+
+

‘चरी’ प्रिमियरसँगै काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १९:४३

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित वरिष्ठ फिल्मकर्मी, जज र कूटनीतिज्ञले फिल्मको शुभारम्भ गरे ।

कोरिन शर्मा निर्देशित फिल्म ‘चरी’ प्रिमियरसँगै फेस्टिभल आरम्भ भयो । फेस्टिभलको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष केसीले नेपाली संस्कृति र फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन महोत्सव महत्वपूर्ण हुने बताए । फिल्मको ज्ञान र प्रविधि आदानप्रदानमा निफले भूमिका खेल्नेमा उनले आशा व्यक्त गरे ।

चिनियाँ राजदूत चेन सोङले दुई मुलुकबीच संस्कृति आदानप्रदान र कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउन फेस्टिभलको योगदान महत्वपूर्ण हुने बताए । समारोहमा भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरु पनि सहभागि थिए ।

फिचर फिल्मतर्फका जुरी प्रमुख प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री फिल्मतर्फकी जुरी प्रमुख ली रानले फेस्टिभलको महत्वबारे बोलेका थिए । विश्वभरका कथाहरुको उत्सव नारासहित सुरु भएको महोत्सवमा ३५ मुलुकका ९५ फिल्म प्रदर्शन हुनेछन् ।

क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमा हलमा आयोजित उद्घाटन सत्रमा देशी तथा विदेशी फिल्ममेकर उपस्थित रहे । क्यूएफएक्सकै सिभिलसहित छायाँ, भक्तपुर र लबिम मलमा फेस्टिभल संचालन हुनेछ । दर्शकले तालिकाअनुसार ती हलमा पुगेर फिल्म हेर्न सक्नेछन् ।

फेस्टिभल चैत २ गतेदेखि ६ गतेसम्म हुनेछ । मास्टरक्लास, छलफल लगायतका कार्यक्रम भने पर्यटन बोर्डमा हुनेछन् । यसपटक पनि ७ विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरु प्रतिस्पर्धामा छन् । चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा मास्टरक्लास दिनेछिन् ।

भारतीय फिल्म निर्देशक प्रेमेन्द्र मजुमदारले अन्तर्राष्ट्रिय उचाइसहितको घरेलु सिनेमा विषयमा मास्टरक्लास दिनेछन् । प्राध्यापक इटामी बोर्जनले डकुमेन्ट्री फिल्ममा नयाँ प्रवृत्ति विषयमा मास्टरक्लास दिनेछन् । भूराजनीतिमा सिनेमाको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीति : नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ : महत्व र अभ्यास, हास्य व्यंग्यले हौसिएको नेपाली सिनेमा र आमा नायिका : जिम्मेवारी र करिअरजस्ता विषयमा प्यानल छलफल चलाइने भएको छ ।

फेस्टिभल अध्यक्ष केपी पाठकका अनुसार निफमा भाग लिन ५० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्ममेकर काठमाडौंमा आइपुगेका छन् । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले फेस्टिभल आयोजना गरेको हो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?