+
+

क्रिकेटर आसिफ शेखलाई पनि मधेश सरकारले दुई लाख रुपैयाँ दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १४:४४

१० चैत, जनकपुरधाम । मधेश प्रदेश सरकारले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने नेपाली क्रिकेट टिमका सदस्य आसिफ शेखलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

यसअघि प्रदेश सरकारले गुल्सन झा र आरिफ शेखलाई पनि जनही दुई/दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।

बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शीर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

पर्सा जिल्लाको वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेल भावना देखाउँदै रनआउट नगरेपछि आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो ।

सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुँदा पनि उनले रनआउट गरेनन् । त्यसैले आईसीसीले आसिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो ।

सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टसले समेत ‘ब्रिलिएन्ट स्पोर्टस्म्यानसिप फ्रम नेपाल’ भनेर आसिफको प्रशंसा गरेको थियो ।

हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएई विरुद्ध आसिफले उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि अघिल्ला खेलहरुमा उल्लेखनीय प्रदर्शन गरेका थिए ।

विशेष गरी उदाहरणीय खेल भावनाको परिचय दिदै विश्वभरिका क्रिकेटप्रेमीहरुको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?