 
																			न्यूज लाउण्ड्री अनलाइनका प्रमुख कार्यकारी अधिकृत अविनन्दन सेखरीले सन् २०२० मा भएको दिल्ली दंगा कभर गरेका दुई संवाददातालाई तलबी बिदा बस्न सुझाए ।
उनले दुवैलाई केही दिन खबर चक्रबाट पूर्णरुपमा विश्राम दिन चाहेका थिए । किनकि, दुवैको मानसिक स्वास्थ्य अवस्थाबारे उनी चिन्तित थिए । उनले ती दुई पत्रकारलाई बिदा बस्न मात्र भनेनन्, समाचारका स्रोत र सामाजिक सञ्जालबाट पनि टाढा रहन भनेका थिए ।
कारण – सेखरीले आफ्ना संवाददातामा ट्रमाको संकेत देखिरहेका थिए । हिंसात्मक घटना भएका स्थानमा लामो समयसम्म रिपोर्टिङमा खटिंदाको असर उनीहरुमा देखिएको थियो । भारतमा सेखरी मात्र यस्ता समाचार प्रमुख होइनन्, जसले आफ्ना संवाददातामा ट्रमा र मानसिक स्वास्थ्य समस्याको संकेत देखेका छन् ।
न्यूज लाउन्ड्री जस्तै अरु मिडिया हाउसहरुले पनि अहिले पत्रकारको मानसिक स्वास्थ्य सरोकारलाई गम्भीरतापूर्वक लिन थालेका छन् र हिंसात्मक क्षेत्रको रिपोर्टिङमा गएको केही समयपछि आराम गर्न समय दिन थालेका छन् ।
‘दुई जना मेरो संवाददाताले केही महिना नियमित रुपमा दिल्ली दंग कभर गरेका थिए’, सेखरी सम्झन्छन्, ‘उनीहरुले कुनै मानसिक समस्याबारे त बताएनन् तर, केही पात्रका कथा र छलफल कति डरलाग्दो थियो भन्ने बताइरहन्थे ।’ त्यसबाहेक विभिन्न समस्या देखिन थालेपछि उनीहरुलाई तलब नकाटिने गरी एक हप्ता विदामा बस्न भनेको उनी बताउँछन् ।
पत्रकारहरुको म्यानेजरका रुपमा आफ्नो लागि यो निकै चिन्ताको विषय भएको सेखरीको भनाइ छ ।
‘सन् २०२० मा भएको दिल्ली दंगाबाहेक अन्य दंगाग्रस्त क्षेत्रमा लामो समय रिपोर्टिङका लागि हाम्रा संवाददाताहरु गएका थिएनन्’, उनी भन्छन्, ‘मलाई पनि मानसिक स्वास्थ्यबारे जानकारी दिन राम्रो ज्ञान छैन । तर, हामी सचेत छौं कि अत्यन्त विभत्स अवस्थालाई नजिकबाट हेरेका हाम्रा संवाददाताहरुमा स्वभाविक रुपमा मानसिक तनाव र ट्रमा हुनसक्छ ।’
आफू मानसिक स्वास्थ्यबारे जानकार व्यक्ति नभएपनि समाचारको दैनिक चक्र र सामाजिक सञ्जालबाट मात्र भएपनि केही समय टाढा रहन सके धेरै हदसम्म समस्या कम हुने उनी बताउँछन् । ‘नयाँ पुस्ताका केहीले नियमित रुपमै थेरापिस्टको परामर्श समेत लिने गरेका छन्, तर मेरो पुस्ताका लागि यो नसुनिएको विषय हो’, सेखरी थप्छन् ।
मनोपरामर्शदाताहरुका अनुसार द्वन्द्वग्रस्त क्षेत्रमा रिपोर्टिङमा जाँदा पत्रकारले विभिन्न खाले जोखिमको सामना गर्नुपर्छ । तर, यस्तो परिस्थितिमा पत्रकार पनि पीडित हुनसक्छन् भनेर कहिल्यै सोचिँदैन ।
