+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कलाकार र प्राविधिकले पारिश्रमिक बढाएपछि निर्माता संघले दियो फिल्म छायांकन रोक्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १४:०१

काठमाडौं । फिल्म कलाकार, नृत्यकार, प्राविधिक र उपकरण व्यवसायीले पारिश्रमिक बढाउने निर्णय गरेपछि चलचित्र निर्माता संघ आक्रोशित बनेको छ । अध्यक्ष नवल खड्काले सहमतिमा पारिश्रमिक नतोकिए फिल्म निर्माणदेखि छायांकन रोक्नेसम्मको चेतावनी दिएका छन् ।

चलचित्र नृत्य संघसहित केही संघसंस्थाले पारिश्रमिक दर बढाएको पत्र पठाएपछि निर्माता संघ क्रुद्ध बनेको हो । केही दिनअघिको कार्यसमिति बैठकमा आफूहरुको सहमति बिना पारिश्रमिक बढाएको बारेमा कुरा उठेपछि निर्माता संघले ती संस्थासँग छलफल चलाउने निर्णय गरेको छ ।

‘निर्मातालाई आर्थिक भार पर्ने अस्वाभाविक बजार भाउ हामीलाई स्वीकार्य हुँदैन । हामीलाई पत्र पठाउने साथीहरुसँग वार्ता गर्छौं । मान्नुभएन भने तेलुगू फिल्म उद्योगको शैलीमा फिल्म छायांकन र निर्माण नै बन्द गर्नुपर्ने हुन्छ,’ अध्यक्ष खड्काले भने ।

कलाकार, प्राविधिक र नृत्यकारले आफूखुसी मूल्य तोक्ने कुरालाई लिएर निर्माता संघ गम्भीर बनेको खड्काले बताए । निर्माता संघका सदस्य तथा ‘महापुरुष’ फिल्मका निर्माता रविन्द्रसिंह बानियाँले पनि कम्तीमा नेपाली फिल्मको बजारअनुसार सहमतिमै मूल्य निर्धारण हुनुपर्ने बताए । ‘तीनवटा फिल्मको व्यापारलाई हेरेर मूल्य बढाउन पाइँदैन । पारिश्रमिक ५० लाख लिने तर ६ लाख रुपैयाँको कमाइ दिन नसक्ने कलाकारको पक्ष पनि हेर्नुपर्छ । फिल्मको बजार बढेन तर बजार भाउ बढाउनु राम्रो होइन,’ बानियाँले भने ।

‘भाउ बढाउने व्यक्ति र संस्थालाई वार्तामा बोलाउने हाम्रो तयारी हो । नमाने सुटिङ नै स्थगित गर्नुपर्ने परिस्थिति आउन सक्छ,’ महापुरुष निर्माताले भने, ‘तेलुगू शैलीको आन्दोलनमा जानुपर्ने परिस्थिति बन्दैछ ।’ गत अगस्ट १ देखि केही महिनासम्म मूल्यवृद्धिको कारण फिल्म निर्माण गर्न कठिन अवस्था आएको र उद्योगको पुनर्संरचना गर्नुपर्ने भन्दै तेलुगू निर्माता संघको आह्वानमा फिल्म निर्माण कार्य रोकिएको थियो । तर तेलुगू फिल्मका कलाकार र अन्य संघसंस्थाको सहमतिपछि छायांकन कार्य सुचारु भएको थियो ।

यस वर्षको हिट फिल्म ‘दुई नम्बरी’ फेम्ड निर्माता तथा अभिनेता किरण नेपालीले पनि फेसबुकमार्फत आफूखुसी पारिश्रमिक वृद्धि गर्ने कलाकारलाई कटाक्ष गर्दै लेखेका छन्, ‘हिरो ५० लाख, गीत एउटा नृत्यसहित २० लाख, अन्य प्राविधिकहरुको भाउ पनि दिन प्रतिदिन बढेको बढ्यै, चलचित्र चल्ने वर्षमा तीनवटा । निर्माता फिल्म रिलिजपछि खाडीमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?