 
																			७ चैत, काठमाडौं। चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।
पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ । नेता पुनले संसदका झण्डै दुई तिहाइ सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए ।
दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षा अनुसार सुशासन, विकास र रोगजारी श्रृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए ।
‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन’, पुनको सचिवाललयले उपलब्ध गराएको विवरण अनुसार पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन्।’
देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेण्डा लिएर जनतामा गएका दलहरु एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुसी व्यक्त गरे । उनले प्रमुख दुई नेता गठबन्धनका दलहरु मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे।
‘हामी सँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ’, पुनले देउवालाई भने, ‘यसलाई सफला पार्न दुई नेता र पार्टीले देश र जनातको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो कसिलो बनाएर अगिाडि जानुपर्यो।’
जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आफूहरुले आश्वस्त तुल्याउने बताए। ‘ढुक्कले यो गठबन्धन पाँच वर्ष जान्छ । तपाईंहरु नआत्तिनुस् । हामी दुई नेताबीच आपसमा विश्वासको वातावरण बनाउँछौं’, देउवाले भने । प्रचण्ड र देउवा दुवैले पुनको स्वास्थ्यलाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4