वर्ल्ड एसोसिएशन अफ न्यूज पब्लिसर्शसँग कुरा गर्दै तुलसा विश्वविद्यालयकी मनोपरामर्शदाता एलना न्यूनम्यानले भनेकी छन्, ‘पत्रकार टेबलमा आउने अन्तिम व्यक्ति हुन् । उनीहरुलाई कथाको पात्र नबन्न तालिम दिइएको हुन्छ । तर, अरुका कथा ल्याउने काममा मात्र सीमित हुँदा पत्रकार पनि यसको असरमा परेका हुनसक्छन् भन्ने कसैलाई आभास नै हुँदैन ।’
‘दैनिक डरलाग्दो सपना देखेँ’
यो कथा भरत नायकको हो । उनी तथ्यजाँच गर्ने वेवसाइट द लोजिकल इण्डियनका सम्पादक हुन् । नायक सधैं सोच्थे कि उनी मानसिक रुपमा बलिया छन् ।
उनको काम फेक समाचार, गाली गलौज गरिएका अभद्र भाषण र मिथ्या सूचनाको चिरफार गर्नुहुन्थ्यो । यस्तोमा उनले धेरै जसो विभत्स र तनावपूर्ण खाल्का सामग्री हेर्नु र पढ्नुपर्थ्यो । नियमित जसो त्यस्ता विषयहरु उधिन्दै गर्दा उनको मानसिक स्वास्थ्यमा विस्तारै असर गरिरहेको थियो ।
‘म प्रायः आफूलाई थोकेको महसुस गर्थे, एकदमै विरक्ति त्यतिबेला लाग्यो, जतिबेला मैले ९ वर्षीया किशोरीको अपहरण, बलात्कार र हत्याबारे रिपोर्टिङ गरें’, उनी भन्छन्, ‘यो समाचारका फलोअपहरु झण्डै एक महिनासम्म आइरहे, हामीले त्यसमा विस्तृत रिपोर्टिङ पस्कियौं ।’
जब यो घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भयो, उनले समाचार लेख्नका लागि अध्ययन गरे । ‘त्यो मेरो लागि एकदमै तनाव दिने विषय थियो, मैले त्यसदिनदेखि डर लाग्दो सपनाहरु देख्न थाले’, नायक भन्छन्, ‘तर, मलाई थाहा छैन, मैले आफूलाई सामान्य राख्न के गर्न सक्थे ।’
कोरोना भाइरस महामारीका बेला उनका समस्याहरु अझ बढे, जतिबेला झुठा र भ्रामक समाचारहरुको प्रकोप नै थियो ।
‘एउटा निश्चित समुदाय कसरी भाइरस फैलाउन संलग्न छ भन्दै विभत्स किसिमका तस्वीरहरु फैलिएका थिए, त्यतिबेला मैले पहिलो पटक मनोपरामर्शदाता भेटेँ’, उनी भन्छन्, ‘बल्ल मैले पोष्ट ट्रमाटिक डिसअर्डर (पीटीएसडी) बारे थाहा पाएँ । अनि, मलाई अनुभव भयो कि एक तथ्यजाँच गर्ने व्यक्तिका रुपमा मैले जे जे सामग्रीको जाँच गरिरहेको थिएँ, त्यसले विभिन्न खाले समस्याहरु देखिाइरहेका थिए ।’
पत्रकारका रुपमा मैले चाल्न सक्ने आधारभूत कदमहरुबारे मैले पाएको जानकारीले मलाई भावनात्मक रुपमा पनि बलियो बनाएको थियो । यसले मलाई निरन्तर डिप्रेसनको साइकलमा नपर्न सहयोग गरेको थियो ।
भरतका अनुसार उनले सन् २०२० देखि निरन्तर थेरापी लिइरहेका छन् । किनकि, उनका लागि विकल्प तथ्यजाँचको काम नै छाड्नु होइन । अहिले उनले विस्तारै आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्न सक्ने कला सिक्दै गएका छन् ।
कश्मिरमा प्रशासनको यातना
