+
+
विचार :

महिला या पुरुष बन्नुपर्ने लैङ्गिकताको भ्रम

सुनिलबाबु पन्त (भिक्षु कश्यप) सुनिलबाबु पन्त (भिक्षु कश्यप)
२०७९ चैत ३ गते १४:४०

नेपालमा तेस्रोलिङ्गी शब्दको प्रयोग हुने गरेको छ । संस्कृतको तृतीय प्रकृति शब्दबाट लिइएको हो । क्रिश्चियन तथा इस्लाम धर्मले कब्जा जमाउनु अघिसम्म पूर्वी र दक्षिणएशिया, अधिकांश अफ्रिकी देश तथा अन्य आदिवासी समाजमा दुईभन्दा बढी लिङ्गलाई मान्यता दिने गरिएको थियो ।

परापूर्वकालदेखि विश्वभर लैंङ्गिक विविधतालाई केही समाजमा सम्मान गरिएको छ । कुनै समाजले यसलाई तिरस्कार पनि गरेको छ । केही समाजले तेस्रोलिङ्गीको अस्तित्वलाई मान्यता दिएका मात्र छैनन्, उनीहरूले महिला र पुरुषभन्दा भिन्न लैङ्गिक पहिचानलाई सम्मान गरेका छन् र समाजमा महत्वपूर्ण भूमिका समेत निर्वाह गरेका थिए र छन् ।

उदाहरणका लागि, दक्षिणएशियामा हिजडा, कोथी, मारुनी, जनाना, नास्त्री, नटुवा, फुलुमुलु, सिंगारु, नपुंसक समुदायहरू, केही अमेरिकी आदिवासी समाजमा दोहोरो आत्मा भएका व्यक्ति, दक्षिण पूर्वी एशियामा वारिया, कथोई र प्यासिफिक आइल्यान्डर समुदायहरूमा फाफाफफेनीहरूलाई निकै सम्मान दिइएको थियो ।

जब, औपनिवेशिक शासनका भुत्ते संयन्त्रहरूले लैंगिक पहिचानमा नयाँ र प्रशासनिक प्रतिबन्धहरू लगाए, त्यसले महिला या पुरुष मात्रै बन्नुपर्ने बाध्यता सिर्जना गर्‍यो । जसले गर्दा सदियौंदेखि अस्तित्वमा रहेका र आजको दिनसम्म पनि लैंगिकताको बारेमा वैकल्पिक सोचको बाटो देखाउँदै आएका तृतीय प्रकृतिका समुदायहरू दबिंदै गए, लैंगिक विविधताको सोच हराउँदै गयो।

शताब्दीयौं लामो र उत्कट धार्मिक प्रचारसँगै पश्चिमा संचारमाध्यमको दबदबाका कारण बलियो भएको सांस्कृतिक प्रभावमा परेर अहिले तृतीय प्रकृतिका प्रायः मानिसहरू आफ्नो अस्तित्व चिनाउन परम्परागत पहिचानको प्रयोग गर्दैनन् । उनीहरू आफूलाई चिनाउन अंग्रेजी शब्द ‘ट्रान्सजेन्डर’ भन्न रुचाउँछन् ।

यहाँ ‘तेस्रो’ शब्दको अर्थ श्रेणी (र्‍याकिङ्ग) भन्ने होइन भनेर बुझ्न जरूरी छ । यसको सट्टा झट्ट नदेखिने, विशेष, मध्यमलिंगी भन्ने अर्थ लाग्छ । जसरी हामीले ‘तेस्रो आँखा’ भन्दा झट्ट नदेखिने, विशेष र बीचको आँखा भनेर बुझ्ने गरिन्छ । तेस्रो शब्दले दुईभन्दा बढी छन् भनेर पनि संकेत गर्दछ ।

