+
+

अष्टलक्ष्मी शाक्य : एमालेको सधैं कवच

सइन्द्र राई सइन्द्र राई
२०७९ चैत २ गते २२:०३

२ चैत, काठमाडौं । २७ फागुन बिहान केन्द्रीय कार्यालय च्यासलमा बसेको नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे । ‘महिला पनि, जनजाति पनि र पुरानो पनि, उहाँलाई उठाउँदा महत्व फरक हुन्छ’, लामै भूमिकासहित ओलीले प्रस्ताव राखेका थिए ।

अघिल्लो दिन दिउँसो मात्रै बैठक बस्ने सूचना पाएर पार्टी केन्द्रीय कार्यालय पुगेकी शाक्यले ओलीको प्रस्ताव स्वीकारिनन् । ‘मलाई इच्छा छैन, अरुलाई गरौं’, शाक्यको जवाफ थियो । तर ओलीले फेरि भने, ‘हामीले उठाउने क्यान्डिडेट इतिहास भएको, क्षमता भएको, प्रतिष्ठा भएको व्यक्ति हुनुपर्छ । तपाईं सबै हिसाबले उपयुक्त हुनुहुन्छ ।’

पार्टीको प्रतिष्ठाकै निम्ति शाक्य उम्मेदवार बन्नुपर्ने ओलीको तर्कमा अरु पदाधिकारीले पनि साथ दिए । ‘अरुले पनि पार्टीको प्रतिष्ठा बढाउने कुरा छ भनेपछि उहाँले मन लागी नलागी ‘हुन्छ नि त’ भन्नुभयो’, एक पदाधिकारी भन्छन् । शाक्य तयार भएपछि शुक्रबार (३ चैतमा) हुने उपराष्ट्रपतिको चुनावमा उनी एमालेको उम्मेदवार बनेकी छन् ।

एमाले नेताहरु, शाक्यको व्यक्तित्व प्रचार गरिरहेका छन् । ‘अष्टलक्ष्मी शाक्य हरेक हिसाबमा उपराष्ट्रपतिका लागि योग्य हुनुहुन्छ, हामी उहाँलाई जिताउन लागिपरेका छौं’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् ।

उपराष्ट्रपतिमा उम्मेदवारी मनोनयन दर्ता गराउँदै अष्टलक्ष्मी ।

एमालेकी शाक्यसँग सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादव प्रमुख प्रतिस्पर्धी छन् । राष्ट्रपति चुनावको राजनीतिक समीकरण हेर्दा शाक्य भन्दा यादव बलिया देखिन्छन् । किनकि राष्ट्रपति चुनावमा एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मतभार पाउँदा ३२ हजार ८०२ मतभारसहित नेपाली कांग्रेसका रामचन्द्र पौडेलले जितेका थिए । राष्ट्रपति र उपराष्ट्रपति दुबै निर्वाचनका मतदाता प्रतिनिधिसभा र प्रदेशसभा र सदस्य हुन् ।

१० दलीय गठबन्धनबाटै उपराष्ट्रपतिमा जनमत पार्टीका ममता झाको समेत उम्मेदवारी रहेकाले राष्ट्रपतिको उम्मेदवारले पाएको सबै मत रामसहायले पाउने छैनन् । सत्ता गठबन्धनका चार ठूला दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको सबै मत पाए यादवलाई उपराष्ट्रपति जित्न पर्याप्त हुन्छ ।

तर संविधानको भावना विपरीत मुलुकको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको (दुवैमा) उम्मेदवार महिला नबनाएको आरोप सत्ता गठबन्धनले खेपिरहेको छ । स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुखहरुमा एक जना महिला अनिवार्य भएपनि राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै जना पुरुष जिताउन सत्ता गठबन्धन लागिपरेको छ ।

सत्ता गठबन्धनको यही कमजोरीको फाइदा उठाउने रणनीति अन्तर्गत एमाले अध्यक्ष ओलीले शाक्यलाई उनको योगदान, भूमिका र आवश्यकता सम्झाएर उम्मेदवार बनाएका छन् । राज्यका प्रमुख पदहरुमा खसआर्य पुरुषहरु मात्रै निर्वाचित भएकाले पनि एमालेले आफूलाई समावेशी व्यवस्थाप्रति ध्यान दिने पार्टीको रुपमा चिनाउन शाक्यको प्रचारमा जोड दिइरहेको देखिन्छ ।

