 
																						११ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा सहमति नजिक पुगेको छ । सबभन्दा पेचिलो बनेको अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो भइसकेको छैन ।
नेताहरुका अनुसार नेपाली कांग्रेसले ७ वटा र माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ५ वटा मन्त्रालय लिने लगभग सहमति छ । एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई २/२ र अरुलाई १/१ मन्त्रालयमा सहमत गराउने प्रयास भइरहेको बालुवाटार निकट स्रोतले बताएको छ ।
माओवादी केन्द्रसँग हाल भौतिक पूर्वाधार तथा यातायात, सूचना प्रविधि तथा सञ्चार, नागरिक उड्ययन तथा पर्यटन र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय छ । एक नेताकाअनुसार भागवण्डा मिलाउने क्रममा माओवादीले हाल लिएको केही मन्त्रालय हेरफेर हुनसक्छ । तर संख्या एक थपिने छ ।
त्यो मन्त्रालय गृह कि अर्थ भन्ने टुंगिएको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय आफ्नो दलले लिएर कांग्रेसलाई अर्थ दिन चाहेका छन् । तर कांग्रेसबाट सरकारमा पार्टीको नेतृत्व गरेर आउन चाहेका उपसभापति पूर्णबहादुर खड्काको दाबी गृह मन्त्रालयमा छ ।
तर कांग्रेस र माओवादीमध्ये कसले गृह र कसले अर्थ मन्त्रालय लिने भन्ने टुंगिएको छैन । दुई मन्त्रालयमा माओवादीका नारायणकाजी श्रेष्ठ र कांग्रेसका पूर्णबहादुर खड्काको सम्भावना बलियो रहेको नेताहरु बताउँछन् । सुरुमा गृहमा दाबी गर्दै आएका कांग्रेस उपसभापति खड्काले अर्थ मन्त्रालयमा जान पनि सकारात्मक रहेको भन्दै एक नेता भन्छन्, ‘कोही विज्ञ अर्थमन्त्री नआएको अवस्थामा नारायणकाजी र पूर्णबहादुरमध्ये एक गृह र अर्का अर्थमा आउने सम्भावना छ ।’
माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ११ पुसमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका थिए । उनको दाबी त्यसबेला नै गृहमा थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृह दिनु परेपछि उनी भौतिक पूर्वाधारमन्त्री बनेका थिए । १३ माघमा रविको सांसद पद खारेज भएपछि गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले राखेका छन् ।
माओवादी केन्द्रले अर्थ मन्त्रालय पाउने अवस्थामा भने श्रेष्ठको मन्त्रालय हेरफेर हुने सम्भावना छ । माओवादीमा यसअघि अर्थ मन्त्रालय सम्हालेका नेतामा वर्षमान पुन र जनार्दन शर्मा हुन् । दुबै अहिले मन्त्री बन्न इच्छा देखाएका छैनन् । त्यसैले त्यस अवस्थामा श्रेष्ठले नै अर्थ मन्त्रालय सम्हाल्ने एक नेताले बताए ।
यस्तै कांग्रेसबाट उपसभापति खड्काले नै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने लगभग पक्काजस्तै भएको छ । पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि पार्टीको नेतृत्व गरेर सरकारमा जान चाहन्थे । तर प्रधानमन्त्री प्रचण्डसँग नियमित संवादमा रहेका उपसभापति खड्काको नाम लगभग टुंगिएसरह भएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
पूर्वगृहमन्त्री समेत रहेका खड्काको पनि पहिलो रोजाइ माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठको जस्तै गृह नै हो । तर पछिल्लो दिनमा दुबै अर्थ मन्त्रालयको जिम्मेवारी लिन सकारात्मक देखिएका स्रोतको दाबी छ ।
देउवाको रुचि महत !
शनिबार देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा कांग्रेस पदाधिकारीहरुले अर्थ मन्त्रालय पार्टीले लिनुपर्नेमा जोड दिएका छन् । काम गरेर जनतामा आश जगाउने मन्त्रालय अर्थ भएकाले यो मन्त्रालय कांग्रेसले लिनुपर्नेमा नेताहरुको जोड रहेको एक पदाधिकारीले बताए ।

तर अर्थमन्त्री छनोटका सन्दर्भमा भने गम्भीरताका साथ सोच्नुपर्ने नेताहरुले बताएका छन् । ‘सरकारमा जाने जो पठाएपनि डेलिभरी गर्नसक्ने व्यक्ति जानुपर्छ, अर्थ मन्त्रीको सन्दर्भमा अझ गम्भीरताका साथ सोच्नुपर्छ’, एक पदाधिकारीले भने, ‘यस्तो अर्थमन्त्री छनोट गरौं, जसको नाम सुन्दा शेयर बजार उकालो लागोस् ।’
बैठकमा सभापति शेरबहादुर देउवाले व्यक्तिको नामबारे केही बोलेका छैनन्, तर अर्थमन्त्रीमा उनको झुकाव प्रवक्ता डा. प्रकाशशरण महततिर रहेको नेताहरु बताउँछन् । डा. महतले पनि अर्थमन्त्रालयमा दाबी गर्दै आएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4