+
+

प्रविधिले यसरी बदल्दैछ युद्धको परिभाषा र प्रभुत्व

प्राविधिक प्रभुत्वले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । सैन्य मात्रै होइन प्राविधिक विकासले अर्थतन्त्रमा पनि उत्तिकै टेवा पुर्‍याउँछ । यसको उदाहरण चीनलाई लिन सकिन्छ ।

फरेन अफेयर्स फरेन अफेयर्स
२०७९ चैत ७ गते ८:५८
रुसी सेनातर्फ ड्रोन उडाउँदै युक्रेनका सैनिक । फाइल फोटो

सन् २०२२ को फ्रेबुअरीमा रूसी सेना युक्रेनतर्फ लम्कँदै गर्दा धेरैले युक्रेनले यो युद्ध धान्न सक्छ भन्नेमा संशय व्यक्त गरेका थिए । संशयको कारण भनेको युक्रेनको भन्दा रूसी सेना दोब्बर हुनु र  रक्षा बजेट पनि १० गुणा ठूलो रहनु हो ।

अमेरिकी जासुसी संयन्त्रहरूले युक्रेनको राजधानी किएभले यो युद्ध मुस्किलले दुई हप्ता धान्न सक्ने आकलन गरेका थिए । तर अहिलेसम्म रुसले युक्रेनलाई हराउन सकेको छैन । किनभने हतियार र सैन्य दस्ता कम भए पनि युक्रेन प्रविधिमा बलियो थियो । भीमकाय दुस्मनसँग लड्नका लागि उसले प्रविधिलाई नै गतिलो हतियार बनायो ।

रूसले हमला थालेलगत्तै युक्रेनको सरकारले आफ्ना महत्वपूर्ण डेटाहरू क्लाउडमा अपलोड गर्‍यो । आफ्ना मन्त्रालयहरूमा रूसी क्षेप्यास्त्रले क्षति पुर्‍याए पनि त्यहाँका विवरण सुरक्षित होस् भन्ने ध्येय युक्रेन सरकारको थियो । युद्ध हुनु दुई वर्ष अघिमात्रै राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘प्रविधि रुपान्तरण मन्त्रालय’ स्थापना गरेका थिए । त्यसले ‘दिया’ भन्ने एप्लिकेशन बनाएको थियो ।

नागरिकलाई दुश्मनविरुद्ध जासुसीका लागि पनि प्रयोग गर्न सकियोस् भन्ने एपको उद्देश्य थियो । आफ्ना  इलाका वरपर कुनै पनि असाधारण खालका गतिविधि देखिएमा नागरिकले फोटो खिचेर त्यसमा अपलोड गर्थे । यान्त्रिक बौद्धिकतामा आधारित त्यस एपले सैन्य संयन्त्रलाई सुचित गर्थ्यो ।

रूसको हमलापछि युक्रेनमा सञ्चारका लागि समस्या उत्पन्न भएको थियो । तर स्टारलिंक सेटलाइटको सहायतामा उनीहरू सञ्चारमा बस्न पाए । युक्रेनको सीमामा रूसले इरानमा निर्मित ड्रोन पठाउँदा युक्रेनले पनि ड्रोन आक्रमणलाई निश्तेज पार्न आफ्नो ड्रोन परिचालित गरेको थियो । आविष्कारको मामिलामा युक्रेन पनि सक्षम नै साबित भयो ।

युद्ध सुरू गर्दा युक्रेनलाई छिट्टै घुँडा टेकाउन सकिन्छ भन्ने रूसी मनोविज्ञानले हावा खायो । युक्रेनको आन्तरिक आविष्कार, रूसी सेनाका कमजोरी र पश्चिमाहरूको सहयोगका कारण यो युद्ध युक्रेनलाई मात्रै होइन रूसलाई पनि उत्तिकै भारी भइसकेको छ ।

अन्डरग्राउन्ड स्टेशनभित्र बसेर ड्रोनलाई नियाल्दै युक्रेनका सैनिक । फोटो : एपी ।

रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय राजनीतिमा अग्रणी रहन र शक्तिशाली भइराख्न अब आविष्कार पनि जरूरी रहेको सन्देश दिएको छ । नयाँ प्रविधि आविष्कार गर्ने, ग्रहण गर्ने र त्यसमा अनुकुलन हुनु नै आविष्कार शक्ति हो ।

उच्च प्रविधियुक्त हतियारले सैन्य शक्ति बढाउँछ। प्रविधिका नवीनतम आविष्कार र तिनीहरूलाई सञ्चालन गर्ने मापदण्डले आर्थिक लाभ प्रदान गर्दछ । अत्याधुनिक प्रविधि र अनुसन्धानले विश्वकै ध्यान सम्बन्धित मुलुकतर्फ आकृष्ट हुन्छ ।