भारतको द्वन्द्वग्रस्त क्षेत्रमा अहिले स्वतन्त्र पत्रकारहरुको संख्या बढिरहेको छ । सँगै उनीहरुले विभिन्न खाले समस्याहरु पनि भोग्नु परिरहेको छ । न्यूजरुमको सहयोग नहुँदा त्यससँग जुध्न झनै कठिन छ ।
धेरैले आफैंले व्यवस्था गरेर मानसिक स्वास्थ्य सहायता लिइरहेका छन् । कतिपय स्वतन्त्र पत्रकारले प्रशासनबाट दुव्र्यवहार पनि खेप्नु परिरहेको छ ।
समा, जसले आफ्नो वास्तविक परिचयन दिन चाहन्नन्, उनी भारतको कश्मिरमा बस्छिन् । समाले अहिले आफ्नो मानसिक अवस्थाबारे अरुलाई बताउन छाडेकी छन् । तर, त्यसले उनलाई झन् कमजोर बनाइरहेको छ ।

उनले सन् २०१७ देखि पत्रकारका रुपमा काम गरिरहेकी छन् । सुरुमा उनले स्थानीय म्यागजिनका लागि संवाददाता भएर काम गरिन् । सन् २०१९ मा उनी पूर्णकालीन स्वतन्त्र पत्रकार भइन् । विश्वकै सबैभन्दा बढी सैन्यकृत क्षेत्रमध्येको एक दक्षिण कश्मिर निवासी समाले आफ्नो पत्रकारिकता यात्रामा हिंसा र मानवअधिकार उल्लंघनको एकदमै जटिल घटनाहरुबारे रिपोर्टिङ गरेकी छन् ।
‘अहिले मैले एकदमै धेरै पटक पेनिक एट्याक महसुस गरेको छु, ती सबै विषयबारे विस्तृतमा बताउन पनि म असमर्थ छु’, उनी भन्छिन्, ‘कुनै कुनै बेला त यति गाह्रो हुन्छ कि पत्रकारिता पेशा नै छाड्ने विचार पनि मनमा आउँछ ।’
उनका अनुसार कश्मिरमा पत्रकारिता गर्नु एकदमै कठिन कार्य हो । अधिकांश पत्रकार कुनै न कुनै बेला दुर्व्यवहारको शिकार भएकै हुन्छ । ‘त्यसमध्ये म पनि एक हुँ, जसले यो पेशामा आबद्ध भएकै कारण मानसिक स्वास्थ्यसम्बन्धी समस्या झेलिरहेको छु’, समा थप्छिन् ।
‘म लेखक बन्न चाहन्थे, अरुको कथा भन्न चाहन्थे । त्यसैले पत्रकार बनेको थिएँ । म त्यस्तो केही गर्न चाहन्थे, जसले म कश्मिरका आवाजविहीनहरुको आवाज बन्न सकुँ, त्यसैले यो पेशा राजेको थिएँ ।’
उनको पत्रकारिकता यात्राको कठिनाइ त्यसबेला उत्कर्षमा पुग्यो, जतिबेला उनलाई प्रदेश प्रहरीले बोलाएर केरकार गर्यो । ‘सन् २०२१ मा मलाई स्थानीय विभिन्न फोर्स र अनुसन्धान निकायहरुले फोन गरेर कामबारे सोधपुछ गरे’, उनी भन्छिन्, ‘कश्मिरका अधिकांश पत्रकारले यो अवस्थासँग जुध्नुपर्छ ।’
उनका अनुसार सबै घटनापछि राम्ररी काम गर्न समेत नसक्ने अवस्था कश्मिरमा सिर्जना भएको छ । ‘अझ अध्यारो पाटो त कश्मिरमा बसेर अहिले मानवअधिकार उल्लंघन वा कश्मिरी प्रशासनलाई प्रश्न गर्ने गरी कुनै समाचार लेख्न सम्भव छैन’, उनी भन्छिन्, ‘लेखिसक्दा जटिलता आउँछ, यो विन्दुमा म एकदमै थाकेको छु ।’
‘मेरो विचारमा पत्रकार, अझ बढी द्वन्द्वग्रस्त क्षेत्रमा खटिएका पत्रकारले मानसिक स्वास्थ्यबारे सहायता लिनुपर्छ । तर म जस्तो स्वतन्त्र पत्रकारका लागि यो असम्भव जस्तो लाग्छ, किनकि, एक्लै खटिएर काम गर्नुपर्छ र खर्चबारे पनि सोच्नुपर्छ ।’
