+
+

कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादीको आनाकानी

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत ९ गते ९:०२
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री हिक्मत कार्कीसँग । तस्वीर : फाइल ।

९ चैत, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी नेताहरुले बताएका छन् ।

एमालेका कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए ।

गठबन्धनभित्र सत्ता समीकरणको मोडालिटी तयार गरेपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा छलफल हुने उनले बताए । ‘प्रदेश सरकारका विषयमा माथि (केन्द्रमा) छलफल भएको छैन,’ उनले भने, ‘हाम्रो प्रदेशको अवस्था विशिष्ट छ, अहिले नै समर्थन फिर्ता लिनेबारे सोचेका छैनौं ।’

९३ सदस्यीय प्रदेशसभामा दुवै पक्षसँग स्पष्ट बहुमत छैन । नेकपा एमाले र राप्रपा एक ठाउँमा छन् । दुई दलको सिट संख्या ४६ छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा रहेको चार दलीय गठबन्धनमा पनि सिट संख्या ४६ (सभामुख बाहेक) नै छ ।

माओवादी केन्द्रका नेता आङ्बोले केन्द्रबाट पनि सरकारका बारेमा निर्देशन नआएको बताए । नेतृत्वले भाग भागबण्डा गर्दा प्रदेशको अवस्थालाई बुझेर गर्नुपर्ने उनको भनाइ छ ।

सत्ता गठबन्धनमा कोशी प्रदेशको नेतृत्वका लागि चार सिट रहेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि दाबी गरेको छ । गठबन्धनबीच भागबन्डा हुँदा कोशी प्रदेश नेकपा एकीकृत समाजवादीले पाउने सम्भावना छ ।

माओवादी केन्द्रका नेताहरु पार्टीको फाइदा हेरेर अघि बढ्ने बताउँछन् । ‘अहिले हामीले दुई वटा मन्त्रालय पाएका छौं, पार्टीले फेरि एउटा पाउँछ, सरकारमा सम्मानजनक सहभागिता छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘समर्थन फिर्ता लिनका लागि नयाँ बन्ने गठबन्धनको भागबण्डा मिल्नुपर्छ, पार्टीको सम्मानजनक सहभागिता हुनुपर्छ ।’ प्रदेशमा एमाले र माओवादी केन्द्र मिलेर नयाँ अभ्यास पनि गर्न सकिने माओवादी नेताहरु बताउँछन् ।

माओवादी केन्द्रले सरकार छाड्न आनाकानी गरिरहेका बेला नेपाली कांग्रेस दलका नेता उद्धव थापा भने प्रदेश मध्यावधि चुनावमा जाने खतरा रहेको बताउँछन् । दुवै तर्फ बराबर (सभामुख बाहेक) मत रहेको बताउँदै उनले मध्यावधी निर्वाचनको जोखिम रहेको बताए । ‘मध्यावधिको जोखिम रोक्न दलहरु मिलेर जानुको विकल्प छैन,’ उनले भने ।

थापाले केही दिन अघि सत्तारुढ गठबन्धनका शीर्ष नेतालाई भेटेर मिलेर जाने वातावरण बनाउन आग्रह गरेका थिए ।

 

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?