+
+

१० दिनमा सुनको भाउ तोलामा ९ हजार ३३ रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १९:५०

५ चैत, काठमाडौं । पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ३३ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

महासंघकाअनुसार २६ फागुन यताको १० दिनमा सुनको मूल्य एक लाख एक हजार रुपैयाँबाट बढेर एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यकाअनुसार सुनको मूल्य अझै बढ्न सक्ने देखिन्छ ।

अमेरिकाका दुईवटा बैंक आर्थिक संकटका कारण बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको थियो । माग बढेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालेको थियो ।

सम्भावित आर्थिक संकटमा बैंकको निक्षेप भन्दा सुनमा गरिने लगानी सुरक्षित हुने आर्थिक दृष्टिकोणका कारण लगानीकर्ता सुनमा आकर्षित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । ठूला बैंकबाट नगद निक्षेप झिक्ने र सुन खरिद गर्ने क्रम बढ्दा मूल्य बढेको अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय आर्थिक अनलाइन सञ्चार माध्याम ट्रेडिङ इकोनोमीकाअनुसार ९ मार्च सन् २०२३ यता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । त्यसयताको १० दिनमा मात्रै अन्तर्राष्ट्रिय बजारमा  सुनको मूल्य प्रतिऔंस १८ सय २९.१ डलरबाट १७५.२ डलर प्रतिऔंसले बढेर १९ सय ८८.१ डलर पुगेको छ ।

 

१० दिनमा यस्तो रह्यो सुनको मूल्य वृद्धि

२६ फागुन २०७९ मा छापावाल सुनको मूल्य एक लाख एक हजार ८ सय रुपैयाँ थियो । २८ फागुनमा सो मूल्य बढेर एक लाख ३ हजार ५ सय रुपैयाँ कायम भयो । यस्तै २९ फागुनमा सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ पुग्यो भने फागुन मसान्त अर्थात ३० फागुनमा सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ पुग्यो ।

एक चैतमा फगुन ३० कै मूल्य बराबर रहेको सुनको मूल्य २ चैतमा एक हजार रुपैयाँले बढेर एक लाख ६ हजार ७ सय रुपैयाँ पुग्यो । ३ चैतमा ४ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुग्यो । ५ चैतमा एकैदिन २ हजार ९३३ रुपैयाँले बढेर सुनको मूल्य एक लाख १० हजार ३३ रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?