‘महिनौंसम्म दुर्व्यवहार भोगें’
कश्मिरमा आधारित भएर विभिन्न अन्तर्राष्ट्रिय मिडियाका लागि काम गर्ने अर्का पत्रकारले बताएअनुसार कश्मिरको अवस्थाबारे समाचार प्रकाशन गरेपछि प्रदेशका सुरक्षा निकायले बोलाएर सोधपुछ गरेका थिए ।
सन् २०२२ नोभेम्बरमा समाचार प्रकाशन भएलगत्तै सोधपुछका लागि बोलाएर उनलाई स्रोतहरुबारे सोधिएको थियो ।
‘मलाई स्रोतहरुबारे सोधिएको थियो, त्यो मैले कुनै पनि हालतमा बताउने कुरै थिएन । समाचार छापिएको दुई महिनासम्म मलाई अनुसन्धान अधिकृतहरुले दर्जनभन्दा बढी पटक बेलाएका थिए’, उनी भन्छन्, ‘मेरो फोन पनि त्यसपछि सर्भिलेन्समा राखिएको मलाई शंका छ । एक जना अधिकृतले त मलाई ‘नो फ्लाइ लिस्ट’मा राखिदिन्छु भन्दै धम्की समेत दिएका थिए ।’
यो क्रम महिनौंसम्म चलिरह्यो । उनले केही ट्वीट गर्दापनि सम्बन्धित निकायका व्यक्तिले त्यसलाई हटाउन दबाब दिने गर्थे । आफ्नो आफन्तको कोठासम्म पनि प्रहरी विना कारण पुगेको उनको अनुभव छ ।
उनीहरुले आफ्नो फोनको महत्वपूर्ण सूचनाहरु डिलिट गर्ने मात्र नभइ, फोनै जफत गर्नेसम्मको प्रयास समेत गरेको उनको भनाइ छ । ‘यो सबै मलाई अर्को वैकिल्पक पेशा रोज्न दबाब स्वरुप गरिएको थियो’, उनी भन्छन् ।
यो सबै कुराले उनको काम गर्ने क्षमतामाथि नै ह्रास ल्याइदिएको उनी बताउँछन् । यद्यपि, उनी रिपोर्टिङलाई निरन्तरता दिन र कथाहरु खोज्न संघर्ष गरिरहेका छन् ।
‘म काम गर्न चाहन्छु, सरकारको कुनै पनि दबाबको अगाडि झुक्दिन तर, विगतमा मैले जस्तो कुराको सामना गरेको छु, त्यसबारे सोच्ने वित्तिकै मेरो काममा असर परिहाल्छ’, उनी भन्छन्, ‘मैले मानसिक स्वास्थ्यबारे टेलिफोनबाट केही सेसनहरु पनि लिएँ तर, त्यो खर्चिलो थियो । स्वतन्त्र पत्रकार हुनुको नाताले पनि मेरो लागि आर्थिकरुपमा त्यो सम्भव हुने कुरा थिएन ।’
वरिष्ठ मनोपरामर्शदाता साजिया वकार सिद्दिकीको भनाइमा द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने पत्रकारहरुले आफ्नो व्यवसायिक जीवन घरसम्म लैजानु हुँदैन । उनीहरुले धेरै जसो समय साथीभाइ र परिवारसँग विताउनुपर्छ, त्यसले मानसिक तनाव कम गर्न मद्दत पुग्छ । ‘अझ यस्तो क्षेत्रमा काम गर्ने सबै पत्रकारले नियमित मानसिक स्वास्थ्य जाँच पनि गराउनुपर्छ’, सिद्दिकी भन्छिन् ।
तर, धेरै पत्रकारले आफ्नो जीविका समेत मुस्किलले चलाइरहेका हुन्छन्, यस्तोमा यो सबै भनाइमा जति सहज छ, गराइमा त्यति गाह्रो । जीविका चलाउन गाह्रो भइरहेका बेला मानसिक स्वास्थ्य उपचारका लागि उनीहरुले खर्च गर्न सक्दैनन् ।
