+
+

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १२:४८

६ चैत, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए ।

माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उनले आरोप लगाए । हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको उनको आरोप छ ।

यो पटक पनि आफूहरुको प्रयासमा वामपन्थी सहितको सरकार बनाएको भन्दै ओलीले भने, ‘उहाँलाई सैह्य भएन । प्रधानमन्त्री हुनुभयो, भएको भोलिपल्टबाट इमान छोड्नुभयो, बेइमानी सुरु गर्नुभयो ।’ सम्माननीय प्रधानमन्त्रीको सन्दर्भमा यसो भन्नु ठीक नहुने भन्दै उनी आफैंले भने, ‘इमानमा रहन सक्नु भएन । दक्षिणपन्थी सरकार बनाउनुभयो । राष्ट्रिय हितलाई कमजोर बनाउनुभयो ।’

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न नसक्ने र विकास निर्माणले गति नलिने उनको दाबी छ । अहिले पनि कसैको बढुवा गर्नुपर्यो भने आफ्नो (केपी ओली) नजिक हुनुहुँदोरहेछ भनेर नातावाद, कृपावादको मानसिकता देखाउने गरेको उनको आरोप छ । प्रचण्डले राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई कमजोर पार्ने, अर्थतन्त्रलाई ध्वस्त बनाउने, जनतामा अनेकता ल्याउने काम गर्ने र वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाउने काम गरिरहेको ओलीको आरोप छ ।

उनले अघि भने, ‘प्रधानमन्त्रीमाथि विश्वास छ भन्ने गठबन्धनका स्वार्थीहरुले भोट देलान् । हामीलाई स्वार्थ पनि छैन, झुक्नु पनि छैन । हामीलाई उहाँप्रति विश्वास छैन ।’

हार जित जे भए पनि एमालेले विश्वासको मत दिन नसक्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘हालसालका उहाँका अविश्वसनीय कदम, षडयन्त्र र चालबाली हेरेर पनि विश्वास छैन । त्यसकारण विश्वासको मत दिन सक्दैनौं ।’

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।

तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?