यसरी, महिला या पुरुषमा सीमित नहुने (ननबाइनरी) समुदाय आफ्नै पहिचान के हो भन्ने द्विविधामा छन् । पश्चिमा प्रभावले गर्दा आफ्नो परम्परागत पहिचान जनाउने शब्द प्रयोग गर्नु भन्दा अंग्रेजी शब्दका पहिचान जनाउने शब्दहरू प्रयोग गर्न सजिलो ठान्छन् ।

उनीहरूका लागि लिङ्गलाई संकेत गर्न परम्परागत भन्दा पश्चिमी तथा आधुनिक शब्दहरू प्रयोग गर्न सहज भइरहेको छ । आफ्नो अस्तित्वलाई परम्परागत रूपमा स्वीकारेर बाँच्नुको सट्टा आफूलाई सांस्कृतिक, शारीरिक, भावनात्मक अनि आध्यात्मिक रूपले पश्चिमा देखाउन सहज मानिरहेका छन् ।

बुझ्नका लागि यो उदाहरण हेरौं ।जब कसैले भन्छ, ‘म गलत शरीर लिएर जन्मिएको छु’ यो ‘गलत शरीर’ भन्ने सोचाइ कहाँबाट आयो ? केले र कसले विश्वास गर्न बाध्य बनायो, जसले गर्दा तपाईंलाई लागेको छ कि तपार्इं गलत शरीरमा हुनुहुन्छ भनेर । कसले सिकायो र कसले विश्वास गर्न बाध्य बनायो कि तपाईंलाई लाग्छ आफू जन्मेको शरीर चाहिं गलत शरीर र अर्को शरीर चाहिं सही शरीर भनेर ।

पश्चिमा धर्मशास्त्र र मिथकका अनुसार, ईश्वरले संसार (सूर्य, चन्द्रमा, तारा, नदी, उपत्यका, रूख, जनावर, खाना आदि) सृष्टि गर्नुभयो, उहाँले पुरुष (एडम) को सिर्जना गर्नुभयो । केही समयपछि, ईश्वरलाई लाग्यो आफूले सृष्टि गरेको पुरुष एक्लो भएको र उसका लागि साथी, सहयोगी चाहिन्छ भनेर । उहाँले एडमको सहयोगीका रूपमा र उसलाई मनोरञ्जन प्रदान गर्नका लागि एउटी महिला (ईभा) बनाउने निर्णय गरी सिर्जना गर्नुभयो ।

यसरी, पश्चिमा धारणा र सांस्कृतिक प्रणाली (ईसाई, यहुदी र इस्लाम धर्म) का अनुसार, ईश्वरले पुरुष र महिलाका अलावा कुनै अन्य लिङ्ग बनाउनुभएन । आज महिला या पुरुष मात्रै हुनुपर्छ भन्ने मान्यता थोपर्ने काम भइरहेको छ, त्यसको मूलमा यही दर्शन छ ।

औपनिवेशिक शासनका भुत्ते संयन्त्रहरूले लैंगिक पहिचानमा प्रशासनिक प्रतिबन्ध लगाएर महिला या पुरुष मात्रै बन्नुपर्ने बाध्यता सिर्जना गरे । यसले सदियौंदेखि अस्तित्वमा रहेका तृतीय प्रकृतिका समुदायहरू दबिंदै गए ।

यो धारणाले तृतीय प्रकृतिका मानिसहरूमाथि प्रतिकूल प्रभाव पार्दछ । यसले एक बालक पुरुष मात्र र एक बालिका महिला मात्र बन्न सक्छिन् भन्ने ठान्दछ । अन्य विकल्प, जहाँ एक बालक महिला स्वभाव भएको मध्यम प्रकृति (तृतीय प्रकृति) को बन्न सक्छ अथवा एउटी बालिका पुरुष स्वभाव भएको मध्यम प्रकृतिको मानिस बन्न सक्ने कुरा ईश्वरले तय गरेको विशाल योजनाको विपरीत ठानिन्छ । यस्तो प्रयास गर्ने कार्यलाई अप्राकृतिक, पाप र यहाँसम्म कि अपराधका रूपमा पनि हेर्ने गरिन्छ ती समाजहरूमा, जहाँ यस्ता मान्यता स्थापित छन् ।