शक्तिको आकलनका लागि आविष्कारलाई पनि समावेश गरिने पुरानै परम्परा हो । यान्त्रिक बौद्धिकताको विकासले वैज्ञानिक खोजका नयाँ क्षेत्रहरूलाई सहयोग मात्रै होइन त्यस प्रक्रियालाई गति पनि दिने गर्छ । यो प्रविधिको विकासले वैज्ञानिकहरूलाई अत्याधुनिक आविष्कारमा मद्दत गर्दछ ।

अब जसले गतिलो आविष्कार द्रुत रूपमा गर्दछ, ऊ नै सैन्य आर्थिक र अन्य पाटोमा शक्तिशाली हुनेछ । हाल अमेरिका र चीनबीच यसैमा प्रतिस्पर्धा भइरहेछ । अहिलेसम्मको स्थितिमा अमेरिका नै चीनभन्दा अघि छ । यद्यपि अमेरिकालाई उछिन्नका लागि चीनले उच्च प्रविधिको आविष्कारमा गति दिइरहेछ ।

यो शताब्दीको शक्ति भनेकै प्रविधि हो । परम्परागत व्यापार वा शक्तिको अवधारणाले अब काम गर्नेवाला छैन । अमेरिकाले अब सैन्य क्षेत्रमा मात्रै होइन प्रविधिको क्षेत्रमा पनि लगानी दोब्बर बनाउनुपर्नेछ । नवीनतम आविष्कार लागि वातावरण बनाउनुपर्नेछ । अन्यथा यो प्रतिस्पर्धामा चीनले उछिन्न कत्ति पनि समय लाग्दैन ।

यान्त्रिक बौद्धिकताको शक्ति

यान्त्रिक बौद्धिकता(एआई) ले सैन्य क्षेत्रमा धेरै सघाउ पुर्‍याएको छ । यसले आफ्नो इलाकामा दुश्मनका गतिविधिबारे सैन्य जनशक्तिलाई सावधान बनाउन सहयोग गरिरहेको छ । उदाहरणका लागि युक्रेनको सेनाले रूसी गतिविधिमा निगरानी राख्नका लागि एआईकै प्रयोग गरेको छ । एआईले मानवलाई निर्णय लिनका लागि प्रेरित गर्छ । त्यसैले सैन्य कमाण्डरहरूले एआईले दिएको सूचनालाई आधार मानेर कार्यमा उत्रिनुअघि तीन चरण पार गर्नुपर्ने बताउँछन् । पहिलो, अवलोकन । दोस्रो, अनुसन्धान र तेस्रो आक्रमण । यसलाई सैन्य भाषणमा ‘ओडा लुप’ भनिन्छ ।


महत्वपूर्ण कुरा के छ भने एआईले नै ओडा प्रक्रियालाई मानवभन्दा छिटो पालना गर्छ । मानव पूर्णरूपमा एआईको विश्लेषणमा भर परेर मात्रै हुँदैन । त्यसमा मात्रै भरपर्दा कहिलेकाहिँ गलत निर्णयमा पनि पुग्न सकिन्छ । यद्यपि मानवले आफ्नो संगतिलाई कम्युटरसँग मिलाउनुपर्ने हुन्छ । यो सबैभन्दा ठूलो चुनौती हो ।

विगतमा भूराजनीतिलाई धातु र ऊर्जाका स्रोतहरूले आकार दिन्थे । अहिले त्यसको स्थान प्रविधिले ओगटेको छ । अब प्रविधिमा  निरन्तर नवीनतम आविष्कार गर्ने राज्यले नै बढीभन्दा बढी शक्ति आर्जन गर्छ ।

सन् २०२० मा अजरबैजानले अर्मेनियाको सामनाका लागि इजरायल र टर्कीसमा बनेको ड्रोनको उपयोग गरेको थियो । यी ड्रोनहरू एआईमै आधारित थिए । ती ड्रोनले अजरबइजानको विजयमा सहयोग पुर्‍याए । यता, युक्रेनले पनि ड्रोन परिचालन गर्दा उसलाई रूसको सामनाका लागि धेरै सहयोग पुगेको थियो । परम्परागत हतियारहरूभन्दा ड्रोन सानो र छरितो मात्रै होइन परिचालनका लागि सहज र सस्तो पनि छ । ड्रोनको विकासले सैन्य शक्तिलाई पनि बलियो बनाइरहेको छ ।

प्राविधिक प्रभुत्वले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । सैन्य मात्रै होइन प्राविधिक विकासले अर्थतन्त्रमा पनि उत्तिकै टेवा पुर्‍याउँछ । यसको उदाहरण चीनलाई लिन सकिन्छ । अफ्रिकाका धेरै राष्ट्रहरूले चीनको  प्रविधि सामग्री आयात गर्छन् ।

