 
																						८ चैत, पोखरा । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचना गोरखा–२ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड भन्थे, ‘प्रधानमन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउनेवाला छ ।’
५ दलीय गठबन्धन छोडेर एमालेलगायतको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा मुख्यमन्त्री बन्न ढुक्क भएका गोरखा–२ (२) का कांग्रेस नेता सुरेन्द्रराज पाण्डे प्रतिपक्षमा पुगे ।
राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन माओवादी पुरानै गठबन्धनमा फर्किएपछि कांग्रेसका सुरेन्द्र गण्डकीको मुख्यमन्त्री बन्नेमा ढुक्क भए । निर्वाचनपछि मंगलबार गोरखाको एक कार्यक्रममा प्रचण्ड र सुरेन्द्र एउटै मञ्चमा थिए ।
गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास गर्दै प्रचण्डले ‘प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने’ बताए ।
अघिल्लो सरकारकै पालादेखि नै मुख्यमन्त्रीको दाबी गर्दै आइरहेको माओवादीले यसपटक पनि मुख्यमन्त्रीको दाबी गरिरहँदा एकातिर कांग्रेसलाई झस्काएको छ भने अर्कोतिर प्रदेश सरकार पुनर्गठनमा कांग्रेसलाई माओवादीकै निर्णयको पर्खाइ छ ।
मुख्यमन्त्रीको दाबी गरेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानकै नेतृत्वमा २ मन्त्रालय लिएर एमालेका खगराज अधिकारीको सरकारमा सहभागी छ । केन्द्रमा सत्ता समीकरण फेरिएर सोमबार दोस्रो पटक प्रधानमन्त्री दाहाल विश्वासको मत लिएर बसेपछि प्रदेश सरकार पनि फेरिने पक्का छ । तर, जति छिटो माओवादीले निर्णय गर्छ, उति छिटो प्रदेश सरकार पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने छ ।
‘गोरखामा मंगलबार प्रचण्डसँग एउटै कार्यक्रममा थिएँ । अहिले पनि म काठमाडौंमा सरकारबारे शीर्ष नेताहरुसँग छलफल भइरहेको छ । प्रदेश सरकार पुनर्गठन हुने पक्का छ,’ मुख्यमन्त्री बन्ने योजनामा रहेका सुरेन्द्रले भने, ‘तर, माओवादीले जति छिटो समर्थन फिर्ता लिन्छ, यति नै छिटो सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ने हो ।’
कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेले माओवादीले समर्थन फिर्ता लिएसँगै प्रक्रिया अगाडि बढ्ने बताए । गण्डकीमा एमालेका खगराज नेतृत्वमा माओवादी र राप्रपासहितको सरकार छ । राप्रपाले केन्द्र र अरु केही प्रदेशमा समर्थन फिर्ता लिए पनि गण्डकीमा प्रदेशमा फिर्ता लिएको छैन ।
माओवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको विश्वास गुमाएर खगराज नेतृत्वको एमाले सरकार ढलेसँगै बल्ल अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।
मुख्यमन्त्रीको दाबी गरिरहेका माओवादी नेता हरिबहादुर चुमान अहिलेको सरकार परिवर्तन भएपछि नेतृत्वमा आफूहरुको दाबी रहने बताउँछन् ।
‘उपधारा २ बमोजिम बनेको सरकारले विश्वास गुमाएसँगै फेरि २ वा २ भन्दा बढी दल मिलेर माओवादी नेतृत्वमा सरकार बन्ने सम्भावना रहन्छ,’ चुमानले भने, ‘त्यसैले माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहेको हो ।’ चुमानले नयाँ सरकार गठन प्रक्रियाका लागि अरु प्रदेशको पनि घटनाक्रम हेरेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डको निर्देशनअनुसार अगाडि बढ्ने बताए ।
कांग्रेसका नेताहरु भने माओवादीले दाबी गरे पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन् । ‘माओवादीले दाबी गर्न पाउने कुरा नै भइहाल्यो तर अब गण्डकीमा बन्ने भनेको कांग्रेस नेतृत्वकै सरकार हो,’ नेता पाण्डेले भने, ‘१÷२ दिनभित्रै अबको प्रक्रियाको टुंगो लाग्छ ।’
अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि ठूलो दलको तर्फबाट मुख्यमन्त्री नियुक्त भएर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसारै अगाडि बढ्ने कांग्रेस नेताहरुको दाबी छ । गण्डकीमा कांग्रेस नेतृत्वमै अबको सरकार बन्ने र आलोपालो प्रणाली लागु भए माओवादीले पछिल्लो कार्यकाल पाउने कांग्रेस नेतृत्वको दाबी छ ।
२७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ ।
६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ । बागमतिमा माओवादीका शालिकराम जमकट्टेललाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरेसँगै अन्य प्रदेशको पनि प्रक्रिया अगाडि बढ्ने भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका माओवादी नेता चुमानले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4