एमाले शीर्ष नेताहरुसँगै अष्टलक्ष्मी शाक्य ।
‘राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँको योगदान कुनै पनि पुरुष नेता भन्दा कम छैन, अझ महिलालाई भूमिगत राजनीति गर्न कति अप्ठ्यारो थियो भन्ने सम्झने हो भने उहाँ विशेष क्षमता भएको नेता हुनुहुन्छ’, एमाले नेता गोमा देवकोटा भन्छिन् ।

यसको अर्थ शाक्यलाई अगाडि सारेर महत्वपूर्ण पदमा योग्य र समावेशी उम्मेदवार बनाउने पार्टीको छवि निर्माण गर्नु एमाले नेतृत्वको उद्देश्य देखिन्छ । शाक्यलाई निकट विगतमा एमाले नेतृत्वले गरेको असहयोग हेर्दा पनि उपराष्ट्रपति बनाउन नभएर पार्टीको रक्षार्थ उम्मेदवार बनाएको पुष्टि हुन्छ ।

एमाले नेताहरु भने पार्टी निर्णयको बचाउ गर्छन् । ‘पार्टीभित्र छलफल गरेर अवसरको कुरा गर्दा उहाँ स्वभाविक पात्र हुनुहुन्छ, योग्य त हुनुहुन्छ नै’, पार्टी उपाध्यक्ष ज्ञवाली भन्छन् । शाक्यलाई एमालेले उपराष्ट्रपति पदको उम्मेदवार बनाएको यो पहिलोपटक भने होइन । गणतन्त्र स्थापनापछि ४ जेठ २०६५ सालमा पहिलोपटक राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुँदा उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

त्यसबेला पनि एमाले उम्मेदवारले जित्ने सम्भावना थिएन । नजित्ने चुनावको राष्ट्रपतिमा रामप्रित पासवान र शाक्य उपराष्ट्रपतिको उम्मेदवार बनिन् । तर एमालेले कांग्रेस र मधेशी जनाधिकार फोरमसँग गठबन्धन गरेपछि कांग्रेसका रामवरण यादव राष्ट्रपति र फोरमका परमानन्द झा उपराष्ट्रपति बने । अष्टलक्ष्मीको उम्मेदवारी परिसकेकाले चार मत पाइन् ।

२०६४ को संविधानसभा चुनावमा नराम्रो गरी हारेको एमाले त्यतिखेर पनि अहिलेकै जस्तो अप्ठ्यारोमा थियो । त्यो चुनावमा असाधारण मत पाएर पहिलो दल बनेको माओवादीले कांग्रेस–एमालेलाई समावेशी व्यवस्थाको विरोधी पार्टी भनेर चित्रण गरेकाले त्यसको खण्डनमा पासवान र शाक्यलाई एमालेले उम्मेदवार बनाएको थियो । शाक्यले त्यतिखेर पनि पार्टी निर्णय भन्दै नजित्ने चुनावको उम्मेदवार बन्न स्वीकारिन् ।

पार्टीलाई आवश्यक परेको बेला शाक्यले दिएको विश्वासिलो साथ र समर्पणलाई केही उदाहरणले मात्रै नपुग्ने पुराना नेता गोमा देवकाटा बताउँछिन् । ‘राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँको योगदान कुनै पनि पुरुष नेता भन्दा कम छैन, अझ महिलालाई भूमिगत राजनीति गर्न कति अप्ठ्यारो थियो भन्ने सम्झने हो भने उहाँ विशेष क्षमता भएको नेता हुनुहुन्छ’, देवकोटा भन्छिन् ।

एमाले केन्द्रीय सदस्य रचना खड्का पनि अष्टलक्ष्मी शाक्यको संघर्षपूर्ण विगत, नेतृत्व क्षमता र निस्वार्थ योगदान हेर्दा महिला नेताका रुपमा मात्रै बुझ्नु अपमान हुने बताउँछिन् । ‘भन्नेहरु महिला नेतृ, महिलाको क्षेत्रमा योगदान गरेको भन्छन्, तर त्यो उहाँप्रतिको साँघुरो दृष्टिकोण हो’ खड्का भन्छिन्, ‘उहाँ समग्र लोकतान्त्रिक, वामपन्थी, प्रगतिशील आन्दोलनहरुको नेता हो ।’