तर पूर्वी धर्म, परम्परा, सांस्कृतिक प्रणालीमा कुनै सृष्टिकर्ता ईश्वर छैनन् भनिएको छ । पूर्वीय दर्शन अनुसार ‘सृष्टि भन्ने शब्द प्रयोग भए पनि कुनै एउटा विशेष घटना नभई लामो र चक्रीय प्रक्रियाको एउटा अभिन्न अंग हो, जसमा सृष्टि, यसको स्थिति र यसको विनाश सबै एउटै निरन्तर लामो चक्रीय प्रणालीभित्र पर्छन् र प्रत्येक कुरा एकअर्कासँग घनिष्ठ रूपमा जोडिएका छन्’ भनिएको छ ।

प्रकृतिमा भएका सबै विषयवस्तु र घटना प्राकृतिक हुन् । मनुष्य आफ्नो कर्मको माध्यमबाट प्राकृतिक चक्रको हिस्सा बन्न पुग्छ र आफ्नो जीवनमा कर्मको परिणाम भोगिरहेको हुन्छ ।

यसरी महिला, पुरुष र मध्यमलिङ्गीहरू मानवताको एउटा हिस्सा, प्रकृति र अस्तित्वको अंश हुन् । उनीहरू सबै आ–आफ्नो कर्मको परिणाम भोगिरहेका अर्थात् कर्म अनुसार बाँचिरहेका छन् । त्यसैले कसैले पनि कुनै एउटा लिङ्ग अर्को लिङ्गभन्दा राम्रो वा माथिल्लो दर्जाको छ भन्न मिल्दैन, अनि कसैलाई पनि महिला वा पुरुष नै बन्नु भनेर आग्रह गर्नु पनि उचित हुँदैन ।

त्यसैले, ऐतिहासिककालदेखि नै हरेक व्यक्तिको लैंगिकता र यौनिक पहिचान जे जस्तोसुकै भए पनि सम्मान पाएका थिए र उनीहरूले अहिले पनि कैयौं मातृसत्तात्मक आदिवासी समुदायहरूमा सम्मानित छन् ।

१८औं शताब्दीको मध्यतिर ‘जुडेउ क्रिश्चियन नैतिकता’ ले ‘वैज्ञानिक विकृति’ को अनुमति दियो, जसले समलैङ्गिकतालाई मानसिक रोगको सूचीमा राखेको थियो । यो परिणामको जडमा सम्भवतः यो पुरुष–पुरुष यौन सम्बन्ध पापपूर्ण छ, महिलाहरूलाई पुरुषको सहयोगी र मनोरञ्जनका लागि मात्र बनाइएको, संभोग विपरित लिंगी पुरुष र महिला विचमा मात्र (त्यो पनि पुरुष माथि महिला तलको स्थिति) भन्ने यो बाइवली मान्यता अनुसार सम्भव भएको हो ।

केही दशक अघिसम्म र ताजा स्मृतिमा संयुक्त राज्य अमेरिका र बेलायत जस्ता कथित रूपमा विकसित र आधुनिक देशहरूमा समेत समलिङ्गीहरूलाई मानसिक रोगीको सूचीमा राखिएको थियो । आधुनिक समाजका वैज्ञानिक समूहहरूले समेत यसमा जोडतोडका साथ काम गरेर पुरुष समलिङ्गी र महिला समलिङ्गी (गे र लेस्बियन) हरू आफूलाई नै मानसिक रोगी मान्न बाध्य बने । मानसिक विकार भएका व्यक्तिको रूपमा चित्रण गर्ने कार्य गरियो ।