आविष्कारको दौड

आविष्कारको दौडमा अब्बल हुनका लागि धेरै अनुसन्धानको आवश्यकता पर्छ । अमेरिकाले फोरजी प्रविधिमा अग्रता कायम गरिरहेको छ । फोरजी प्रविधिको विकासकै कारण त्यहाँ उबर चल्यो । उबरप्रति प्राप्त पृष्ठपोनका कारणले अन्य मुलुकमा यो प्रविधि विकासका लागि दबाब बढ्यो । जति नयाँ प्रविधि त्यति नै बढी प्रतिस्पर्धी हुन्छन् । अमेरिकाले फोरजीमा फड्को मारेपछि चीनले पनि यसलाई तीव्रता दियो ।

विदेशी प्रविधिबाट जासुसी हुने भन्दै चीनले आफ्नै प्रविधिको विकासमा ध्यान दिइरहेको छ । सन् २०१५ मा चिनियाँ कम्युनिस्ट पार्टीले मेड इन चाइना रणनीति तय गर्‍यो । सन् २०२५ सम्म  प्रविधिमा पूर्णरूपमा आत्मनिर्भर हुने उसको लक्ष्य छ ।  एआईमा पनि अग्रणी हुने उसको लक्ष्य छ । त्यसका लागि चीनले तीव्र रूपमा काम गरिरहेको छ ।

प्रविधिमा सर्वोच्चता कायमका लागि बेइजिङले अर्बौं डलर खर्च गरिरहेको छ । केही प्रविधिमा चीन अमेरिका भन्दा अघि छ भने केहीमा पछि छ । एआईमा आधारित निगरानी र जासुसी प्रविधिमा पहिलो बन्ने चीनको लक्ष्य छ । प्राविधिक उत्पादनमा आवश्यक सेमीकन्डक्टरमा पकड बनाउने चिनियाँ रणनीति छ । यसका लागि चीनले सात वर्षीय योजना बनाएको छ । त्यसबेलासम्म पाँच न्यानोमिटरको सेमीकन्डक्टरमा पकड बनाउने उसको रणनीति छ ।

नयाँ प्रणालीका प्रतिद्वन्द्वी मुलुक

नयाँ प्रणालीका लागि चीन र अमेरिका प्रतिद्वन्दी मुलुक हुन् । चीनले सैन्य आविष्कार आफ्नै भूमिमा गराउनका लागि घरेलु प्रतिस्पर्धा नै गराउँछ । उत्कृष्टलाई राष्ट्रिय सम्मान नै गर्छ । यसले एकातिर आविष्कारमा बल पुर्‍याइरहेको छ भने अर्कातिर चीनको राष्ट्रिय सुरक्षालाई अत्याधुनिक बनाइरहेको छ । चीनको संघीय सरकारले विज्ञानमा लगानी बढाइरहेको छ । तर सबैभन्दा बढी रक्षा क्षेत्रको आविष्कारमा उसले खर्च गर्छ ।

स्वतन्त्रता र व्यक्तिगत प्रयासका सवालमा बहस हुँदै जाला तर अब भूराजनीतिमा अब्बल हुनका लागि एउटै सहारा प्रविधिको छ । ‘आविष्कार गर वा मर’ अबको भूराजनीति सिलिकन भ्यालीको यो पुरानो भनाइ वरिपरी घुम्नेछ ।

लामो समयदेखि अमेरिकन आविष्कारको सारथी सरकार उद्योग र एकेडेमियाको त्रिकोणात्मक समन्वयमा केन्द्रित थियो । यो समन्वयले चन्द्रमासम्मको यात्रादेखि इन्टरनेटलाई संभव तुल्यायो । शीत युद्धको अन्त्यसँगै अमेरिकन सरकारले मौलिक अनुसन्धानका लागि रकम घटायो । तर यसका लागि निजी लगानी भने बढ्दै गयो । निजी क्षेत्रकै चासो र लगानीका कारण प्रविधिको क्षेत्रमा अमेरिका अब्बल हुँदै गयो र आफ्ना उत्पादनको बजारीकरणबाट राम्रै आम्दानी गर्न पनि सफल भयो ।