कठोर समर्पण

एमाले उपाध्यक्ष ज्ञवाली समकालीन राजनीतिमा अष्टलक्ष्मी शाक्य बराबरको योगदान र हैसियत भएका नेताहरु कमै रहेको बताउँछन् । ‘कम्युनिष्ट आन्दोलनको माक्र्सवादी धारबाट साहना प्रधानको व्यक्तित्व अग्लो थियो, तर माले हुँदै एमाले बन्ने प्रक्रियाको संगठन निर्माण र नेतृत्वमा अष्टलक्ष्मी शाक्यसँग तुलना हुने नेताहरु सायद हुनुहुन्न’, ज्ञवाली भन्छन् ।

४१ वर्ष लामो राजनीतिक जिन्दगीमा डेढ वर्ष पनि लाभको पदमा नबसेकी शाक्यको व्यक्तित्वबारे प्रशंसा गर्न नेताहरुले कञ्जुस्याइँ नगर्नुमा पार्टी र राजनीतिक निष्ठाका निम्ति उनको सम्झौतारहित योगदान नै हो । ‘अरु नेताहरु र उहाँले राजनीति गर्नुको पृष्ठभूमि नै फरक छ । त्यो बेला उहाँ आन्दोलनमा लाग्नु सानोतिनो विद्रोह थिएन, ठूलो चेतसहितको विद्रोह थियो’, एमाले नेता खड्का भन्छिन् ।

राजधानीको एक सम्पन्न परिवारमा जन्मिएर पनि भूमिगत कम्युनिष्ट आन्दोलनको कठिन यात्रा रोज्नुलाई शाक्यले सामाजिक न्याय स्थापना गर्ने संकल्प भनेकी छन् । ‘विभेदबारे सचेत हुँदै गएँ । धनी गरिबी, ठूलो जात सानो जात, हेला अपमान, दुःख पीडा, छोराछोरीबीच विभेद आदि’, त्यसबेला कम्युनिष्ट पार्टीमा लाग्नुको कारणबारे शाक्यले आफ्नो पुस्तक ‘मेरो पाइला, मेरोे अनुभव’मा लेखेकी छन् ।

६९ वर्षीय शाक्यले २०२८ सालमा एसएलसी सकेपछि उच्च शिक्षाको सजिलो र सम्मानित बाटो छोडेर कम्युनिष्ट आन्दोलनतिर होमिनुमा भने चिनियाँ रचनाहरुको अध्ययनले प्रेरणा दिएको थियो । एसएलसी परीक्षा दिएपछिको खाली समयमा उनले बसन्तपुरस्थित चिनियाँ पुस्तकालयमा ‘ल्यु हु लान’, ‘ल्यू हु सुन’, ‘माओत्सेतुङ’ लगायत चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको रचना पढिन् । त्यही बेला नेकपा श्यामप्रसाद समूहका नेता महेशमान श्रेष्ठले थप उत्साह दिँदा अष्टलक्ष्मी कम्युनिष्ट आन्दोलनमा लाग्ने निष्कर्षमा पुगिन् ।

उनले त्यस्तो निर्णय लिनु भनेको आफ्नै घरपरिवार, समाज र तत्कालीन राज्यसत्ताविरुद्ध उभिनु थियो । तर बुर्जुवा शिक्षा बहिष्कार गर्नुपर्छ भन्दै क्याम्पसको पढाइ छोड्न उत्प्रेरित गर्ने महेशमान आफैं डाक्टर पढ्न चीन जाँदा पनि अष्टलक्ष्मीले कम्युनिष्ट पार्टीमा लाग्ने निर्णय बदलिनन् । १६ पुस २०३६ मा दुई पन्ने पत्र बुवाले पाउने गरी छोडेर शाक्य भूमिगत भइन् । त्यही कारण शाक्यको परिवार विघटन भयो । परिवारका सदस्यहरू छिन्नभिन्न भए ।

‘जब कम्युनिष्ट पार्टीमा लाग्नुभयो, त्यसपछि खेप्नुपरेको दुःख पीडा, हारजित, खुशी, ऋणधन सबै पार्टी र आन्दोलन नै मान्नुभयो । जस्तोसुकै संकटमा पनि विचलित हुनुभएन’, एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना भन्छिन्, ‘निष्ठामा बसेको र इमान्दार कम्युनिष्ट नेता कस्तो हुन्छ भनेर उदाहरण दिँदा प्रश्न उठ्ने ठाउँ राख्नुभएन ।’

