+
+

गरम सांसद गैरेको नरम व्यवहार

चर्को भाषण, तिखा वाणी र तार्किक शैलीका कारण राजनीतिमा छुट्टै पहिचान स्थापित गर्न सफल ठाकुर गैरे संसदीय राजनीतिमा अभ्यस्त हुन खोजिरहेको बताउँछन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ चैत ८ गते ८:०२

८ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरे बौद्धिक नेताका रुपमा चिनिन्छन् । सांसद हुनुभन्दा पहिले तर्कपूर्ण रुपमा आफ्ना अभिव्यक्ति राख्ने र राज्य सत्तालाई प्रश्न गर्दा चर्को रुपमा प्रस्तुत हुने उनको स्वभाव थियो ।

पछिल्लो उदाहरण – १३ कातिक २०७९ मा उनले तत्कालीन पाँच दलीय गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा) ले चुनाव जितेको खण्डमा नेपालको स्थानीय तहसम्म अमेरिकी सेना हतियारसहित कम्ब्याक्ट ड्रेसमा आएर बस्ने बताएका थिए ।

‘नेपालका सम्पूर्ण नगरपालिका र गाउँपालिकामा अमेरिकी सेना हतियारसहित कम्ब्याट ड्रेसमा आएर इच्छा गरेको समयअवधि भित्र बस्न पाउने गरी सम्झौता गर्न तयार भएको गठबन्धनले जित्यो भने नेपालको अवस्था के होला ?’ आफैँलाई भोट माग्ने क्रममा उनले जनताका सामू राखेको प्रश्न हो ।

यस प्रश्नको जवाफका लागि आफूले चुनाव जित्नुपर्ने उनको जिकिर थियो । ‘गठबन्धनले जित्यो भने हाम्रो राष्ट्रियता र लोकतन्त्र के होला ? अमेरिका र रुसको द्वन्द्वको सिकार युक्रेन भयो । त्यसैगरी अमेरिका र चीनको द्वन्द्वको सिकार नेपाल बनाउन भइरहेको प्रपञ्च हुन नदिन यो ठाकुर गैरे प्रतिनिधि सभामा जाने हो लडाइँका लागि…।’

राष्ट्रियताका निम्ति लड्न जान्छु भनेपछि पाल्पा २ का जनताले जिताएर पठाए । उनलाई जिताउनुका पछाडि उनको पछिल्लो समयका अभिव्यक्ति मात्रै कारण थिएनन् । उनी राष्ट्रियताको विषयमा विद्यार्थी जीवनदेखि नै खरो रुपमा प्रस्तुत हुने चर्का नेता हुन ।

एमाले निकट अनेरास्ववियुको अध्यक्ष हुँदा ‘सुस्ता बचाउँ’ अभियानको नेतृत्व गरेका थिए । काठमाडौंबाट नवलपरासीसम्म ‘सुस्ता बचाउँ’ अभियानमा निस्कनुअघि १४ पुस २०६४ मा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता गैरेले भनेका थिए, ‘नेपालका ६२ ठाउँमा भारतले गरेको सीमा अतिक्रमणबाट नेपाल मुक्त हुनुपर्दछ । नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राज्यको रुपमा स्थापित हुनुपर्दछ ।’

सीमा क्षेत्रमा मात्रै नभएर भारतले नेपालको राजनीतिमा समेत निरन्तर हस्तक्षेप गरेको उनको त्यसबेलाकै अभिव्यक्ति हो । अहिले पनि उनी राष्ट्रियताको सवालमा सुरुवातदेखिकै बुझाइमा प्रष्ट छन् । त्यस अनुसार संसदीय गतिविधिमा पोख्त हुने उनको प्रयास छ ।

उनकै शब्दमा उनी ‘संसदीय विधि र प्रक्रिया सिकिरहेका छन् । ‘संसद र संसदीय गतिविधिमा विषय केन्दि्रत हुने समय र अनुकुल परिस्थिति बनेको छैन’ उनी भन्छन्, ‘हिजो सडकमा रहँदा वा जनताको र पार्टीको कार्यकर्ताको रुपमा जे विषयहरु उठाउने गरेको थिएँ । ती विषयहरु सदनमा ल्याउँछु । त्यसका लागि अनुकूल समयको प्रतिक्षामा छु ।’