समलिंगी मानिसहरू नै आफूलाई विपरित लिंगीमा परिवर्तन गर्नका लागि उपचारको बहानामा विद्युतीय झट्का थेरापी, लठ्याउने औषधिको ओभरडोज जस्ता क्रूर र अमानवीय व्यवहार गरियो । निःसन्देह त्यो विज्ञान थिएन । यो त बाइवलीय मान्यतामा जकडिएका पूर्वाग्रही, वैज्ञानिक र चिकित्सकहरूले सिर्जना गरेको भ्रम मात्रै थियो । यस्ता उपचारले कत्ति पनि काम गरेन ।

पछिल्लो शताब्दीको सुरुवाती ८० को दशकदेखि भने समलिङ्गी अधिकारकर्मीहरू त्यसप्रकारका अवैज्ञानिक दावा र छद्म विज्ञानहरूले निम्त्याउने नोक्सानीका विरुद्धमा लडे । फलस्वरुप समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाइयो ।

जस्तो प्रकारको पीडा र भेदभाव समलिंगीहरूले भोग्नु परेको थियो र यसको विरुद्धको उनीहरूको सफल अभियानले गर्दा समलिंगीहरूको अधिकार स्थापित हुने क्रममा छ । तर यही चक्र आज ती व्यक्तिहरूमाथि लादिएको छ, जसले आफूलाई महिला या पुरुष ठान्दैनन् ।

प्रभावशाली बहस र धारणाका लागि योगदान पुर्‍याउने संरचनाहरू पश्चिमी प्रभावबाट अझै पनि मुक्त हुनसकेका छैनन् । त्यस्ता संरचनाहरू अझै पनि पुरुष र महिलाको भन्दा भिन्न लैङ्गिक गुण, विशेषता भएका व्यक्तिहरूको लैङ्गिक अस्तित्व र पहिचानलाई मानसिक रोगकै रूपमा व्याख्या गर्नमै अल्झिरहेका छन्, जुन दुःखको कुरा हो ।

महिला पुरुष बाहेकका मध्यमलिंगी व्यक्तिहरूलाई मानसिक रोगीको रूपमा स्थापित गराउने कुरामा अचम्म मान्नुपर्ने कुरा छैन । किनकि यो पनि त्यही बाइवलीय दर्शनद्वारा निर्देशित छ । प्रायः धार्मिक रूपमा झुकाव भएका रुढिवादीहरू यो छद्म विज्ञानलाई प्रचारप्रसार र स्थापित गराउन विश्वभर लागिपरेका छन् ।

यस्तो खालको अन्धभक्ति आस्था बलियो र गहिरो छ । कैयौं शताब्दीदेखि नियोजित रूपमा काम गरेका, धार्मिक प्रचार–प्रसारमा लागेका मेसिनरीहरू जसको प्रभाव मानिसहरूको सोच्ने शक्तिमा समेत छ ।

उनीहरूको कामले गर्दा आज पनि फरक लैङ्गिक गुण र विशेषता भएका धेरै मानिस आफूमा नै लैंगिक विकृति (जेन्डर डिस्फोरिया) भएको मान्यता राख्दछन् । जेन्डर डिस्फोरिया भन्नाले आफ्नो शरीरका लैंगिक अंगहरूमाथि चरम असन्तुष्टि बुझिन्छ ।

उनीहरू आफूलाई महिला या पुरुष बनाउनका लागि लिंग प्रत्यारोपण (सेक्स रिअसाइन्मेन्ट सर्जरी), स्तन हटाउने वा स्तन प्रत्यारोपण, लिंग छेदन, हर्मोन थेरापी जस्ता अनावश्यक, महँगो र सम्भावित हानिकारक उपचार पछ्याइरहेका हुन्छन् ।

त्यस्ता बाइवलीय प्रोपोगान्डामा विश्वास गर्न लगाइएकाले उनीहरू आफू एक पुरुष या महिला नहुनुलाई सामाजिक समस्या र रोग सम्झन्छन् । अन्ततः उनीहरू आफू गलत शरीर लिएर जन्मेको ठान्दछन् ।