शाक्यले आफू भूमिगत हुँदा साथमा लिएर गएको ठूलै मात्राको गरगहना पार्टीलाई बुझाइन् । ‘मैले घर छोडेर आउँदा साथमा केही गरगहना, सुन र हिराका टपहरु, सुनका चुराहरु, केही जोर औंठीहरु, सुनको सिक्री र लकेट आदि थिए’ शाक्यले आफ्नो पुस्तकमा लेखेकी छन्, ‘पार्टीका लागि काम लाग्ला भनेर क.श्याम (अमृतकुमार बोहोराको भूमिगतको नाम) मार्फत पार्टीलाई बुझाइदिएँ ।’ त्यो गरगहना बेचेर तत्कालिन मालेले छापाखाना खरिद गरेको थियो । भूमिगत हुनु अगाडि पनि स्कूल पढाएर शाक्यले पाउने मासिक पारिश्रमिक १५० रुपैयाँ पनि सबै पार्टीलाई बुझाउने गरेकी थिइन् ।

घरपरिवार र व्यक्तिगत खुशी छोड्ने निर्णय जत्तिकै कठिन अवस्था शाक्यले भूमिगतकालमा ब्यहोरिन् । उनलाई सिन्धुपाल्चोकको पिस्कर गाउँ पठाइयो । अल्पसंख्यक थामी जातिको बसोबास रहेको पिस्करमा भूमिगत बस्नु सुखसयलमा हुर्किएकी शाक्यको पृष्ठभूमि र तत्कालीन प्रशासनको निगरानीले सजिलो थिएन । ‘भएका ओढ्ने ओछ्याउने अत्यन्तै मैला र लिखा–जुम्राले घर गरेका हुन्थे । घरका भित्ताका प्वालहरुबाट उडुस हिँडिरहेका हुन्थे’ शाक्यले आफ्नो संस्मरणमा लेखेकी छन्, ‘नुहाउन नपाएर मेरै कपाल र लुगामा लिखा र जुम्रा परिसकेका थिए ।’

उनी त्यहीँ भएको समय, २०४० सालमा पञ्चायती प्रशासनले पिस्करमा आक्रमण गर्दा इली थामी र बीरबहादुर थामी मारिए भने कयौं घाइते भए । पिस्कर प्रकरणलाई एमालेजनले आफ्नो राजनीतिक विद्रोहको एक महत्वपूर्ण घटना मान्छन् ।

पार्टी भूमिकामा क्रमिक बढुवा हुँदै दुई पटक (नवौं र दशौं महाधिवेशनबाट) उपाध्यक्ष भइसकेकी शाक्यलाई लाभको पदमा जान आन्तरिक कलह प्रतिकुल बन्यो ।

अझ भूमिगत हुँदै अमृत बोहोरासँग विवाह अनि छोराछोरी हुर्काउँदै राजनीति गर्दाको संघर्षपूर्ण समय उनले बिताइन् । पिस्करपछि झापा पुगिन् । ताप्लेजुङ पुग्दा पक्राउ परेकी शाक्य जेलमा हुँदै (३०–३१ जेठ २०४६ मा) अखलि नेपाल महिला संगठनको पहिलो महाधिवेशनबाट अध्यक्ष चयन भइन् । ‘भूमिगत राजनीतिमा लागेको हामी अरु महिला नेताहरु थियौं, तर अष्टलक्ष्मी शाक्यलाई नै नेतृत्व दिनु राम्रो हुन्छ भनेर अध्यक्ष बनायौं’, एमाले नेता देवकोटा सम्झिन्छन्, ‘कीर्तिपुरमा भएको सम्मेलनमा उहाँ आउन सक्नुभएन, प्रहरीले सूचना पाएपछि हामी भागाभाग भएका थियौं ।’