आविष्कारमा लगानी निकै जोखिमको काम हो । यसमा धैर्यताको पनि खाँचो पर्छ । प्रविधिको क्षेत्रमा अल्पकालीन लगानीले काम गर्दैन । अमेरिकामा सिलिकन भ्यालीले मात्रै प्रविधिको नयाँ आविष्कारमा लगानी र प्रोत्साहन गरिरहेको छ । स्टार्टअपमैत्री वातावरण बनाइरहेको छ । उदारवादी नीतिका कारण लगानीकर्ताहरू त्यहाँ झुम्मिरहेका छन् । चीनसँगको प्रतिस्पर्धामा अग्रताका लागि अमेरिकाले अझै तीव्रता दिनुपर्छ । शीत युद्धपछि अमेरिकाले राष्ट्रिय सुरक्षा परिषद् गठन गरेजस्तै प्रविधिका लागि पनि केही सोच्न आवश्यक छ । अमेरिकी संसदले चिप्स तथा विज्ञान ऐनमा आधारित अनुसन्धानका लागि २ सय अर्ब लगानी पारित गरिसकेको छ ।

भविष्यका लागि लगानी

आविष्कारमा पनि सुपरपावर बन्नका लागि अमेरिकाले अझै लगानी बढाउनुपर्ने हुन्छ । सेमीकन्डक्टरमा चीनको लक्ष्यलाई अमेरिकाले पनि पछ्याउन जरुरी भइसकेको छ । नवीकरणीय ऊर्जा र विद्युतीय सामग्रीका लागि आवश्यक लिथियम र सेमीकन्डक्टरको भण्डारणमा अमेरिकाले जोड दिनुपर्ने देखिन्छ ।

फाइभजीमा चीनले तीव्र रूपमा काम गर्दा अमेरिका यसमा सुस्त छ । फाइभजी विकासका लागि पेन्टागनले निजी क्षेत्रसँग समन्वय गर्नुपर्ने स्थिति छ । अमेरिकाले अनुसन्धान र बजारीकरणमा मात्रै नभएर अर्थपूर्ण आविष्कारका लागि लगानी बढाउनैपर्छ ।

उदाहरणका अनुसन्धानका लागि खर्च गर्दा सरकारी स्वामित्व समेत भएको जेनरल मोटर्सले सन् १९९६ मै विद्युतीय सवारीसाधन तयार गरेको थियो । तर व्यावसायिक उत्पादनमा २ दशकपछि टेस्लाले फड्को मार्यो । उसले एआईमा आधारित गाडी तयार गर्‍यो । आविष्कारका लागि आवश्यक मूल तत्वमा पनि अमेरिकाले लगानी बढाउनुपर्नेछ ।

विजयको लागि प्रविधि

भूराजनीतिक प्रतिद्वन्द्वी चीन र अमेरिका मध्ये कसले आफूलाई शक्तिशाली बनाउँछ भन्ने कुरा अब प्राविधिक आविष्कारले निर्धारण गर्नेछ । अबको पाँच वर्षदेखि एक दशकसम्म जसले प्रविधिमा अग्रता लिन्छ उसैले भूराजनीति पनि अग्रता लिन्छ । अल्पकालीन लगानीको नीतिले अमेरिकालाई प्रविधिमा पछि पार्नसक्छ ।

यदि आविष्कार नै आवश्यकताको जननी हो भने प्रतिस्पर्धा आविष्कारको सुसारे हो । अर्थात् जति धेरै प्रतिस्पर्धा उति नै धेरै उन्नत आविष्कार ।

दोस्रो विश्वयुद्धपछि अमेरिकाले आणविक प्रविधि र कम्युटरको क्षेत्रमा धेरै फड्को मारेको थियो । प्रविधिको आविष्कारमा भइरहेको युद्धस्तरको प्रतिस्पर्धामा सर्वोच्चता कायमका लागि पनि उसले लगानी गर्नुपर्नेछ । अन्यथा हापरसोनिक क्षेप्यास्त्रले अमेरिकालाई रक्षाहीन बनाउनसक्छ भने सम्भावित साइबर हमलाले महत्वपूर्ण क्षेत्रलाई अपांग बनाउन सक्छ ।

भविष्यको युद्ध नयाँ तरिकामा लक्षित हुनेछ । कुनै पनि उन्नत प्रविधि विकास गर्ने मुलुकले अर्को मुलुकको व्यक्तिगत डेटामा पहुँच राख्न सक्ने संभावना हुनेछ । उनीहरूले डीएनएको पहिचान गरी जैविक आक्रमण पनि गर्न सक्नेछन् । यस्ता सम्भावनाहरूलाई निस्तेज पार्ने प्रविधि अबका लागि अपरिहार्य छ ।

स्वतन्त्रता र व्यक्तिगत प्रयासका सवालमा बहस हुँदै जाला तर अब भूराजनीतिमा अब्बल हुनका लागि एउटै सहारा प्रविधिको छ । ‘आविष्कार गर वा मर’ अबको भूराजनीति सिलिकन भ्यालीको यो पुरानो भनाइ वरिपरी घुम्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?