पूर्वीय दर्शन (खासगरी मातृसत्तात्मक समाज)मा सबैका लागि सम्मानित स्थान थियो र छ । जसले प्राकृतिक कुरालाई समस्याग्रस्त बताउनुको सट्टा समावेशी समर्थनका लागि उचित वातावरण सिर्जना गरेको छ । त्यसैले यसको शब्दावली पनि समावेशी छ ।

तेस्रोलिङ्गी (थर्ड जेन्डर) एउटा यस्तो शब्द हो, यसले महिला पुरुषको बाइनरी तोड्दै अस्तित्वमा रहेका बाँकी व्यक्तिहरूलाई पनि संलग्न र समावेश गराउँछ । यसले कसैको शारीरिक र मानसिक गुण र विशेषतालाई लिएर विरोध वा त्यसमाथि हस्तक्षेप नगरी, फरक हुनुलाई स्वीकार र सम्मानको भाव राख्ने समाजको परिकल्पना गर्दछ ।

यस विपरीत पश्चिमा दर्शन अनुसार महिला या पुरुषको अस्तित्व मात्रै स्वीकार भएकाले या पुरुष या त महिला मात्र बन्नुपर्ने अनिवार्यताका कारण जो महिला या पुरुष होइनन्, उनीहरूलाई रोगी घोषणा गरिदिएर चिकित्सकीय उपचारद्वारा भए पनि महिला या पुरुषमा नै रूपान्तरण हुन बाध्य बनाउँछ ।

त्यसकारण ट्रान्सजेन्डर (पारालिंगी) शब्दमा यो ट्रान्स भन्ने शब्दले रूपान्तरण भन्ने जनाउँछ, जसले आफू प्राकृतिक रूपमा जे छ त्योबाट परिवर्तित होऊ भन्छ । यस्तो विश्वासले मध्यमलिंगी व्यक्तिहरू जो आफूलाई महिला या पुरुषको रूपमा स्थापित भएको पाउँदैनन्, आफैंलाई नै समस्याग्रस्त या रोगी ठान्दछन् । यस्तो धारणाले गर्दा यस्ता व्यक्तिको आफ्नै मनभित्र जटिल द्वन्द्व चलेको हुन्छ ।

धार्मिक आस्थाका आधारमा कुनै तर्कको खोजी नै नगरी लैंगिक रूपान्तरण गर्ने (ट्रान्सजेन्डरिजम) ले ल्याउने जटिलताः

(१) लैंगिक रूपान्तरणवादले यस्तो गलत धारणलाई स्थापित गर्छ, जसमा उत्तम मानव हुनु भनेको पुरुष या महिला हुनु मात्रै हो । अन्यथा खराब मानव हो । यो गलत धारणाका कारण एउटा व्यक्ति पुरुष या महिला बन्नकै लागि जे पनि गर्न तयार हुन्छ । जस्तै लिंग प्रत्यारोपण, शल्यक्रिया ।

(२) यस्तो लैंगिक रूपान्तरणवादले लैंगिक विविधतालाई अवमूल्यन गर्छ । महिला र पुरुष मात्रै उच्चतम मानव हुन् भन्ने धारणालाई बल पुर्‍याउँछ । जसले गर्दा आफूलाई महिला या पुरुष नपाउने मध्यमलिंगी व्यक्तिहरूमा हीनभावलाई बढावा गर्छ । यसले घुमाउरो पाराले पितृसत्तात्मक मान्यतालाई बल पुर्‍याउँछ र विपरीत लिंगीवादलाई आदर्श ठान्दछ ।

(३) यस्तो प्रवृत्तिले आफ्नो प्रकृतिलाई परिवर्तन गर्ने गरी अनावश्यक चिकित्सकीय हस्तक्षेप गराउँछ । जसले शारीरिक, मानसिक लगायत स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यस्ता चिकित्सकीय हस्तक्षेप (उपचार) महँगो पनि छन् ।

