
६ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले सदर चिडियाखानामा रहेको पाटेबाघलाई एक वर्षको लागि खाना खुवाउने भएको छ ।
चिडियाखानाका अनुसार एउटा वयस्क बाघको दैनिक खान्की ६ किलो मासु हो । मासुसहित अन्य भिटामिन पनि बाघका लागि आवश्यक पर्छ । त्यसका लागि मासिक एक लाख रुपैयाँ खर्च हुने चिडियाखानाका कर्मचारीहरु बताउँछन् ।
ललितपुर महानगर र सदर चिडियाखानाबीच पाटेबाघको आहार व्यवस्थापन सम्बन्धमा आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको महानगरपालिकाले जनाएको छ । समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र सदर चिडियाखानाका कार्यालय प्रमुख रचना शाहले हस्ताक्षर गरेका हुन् ।
पाटेबाघको आहार व्यवस्थापनका लागि महानगर प्रमुख चिरीबाबुले १५ लाखको चेक हस्तान्तरण गरेका थिए । महानगरले चिडियाखानामा रहेको रोयल बङ्गाल टाइगर ‘महाराजा’ नामको पाटे बाघको आहारा व्यवस्थापनका लागि उपलब्ध गराएको हो ।
महाराजा बाघको लागि उक्त रकम एक वर्षको आहाराको लागि उपलब्ध गराएको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । ‘देशको एक मात्रै चिडियाखाना हाम्रो महानगरमा हुनु खुशीको कुरा हो, जनावर संरक्षणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ नगरप्रमुख महर्जनले भने ।
कोभिडको समयमा चिडियाखानाले भोग्नु परेको चरम आर्थिक अभावलाई सम्बोधन गरेको पनि उनले बताए । त्यतिबेला महानगरले जनावर भोकै नपरुन् भनेर १० लाख सहयोग गरेको थियो ।
सदर चिडियाखानाका कार्यालय प्रमुख रचना शाहले महानगरले कोभिडको बेलामा सहयोग गरेपछि अन्य संघसंस्थाबाट पनि थुप्रै सहयोग प्राप्त भएको बताइन् ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया 4