अपनाउन नसक्दा नै यस्तो भएको जस्तो लाग्छ । हामी कस्तो युद्ध गर्न जाँदैछौं र कस्तो जनशक्ति छ भन्ने मूल्यांकन नहुँदा आजको अवस्था आएको हो’, झण्डै दुई दशक पुलिसको खेलाडी रहेका हरि खड्का भन्छन्, ‘कमजोरी सुधार गर्न नसक्नु र दोस्रो योजना बनाउन नसक्नु कमजोरी हो ।’ यही कारण पुलिस क्लबले नयाँ खेलाडी पनि भर्ना गर्न नसकेको र विदेशी खेलाडी राख्न पाउने व्यवस्था पनि उपयोग गर्न नसकेको उनको बुझाइ छ ।

नेपाल पुलिसको खेलकुद शाखा प्रमुख डीएसपी रुकेश तण्डुकार ठोस योजना नबनेको स्वीकार गर्छन्, तर फुटबललाई प्राथमिकता नदिएको मान्न भने तयार छैनन् । खेलाडीको महत्वाकांक्षा बढ्दा विभागमा आकर्षण घटेको भन्दै उनले टिमको संकट समाधानका लागि व्यवस्थापनले प्रयास गरिरहेको बताए ।

‘हामी फुटबलमात्र होइन विभागमा रहेका सबै खेलका खेलाडीबारे उत्तिकै चिन्तित छौं । मुख्य कुरा हामीसँग बजेट छैन । सरकारले पनि कुनै विशेष सहयोग गरेको छैन,’ भारोत्तोलनका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका डीएसपी तण्डुकारले भने, ‘फुटबल टिममा विदेशी खेलाडी राख्नेबारे छलफलमा छौं ।’

टिममा विदेशी खेलाडी राख्ने प्रस्तावबारे पुलिस एकेडेमीमा तहगत छलफल भएको चार महिना हुन लाग्यो तर अहिलेसम्म निर्णय भएको छैन । पुलिस क्लबका लागि छुट्टै दरबन्दी र बजेट छैन भने सरकारले पनि सहयोग गरेको छैन । पुलिसका खेलाडीले आफ्नै रासन खर्चबाट डाइट खानुपर्ने अवस्था छ । यही अवस्थालाई सुधार नगर्ने हो भने पुलिस टिम रेलिगेसनमा पर्नसक्ने सम्भावना उच्च छ । जित्न बिर्सिएको पुलिस टिमलाई गति दिनु ए डिभिजनमा डेब्यू गरिरहेका प्रशिक्षक चेतनका लागि कठिन चुनौती बनेको छ । युवा खेलाडीको जोशलाई व्यवस्थापन गर्नु र व्यवस्थापनलाई आफ्ना मागहरुमा सहमत गराउने दोहोरो जिम्मेवारीमा उनी थिचिएका छन् ।

खेलाडी हुँदा लगातार जितको स्वाद पाएका चेतनले प्रशिक्षक बन्दा माहोल फेरिएको छ । तर उनी पुलिसलाई जित्न सक्ने टिम बनाउनेमा विश्वस्त छन् । भन्छन्, ‘विदेशी खेलाडी राख्नेबारे व्यवस्थापन तहमा कुरा गरेका छौं । उहाँहरु पनि त्यसमा सहमत हुनुहुन्छ । म छिटोभन्दा छिटो त्यो निर्णय भइदेओस् भन्ने चाहन्छु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?