पुलिंगी जनेन्द्रिय भएका व्यक्तिबाट महिला बन्नका लागि लिंग प्रत्यारोपण प्रक्रिया केही सजिलो र सस्तो छ, तर स्त्री जनेन्द्रिय भएका व्यक्तिबाट पुरुष बन्नका लागि लिङ्ग प्रत्यारोपण प्रक्रिया अत्यन्त जटिल र महँगो पर्दछ । जुन आफैंमा यसै समुदायभित्रका एक थरीका लागि अलिकति सजिलो भए पनि अर्काथरीका लागि भने अन्यायपूर्ण छ ।

निःसन्देह ट्रान्सजेन्डर (पारालिंगी) सँग सम्बन्धित धेरै व्यावहारिक समस्यामाथि विगतका केही दशकमा व्यापक र खुल्ला रूपमा चर्चा नभएका भने होइनन् । उदाहरणका लागि, हामी खेलकुदमा पारालिंगी (ट्रान्सजेन्डर) हरूको संलग्नताको मुद्दालाई लिन सक्छौं । अन्य महिलाहरूसँग प्रतिस्पर्धा गर्न अनुमति दिंदा पारालिङ्गी महिला (ट्रान्सवुमन) लाई अनुचित लाभ प्राप्त हुनसक्ने देखिन्छ ।

किनकि शारीरिक रूपमा औसतमा आम महिलाभन्दा उनीहरू बलिया हुन्छन् । तर पारालिंगी पुरुष (ट्रान्समेन) लाई अन्य पुरुषहरूसँग प्रतिस्पर्धा गर्न अनुमति दिंदा पारालिंगी पुरुषलाई भने अन्याय हुने गर्दछ । किनकि पारालिंगी पुरुष शारीरिक रूपमा औसत पुरुष भन्दा कम बल भएका हुन्छन् । यसकारण पारालिंगी महिलाको खेलकुदमा महिलासँग प्रतिस्पर्धात्मक सहभागितालाई लिएर महिला खेलाडीहरूले नै असन्तुष्टि र विरोध जनाउने गरेको पाइन्छ ।

महिला पुरुषको शरीर विज्ञान (फिजियोलोजी) फरक रहेकाले महिला खेलकुदलाई पुरुषको खेलकुदबाट छुट्टै राखिएको तथ्य हेर्ने हो भने, पुरुषको खेलकुदमा पारालिंगी पुरुष (ट्रान्समेन) वा महिला खेलकुदमा पारालिंगी महिला (ट्रान्सवुमन) लाई प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने तर्क गर्नुको कुनै अर्थ नै छैन ।

यस्तो गराउनुको पछाडि एउटै उपयुक्त व्याख्या भनेको, ‘जेन्डर बाइनरी (महिला या पुरुष मात्र) को रुढिवादी मान्यताले निर्धारण गरेको सीमा हो, जसमा हरेक व्यक्तिले दुई मापदण्ड (महिला या पुरुष) मध्ये एउटामा आफूलाई स्थापित गर्नुपर्ने हुन्छ । जसले गर्दा पुरुषहरूको ओलम्पिक खेल छुट्टै, महिलाहरूको छुट्टै भएता पनि मध्यमलिंगीहरूका लागि छुट्टै खालको खेलकुदको आयोजना ओलम्पिकले गर्दैन ।

दुईभन्दा बढी लिङ्गीहरूलाई धेरै पूर्वी, अफ्रीकी देश र अन्य स्थानीय/आदिवासी समाज, धर्म तथा संस्कृतिहरूले परापूर्वकालदेखि नै स्वीकार गर्दै आएका थिए र केहीले हालसम्म पनि स्वीकार गरिरहेका छन् । केही संस्कृतिमा पाँचदेखि सात लिङ्गले मान्यता पाएका र स्वीकारिएका पनि छन् ।