कतिसम्म भने २०४६ सालमा पञ्चायत अन्त्यसँगै खुला राजनीतिमा आउँदा शाक्यलाई आफ्नै छोरा विश्वासले आमा स्वीकार्ने अवस्था थिएन । ‘लामो समयसम्म त छोराले हामीलाई आमाबुवा भनेर स्वीकार गर्नै सकेन । केही दिन त झापाका आमा बुवाकहाँ जाने भनेर रुवाबासी नै गर्‍यो’, शाक्यले संस्मरणमा लेखेकी छन् । एउटा आमा र महिला हुनुको प्रतिकुलताबीच भूमिगत राजनीति गर्दाका यस्ता कयौं संकटहरु शाक्यले खेपिन् ।

पञ्चायती व्यवस्थाको अन्त्यसँगै भने शाक्यको खुला राजनीति मात्रै सुरु भएन, विघटन भएको परिवार फेरि जोडिनु ठूलो सफलता भयो । २०४८ सालमा उनी राष्ट्रियसभा सदस्य र पाँचौं राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य भइन् । ‘खुला राजनीतिमा आएपछि पनि उहाँको जीवनशैली र राजनीतिप्रतिको निष्ठा बदलिएन’, शाक्य निकट भएर काम गरेकी नेता सीता थापा भन्छिन्, ‘एकपछि अर्को गरी जुनियर नेताहरु शक्ति केन्द्रका रुपमा स्थापित भइरहँदा अष्टलक्ष्मी शाक्य धेरै कार्यकर्ताको प्रेरणाको स्रोत बनेर बस्नुभयो ।’

नटुंगिएको प्रतिकुलता

खुला संसदीय राजनीतिले अष्टलक्ष्मीलाई सांसद, मन्त्रीदेखि मुख्यमन्त्रीसम्म बनायो । तर उनको राजनीतिक संघर्षको अवधि भन्दा लाभको पदमा बसेको समय कयौं गुणा छोटो छ ।

२०५६ मा काठमाडौं–६ बाट प्रतिनिधिसभा सदस्य जितेकी शाक्य २०६० सालमा आठ महिना महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भइन् । २०६४ को पहिलो संविधानसभा चुनाव जित्न सकिनन्् । तर २०६५ को प्रचण्ड नेतृत्व सरकारमा उद्योग मन्त्री भइन् । यो सरकार नौ महिनामै ढल्यो । २०७० मा एमालेले शाक्यलाई समानुपातिक पद्धतिबाट सांसद बनायो ।

०७४ मा काठमाडौं–८ (ख) बाट प्रदेशसभा सदस्य जितिन् । तर संसदीय राजनीति शाक्यले सोचेजस्तो सजिलो रहेन । माओवादी विद्रोह, शाही कू जस्ता बाह्य राजनीतिक प्रतिकुलतासँगै पार्टीभित्र सधैंको मतभेद र विभाजन खेप्नुपर्‍यो । विशेषगरी पार्टी भूमिकामा क्रमिक बढुवा हुँदै दुई पटक (नवौं र दशौं महाधिवेशनबाट) उपाध्यक्ष भइसकेकी शाक्यलाई लाभको पदमा जान आन्तरिक कलह प्रतिकुल बन्यो ।

२०७४ को चुनावमा बागमती प्रदेशको मुख्यमन्त्री बन्न भनेरै प्रदेशसभा सदस्यको उम्मेदवार भएकी थिइन् । तर पार्टी अध्यक्ष केपी शर्मा ओली र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी विपक्षमा लागेपछि पार्टी उपाध्यक्ष शाक्यलाई हराएर हेटांैडाका पूर्वमेयर डोरमणि पौडेलले संसदीय दलको नेता जिते ।

पौडेल माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भए । तत्कालीन नेकपाको एकता प्रक्रिया भंग हुँदा एमाले समेत संकट पर्‍यो । त्यही बेला पार्टी एकता जोगाउन भन्दै अध्यक्ष ओलीले नै प्रस्ताव गरेपछि शाक्य २ भदौ २०७८ मा बागमतीको मुख्यमन्त्री बन्न तयार भइन् । तर पनि एमाले विभाजन रोकिएन । एमालेकै नेतृत्व गरिसकेका माधव नेपाल र झलनाथ खनाल सहित नेताहरुले एकीकृत समाजवादी बनाएपछि शाक्यको पद दुई महिना पनि टिकेन ।