प्राथमिकतामा शिक्षा र स्वास्थ्य

नयाँ प्रतिनिधिसभामा सरकारले तीन वटा विधेयक ल्याएको छ । राष्ट्रिय सभाबाट खाद्य सुरक्षा सम्बन्धी विधेयक पारित भएर प्रतिनिधिसभामा आएको छ । त्यसमध्ये खाद्य सुरक्षासम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक’ माथि संशोधन हाल्ने समय सकिएर प्रक्रियामा अगाडि बढेको छ । दुवै विधेयकमा सांसद गैरेको संशोधन परेको संसदीय रेकर्डमा छैन ।

तथापि, प्रतिनिधिसभाको बैठकमा खाद्य सुरक्षासम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा भने उनले भाग लिएका थिए । फागुन ३ गते भएको उक्त छलफल र सोही दिन विशेष समय गरेर एकै दिन दुई पटक संसदमा गैरेले आफ्ना कुरा राखे ।

विधेयकको सैद्धान्तिक छलफलमा धारणा राखने क्रममा उनले ‘आफू धनी हुने नाममा अर्को मानिसको जीवनमाथि खेलवाड गर्ने प्रवृति समाजमा रहेको’ भन्दै कानुन बनाउँदा ख्याल गरिनुपर्नेमा जोड दिएका थिए ।

उत्पादन गर्ने स्थान र उपभोग गर्ने तहसम्म सरकारको तर्फबाट नियमित रुपले अनुगमन, मुल्याङ्कन र कारबाही प्रक्रियालाई अझ दह्रोसित लागू गर्नुपवर्ने आवश्यकता औंल्याएका गैरेले त्यसअनुसार संशोधन प्रस्ताव दर्ता गरेको भने रेकर्ड छैन ।

सोही दिन विशेष समयमा ८ मिनेट बोलेका गैरेले धेरै विषय उठाएका थिए । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता, सरकारी अस्पतालहरुमा डाक्टरको अभावको विषय उठाएका उनले सरकारलाई पहाडका लिफ्टिङ खानेपानी आयोजनाको विद्युत महसुल तिरिदिन सुझाए ।

बुटवल-तानसेन सडकको अवस्था, सिद्धबाबा सडक खण्डको सुरुङमार्ग निर्माणको विषय पनि उठाए । २०४६ सालदेखि सुरु भएका पाल्पाका चार सडकको निर्माण नसकिएको भन्दै दुखः व्यक्त गरे । कालीगण्डकी कोरिडोर र वन्यजन्तुले किसानलाई दुख दिएको विषय विषय पनि छुटाएनन् ।

अर्थात, स्वास्थ्य, शिक्षा, पर्यटन जस्ता विषय उठाएर उनले जनजीविकाको सवालमा चासो देखाए । तर, विषय केन्द्रित भएर बोल्दा मात्रै त्यसका सबै पाटा पक्षबारे संसदमा बिबेचना हुने र त्यसले मात्रै ठोस रुपमा आकार ग्रहण गरेर नीति निर्माणमा सहयोग पुर्‍याउन सक्छ भन्ने हेक्का राखेनन् । उठाउनका लागि अनेक विषय उठाउने तर समाधानको दीर्घकालिन बाटो पहिचान नगर्ने माननीयहरुका पुरानै प्रवृत्तिलाई उनले पनि पच्छ्याए ।

स्थापित हुने अवसर

राजनीतिमा ३५ वर्षदेखि सक्रिय रहेको बताउने गैरेले बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिन सफल भए । झलनाथ खनाल र केपी ओली दुवैको प्यानलमा नपरेपछि प्यानल बाहिरबाटै चुनाव लडेर उनी एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको नवौं महाधिवेशनबाट पनि केन्द्रीय कमिटी सदस्य चुनिएका गैरे २०७८ मंसिरमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा दोस्रो धेरै लोकपि्रय मतका साथ फेरि पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पार्टीमा गैरे पोलिटब्यूरो सदस्य हुन् ।