पर्वतीय हिमाली क्षेत्रमा प्रचलित तन्त्र परम्परा जो मातृसत्तामा आधारित समाज थिए, जसले सबै लिंगी व्यक्तिहरूलाई प्राकृतिक र उत्तम मानेका थिए । यी समाजहरूमा विविध लैंगिकता भएका व्यक्तिहरूको आ–आफ्नो महत्वपूर्ण भूमिका थियो र छ । कुनै पनि लैंगिकतालाई बिरामी, कमजोर या रोगग्रस्त मानिएको छैन, चाहे उनीहरू महिला या पुरुष भन्दा अलग्गै लैंगिक पहिचान भएका व्यक्तिहरू नै किन नहुन् ।

यसरी लैङ्गिक विविधतालाई शर्तरहित उत्सवको रूपमा मनाइने गरिएको छ । यदि कोही व्यक्ति जैविक रूपमा पुलिंगी जनेन्द्रिय लिएर जन्मिएको भएतापनि स्त्रीगुण, स्वभाव र प्रस्तुतिसँगै हुर्किन्छ भने त्यसलाई पनि सम्मानकै रूपमा स्वीकार गरिएको छ ।

यसैगरी, स्त्रीलिंगी जनेन्द्रिय लिएर जन्मिएको भएतापनि कुनै व्यक्ति पुरुषको गुण, स्वभाव र प्रस्तुति लिएर हुर्किरहेको छ भने त्यसलाई पनि सम्मान एवं उचित स्थान दिइएको छ । अन्तरलिङ्गी (इन्टरसेक्स्ड) व्यक्तिहरूलाई विशेष दैवीय शक्तिका रूपमा सम्मान गरिने परम्परा छ ।

त्यसैले हामी देख्छौं कि, पश्चिमा मुलुकको जस्तो मातृसत्तात्मक समाजमा कसैले आफ्नो अन्तरात्मा, आफ्नो प्रकृति, आफ्नो स्वभाव परिवर्तन गर्न आवश्यक थिएन र छैन । जो जे छ त्यो त्यही मात्र हुन्छ र उसको आफ्नै मूल्य छ भन्ने मान्यता अहिले पनि छ । कसैले पनि आफ्नो प्राकृतिक लैंगिक अवस्थालाई रोग मान्नुपर्ने अवस्था छैन । विना चिकित्सकीय हस्तक्षेप आफ्नो अन्तरनिहित मानवीय गरिमाको रक्षा र संरक्षण गरिएको छ ।

नेपाल सरकारले यस्तो नीति लागू गरेको छ, जसले आफू जन्मेको जैविक लिंगभन्दा फरक लैंगिक पहिचान अनुसारको नागरिकता लिनु परेमा चिकित्सकीय प्रमाणपत्र बुझाउनुपर्ने अनिवार्यता छ ।

नेपाल सरकारले नेपालकै पुरानो समावेशी, सबैलाई सम्मान गर्ने खालको रीतिरिवाज, चलन र मान्यतालाई आधार बनाएर मध्यमलिंगीहरूका लागि पनि सहज र सम्मानित प्रक्रियाबाट नागरिकता लिन पाउने नीति किन लागू नगरेको भन्ने बुझ्न सकिएको छैन ।

आफ्नो देशमा विद्यमान (स्थानीय) निकै सुन्दर, समावेशी र अधिकारप्रदत्त परम्पराहरूलाई बेवास्ता गर्दै नागरिकमाथि अत्याचार, उत्पीडित गर्ने खालको कानुनी ढाँचा/संरचना, जो आयातित नैतिकता, रीति–रिवाज र विचारबाट प्रभावित छन्, लागू गरेर रैथाने सांस्कृतिक पतनको बाटो अपनाउनु निकै दुर्भाग्यपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?