मुख्यमन्त्रीबाट राजीनामा दिँदै अष्टलक्ष्मी शाक्य ।

त्यसबेला मुख्यमन्त्रीका निम्ति ओलीसँग सम्झौता गरेर विभाजनतिर नलागेको भनी शाक्यको आलोचना भयो । शाक्यले भने आफैंले बनाएको पार्टी विभाजनको पक्षमा कहिल्यै नउभिएको र नउभिने तर्क गरिन् । २०५४ मा वामदेव गौतम र २०६९ मा अशोक राईको नेतृत्वमा पार्टी विभाजन हुँदा पनि शाक्य संस्थापनतिरै बसेकी थिइन् । एकता जोगाउन चाहनेहरुले पनि शाक्यलाई देखाएरै प्रचार गरे ।

सधैं संस्थापन रोज्ने निर्णयबारे पनि शाक्य प्रष्ट छन्– पार्टीभित्र मतभेद देखिन सक्छ, छलफलबाट समाधान खोज्नुपर्छ । तर आफैंले हुर्काएको पार्टी विभाजन गरेर कम्युनिष्ट आन्दोलन बलियो हुँदैन ।

शाक्यले सार्वजनिक अडानजस्तै कयौंपटक निर्णय समेत लिएकी छन् । जस्तो– २०७२ को संविधान जारी भएपछि प्रधानमन्त्री बनेका केपी ओलीले मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर मन्त्रीको प्रस्ताव अस्वीकार गर्दै शाक्यले भनेकी थिइन्, ‘पार्टीमा मेरो जति त्याग गरेका अरु साथीहरु पनि हुनुहुन्छ, उहाँहरुलाई मौका दिनोस् ।’ त्यसबेला श्रीमाया थकालीलाई आफ्नो साटो मन्त्री बनाउन प्रस्ताव गरेकी थिइन् । ओलीले शान्ता मानवीलाई पशुपंक्षी विकास मन्त्री नियुक्त गरे ।

गत मंसिरकै चुनावमा पनि शाक्यले उम्मेदवार बन्न मानिनन् । काठमाडौं–८ मा उम्मेदवार बन्न गरिएको प्रस्तावमा भनिन्, ‘सधैं एउटै मान्छे उम्मेदवार भएर हुँदैन, नयाँलाई अवसर दिनुपर्छ ।’ यसपटक पनि शाक्यले आफ्नो विकल्प प्रस्तुत गरेकी थिइन् । उनको प्रस्ताव थियो, मेरो साटो शिवसुन्दर राजवैद्य वा विद्यासुन्दर शाक्य मध्ये एकलाई टिकट दिनुहोस् । त्यसपछि ३० मंसिरको चुनावमा शिवसुन्दर राजवैद्यले टिकट पाए ।

शाक्यले संसदीय र सक्रिय राजनीतिबाटै क्रमिक विदा लिनेको योजना अन्तर्गत चुनाव नलडेको प्रष्टोक्ति दिने गरेकी छन्् । एमालेमा ७० वर्षे उमेर हदको व्यवस्था भएकाले पनि एघारौं महाधिवेशनबाट उनी सक्रिय राजनीतिमा रहने छैनन् । तर तिनै उपाध्यक्ष शाक्यलाई एमालेले पार्टीको प्रतिष्ठा जोगाउन भन्दै उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।

जबकी नेतृत्व कौशल र जिम्मेवारी लिँदाको सफलताबारे एमालेभित्रै शाक्यको चर्चा हुने गर्छ । मन्त्री, सांसद र मुख्यमन्त्री हुँदाको अवधिमा पनि तुलनात्मक ठीकै काम गरेको शाक्यलाई पार्टी सम्पर्क मञ्च र महिला संगठनलाई मजबुत बनाएको श्रेय नेताहरु दिन्छन् । तर योगदानअनुसारको अवसर नभएर अहिले पनि शाक्यलाई पार्टी बलियो बनाउने चेहराकै रुपमा प्रस्तुत गर्ने प्रवृत्ति कायमै रहेको एक स्थायी कमिटी सदस्य बताउँछन् ।

‘बहुदलपछि एमाले लगातार सरकारमा गइरहेको छ, तर प्रधानमन्त्री र गृहमन्त्री त टाढाको कुरा भयो । अहिलेसम्म पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्नेगरी महिला नेतालाई उपप्रधानमन्त्री समेत बनाएको छैन’ ती नेता भन्छन्, ‘तर अष्टलक्ष्मी शाक्यले फेरि पनि पार्टी निर्णय पालनामा इमान्दारिता देखाउनुभयो ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?