तर सांसद हुनकै लागि भने उनले लामो समय संघर्ष गर्नुपर्‍यो । प्रतिनिधिसभामा पाल्पा २ बाट प्रत्यक्ष टिकटका दाबेदार गैरेको नाम ०७० र ०७४ दुवै चुनावमा अन्तिम समयमा काटिएको थियो । अर्का नेता सोमप्रसाद पाण्डेले निरन्तर टिकट पाउँदै आएकोमा ०७८ मा नेकपा एमाले विभाजन भएपछि परिस्थिति फेरियो ।

एमालेबाट निरन्तर पाँच पटक टिकट पाएका सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेपछि गत चुनावमा गैरेले टिकट पाए । टिकट पाएको पहिलो पटक नै चुनाव जितेर उनले संसदीय यात्रा तय गरेका छन् ।

एमालेभित्र पटकपटक अवसरबाट बन्चित हुनुको कारण आफ्नो विद्रोही स्वभाव भएको ठान्ने गैरेलाई अब स्थापित हुने अवसर छ । ठाकुर गैरे कांग्रेस महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री सँगसँगै विद्यार्थी राजनीतिमा उदाएका नेता हुन् ।

थापा तीन पटक सांसद, मन्त्री हुँदै पार्टीको शक्तिशाली महामन्त्रीमा पदमा पुगिसके । ठाकुरपछि अनेरास्ववियुको अध्यक्ष भएकी झाँक्री एक पटक सांसद भइन् । एमाले विभाजनपछि शहरी विकास मन्त्री भइन् ।

२०२५ जेठ जेठ ६ गते उत्तरी पाल्पाको बराङ्दीमा जन्मिएका गैरे २०४४ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएको बताउँछन् । उनी त्रिभुवन विश्वविद्यालयमा आएपछि २०५१ मा स्ववियु सचिवमा निर्वाचित भएका थिए । त्यसपछि अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष, केद्रीय सदस्य, केन्द्रीय कमिटीको सचिवालय सदस्य, सचिव, महासचिव हुँदै २०६३ मा केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।

विद्यार्थीलाई गाडी भाडामा सहुलियत दिलाउने नीति ल्याउन आफूले नै प्रमुख रुपमा भूमिका खेलेको गैरे बताउँछन् । आफ्नै नेतृत्वमा तत्कालीन सात ठूला दल निकट विद्यार्थी संगठनले गरेको आन्दोलनले संस्थागत विद्यालयमा समान शुल्कको व्यवस्था गरेको पनि उनी बताउँछन् । ‘विद्यार्थी राजनीतिमा हुँदा नै निःशुल्क शिक्षाका लागि अभियान चलाएँ, वाल्मीकि क्याम्पस काठमाडौंमा महिला तथा दलित जनजातिहरुले पनि पढ्न पाउने व्यवस्था ल्याउन भूमिका खेलेँ,’ उनी भन्छन् ।

आफ्नो विगत नभुल्ने र प्राप्त अवसरको सदुपयोग गर्ने उनको प्रतिवद्धता छ । नेता गैरे अनलाइनखबरसित भन्छन्, ‘विद्यार्थीको नेता भइरहँदा जस्तो ठाकुर गैरेको परिचय बनेको छ, सांसद हुँदा पनि त्यो परिवर्तन हुने छैन ।’

नेपालको सीमा रक्षाका लागि पहिलोपटक काठमाडौंदेखि कालापानीसम्म मार्चको नेतृत्व पनि गैरेले गरेका थिए । सुस्ता नेपालको हो भन्दै सुस्ता बचाउ आन्दोलन, तिलाठी नेपाल, महेशपुर बचाउ अभियान पनि चलाएका थिए ।

तीन दशकभन्दा लामो विद्यार्थी र पार्टी राजनीतिको अनवरत यात्रामा रहेका गैरे चुनावपछिको पहिलो संसद अधिवेशन अपेक्षित भूमिका देखाउन नसकेको स्विकार गर्छन् ।

चुनावपछिको पहिलो अधिवेशनको प्रमुख दायित्व प्रधानमन्त्री, सभामुख, उपसभामुख चयन गर्नुपर्ने भएकाले त्यसैमा धेरै समय बितेको उनको भनाइ छ । ‘संसदीय समितिहरु गठन भएपछि गतिविधि थप बढ्छन् । विधेयकहरु आउँछन् र दफावार छलफल हुन्छ । त्यसले संसद र सांसदहरुलाई थप सकि्रय बनाउँछ’ सांसद गैरेको विश्वास छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?