
६ चैत, काठमाडौं । विकेटकिपर मुस्फिकर रहिमले ओडीआई क्रिकेटमा बंगलादेशका लागि सबैभन्दा छिटो शतक प्रहार गरेका छन् ।
आयरल्याण्ड विरुद्धको दोस्रो ओडीआई खेलमा मुस्फिकरले ६० बलमै शतक बनाएपछि बंगलादेशले आफ्नो ओडीआई क्रिकेट इतिहासकै सबैभन्दा ठूलो स्कोर बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर ३४९ रन बनाएको हो । ओडीआईमा बंगलादेशको यसअघिको ठूलो स्कोर पहिलो खेलमा आयरल्याण्ड विरुद्ध नै ३३८ रन थियो ।
मुस्फिकरले ६० बलमा १४ चौका र २ छक्का प्रहार गर्दै नटआउट १०० रन बनाए । उनले इनिङ्सको अन्तिम बलमा एक रन जोड्दै शतक पूरा गरेका थिए ।
अन्तिम ओभरको पहिलो बलमा यासिर अली आउट भएपछि तक्सिन अहमदले दोस्रो बलमा १ रन लिएर मुस्फिकरलाई स्ट्राइक दिए । त्यसपछि उनले तेस्रो बलमा दुई रन लिए भने चौथो बलमा चौका प्रहार गरे । पाँचौ बलमा पनि दुई रन दिएका उनले अन्तिम बलमा एक रन जोडे ।
यसअघि शकिब अल हशनले २००९ मा जिम्बावे विरुद्ध ६३ बलमा शतक हानेका थिए । बंगलादेशका लागि नाजमुल हवसेन सान्तोले ७७ बलमा ७७ तथा लिटोन दासले ७१ बलमा ७० रन बनाए । यस्तै टोवहिद ह्रिदोयले ४९ रन बनाए । आयरल्याण्डका ग्राहम हुमले ३ विकेट लिए । मार्क एडेर र कर्टिस काम्परले समान १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4