घरमा छापा र सामग्री जफत

सिद्धिकीको बुझाइमा द्वन्द्वग्रस्त क्षेत्रमा रिपोर्टिङमा जाने पत्रकारले पहिले मेडिकल जाँच गराएर तनाव व्योहोर्न सक्ने क्षमताबारे जान्नुपर्छ ।
‘पत्रकार जो सामान्य कुराले विचलित हुन्छन्, तनावमा जान्छन्, उनीहरुलाई त्यस्तो क्षेत्रमा पठाउनु हुँदैन । जाँच नगराइ त्यस्ता व्यक्तिहरुलाई पठाउँदा उनीहरुले कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ’, उनी भन्छिन्, ‘यसले पत्रकारको परिवार र निजी जीवनलाई पनि प्रभावित पार्छ ।’
कश्मिरका अर्का पत्रकार मनोपरामर्शदाताले भने अनुसार सधैँ सहज नहुने बताउँछन् । किनकि, उनको बुझाइमा अक्सर सुरक्षा अधिकृतहरुबाट भोग्नुपर्ने दुर्व्यवहाले राम्रो मानसिक स्वास्थ्यमा भएको पत्रकार पनि समस्यामा पर्छन् । उनको बुझाइमा कश्मिरमा काम गर्ने हरेक पत्रकार कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएका छन् ।
‘मेरो बुझाइमा कश्मिर प्रशासनप्रति आलोचना गर्ने अधिकांश पत्रकारको आवाजलाई दबाउन खोजिएको छ र उनीहरुले गम्भीर मानसिक स्वास्थ्य समस्या भोग्नु परिरहेको छ’, उनी भन्छन्, ‘म स्वयम्ले पनि पटकपटक समस्या झेलेको छु, यसको कारण सुरक्षासम्बद्ध अधिकृतहरुबाट भइरहने दुर्व्यवहार हो ।’
उनका अनुसार सरकारी अधिकृतहरुले आफूखुशी पत्रकारहरुका घरमा खनतलासी मात्र लिँदैनन्, विद्युतीय उपकरणहरुपनि जफत गर्छन् । ‘केही महिनाअघि मलाई पनि धम्की दिइएको थियो र परिवार र आफन्तलाई केही नभनी मैले यो ठाउँ छाड्नु परेको थियो ।’
‘एकदमै तनाव त त्यतिबेला हुन्छ, जतिबेला काम गरिरहेका बेला भित्री मनमा डर बसिरहेको हुन्छ, जसले गर्दा काम पनि राम्रोसँग गर्न सकिन्न’, उनी भन्छन् ।
कसरी मानसिक तनाव कम गर्ने ? डा. सिद्दिकीको सुझाव
- विभत्स तस्वीर वा भिडियो कम प्रयोग गर्नुस् ।
- तनावपूर्ण तस्वीर वा भिडियोहरु सकभर मोबाइलमा नराख्नुस् ।
- तनाव दिने खाल्का फोटो अटोमेटिक डाउनलोड नहुने बनाउनुस् ।
- स्क्रीन टाइम काम गर्नुस्, त्यसको साटो किताब पढ्नुस् ।
- सम्भव भएसम्म नियमित ब्रेक र छुट्टी लिइराख्नुस् ।
- तपाईंले पढ्ने समाचारको किसिमको सन्तुलन पनि मिलाउनुस्, तनाव दिने खाल्को समाचार मात्रै नपढ्नुस् ।
- नियमित मानसिक स्वास्थ्य जाँच गराउनुस् । द्वन्द्वग्रस्त क्षेत्रमा जानुअघि र पछि अनिवार्य जाँच गराउनुस् ।
(अलजजीरा मिडिया इन्स्टिच्यूटका लागि भारतका पत्रकार सौरभ शर्माले गरेको रिपोर्टिङको अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको अनुवाद ।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4