+
+

पूर्णबहादुरलाई रोकेर अर्थमन्त्रीमा डा.महत !

‘दुई कारणले महतलाई अर्थमन्त्री बनाउनुहुन्न भन्ने मत पार्टीभित्र छ । पहिलो उनले अहिलेसम्म असाध्यै धेरै अवसर पाएका छन् । दोस्रो, मुलुकले भोगिरहेको आर्थिक संकटको समाधानमा नेतृत्व गर्न सक्ने क्षमताको अर्थमन्त्री खोजी गर्नु जरूरी छ ।’

लिलु डुम्रे लिलु डुम्रे
२०७९ चैत १३ गते २०:२४
डा. प्रकाशशरण महत

१३ चैत, काठमाडौं । पार्टी पदाधिकारीहरूकै चर्को विरोधका वावजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेका छन् । पार्टीभित्रको रस्साकसीका बीच संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आउने लगभग पक्का भएको नेताहरू बताउँछन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी लिने गरी पार्टीबाट सरकारको नेतृत्व गर्ने गरी उपसभापति पूर्णबहादुर खड्का उक्त पदका आकांक्षी थिए । तर पार्टी सभापति देउवा महतको पक्षमा अडिग देखिएपछि खड्का अर्थमन्त्री हुनबाट वञ्चित हुने भएका हुन् ।

देउवाको अडानले पार्टीबाट नेतृत्व गरेर जाँदा रोजेको मन्त्रालय खड्काले पाउने पूर्व भाष्यले काम गर्न सकेन । पार्टीभित्रका सबैजसो नेता खड्काले नेतृत्व गरेर जाँदा उनले इच्छाएको मन्त्रालय पाउनेमा विश्वस्त थिए । तर, सभापति देउवाले प्रवक्ता महतलाई जुनसुकै हालतमा पनि अघि सार्न खोजेपछि अरू नेताको सुझाव पार्टीमा सुनुवाइ भएन ।

‘सभापतिले अर्थमन्त्री बनाउने निर्णय गरेपछि अरूको रायले काम गरेन’, संस्थापन पक्षका शीर्ष तहका एक नेताले भने । अर्थमन्त्री महतलाई बनाउने देउवाको अडानबाट उपसभापति खड्का असन्तुष्ट रहेको कांग्रेस स्रोतको दाबी छ ।

गहिरिंदो आर्थिक संकटको निराकरण गर्न सक्षम व्यक्तिलाई अघि सार्नुपर्ने नेताहरूको राय थियो । गत शनिबार कार्यसम्पादन समितिको बैठकमा बोल्ने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले भनेका थिए, ‘हामीले अर्थमन्त्री बनाउने व्यक्तिको नाम सुन्नासाथ शेयर बजार उकालो लागोस् ।’

पार्टीभित्र अधिकांश नेताले अहिलेको सरकार सफलता/असफलताको मापन अर्थमन्त्री हुने भएकाले सक्षम व्यक्ति अघि सार्न सुझाव दिएका थिए । ‘महतलाई अर्थमन्त्री बनाउन नहुनेमा व्यापक असन्तुष्टि हुँदाहुँदै सभापतिले नाम टुंगो लगाउनुभएको छ’, देउवा पक्षका एक नेता भन्छन् ।

ताजा उदाहरण गएको निर्वाचन पनि हो ।

अघिल्लो पटक काठमाडौं–५ मा पराजित महतले सोही स्थानमा दोहोर्‍याएर उम्मेदवार हुन पाउने थिए । साथै, नुवाकोटमा प्रत्यक्ष उठ्न चाहेको भए पनि टिकट पाउने थिए । तर प्रत्यक्षमा उठेर जोखिम मोल्न नचाहेका उनी समानुपातिकमा बसे । खस आर्यतर्फको पहिलो नम्बरमा परेका उनले तीन जना पुरुष पर्दा समानुपातिकबाट सांसद पक्का गरे ।

देउवा समूहमा रहेका अन्य नेताले पनि महतले सरह सभापतिको विश्वास अरूले जित्न सकेका छैनन् । देउवाले महतलाई विश्वास गर्नुको अर्को कारण उनी निकटका वफादारको कमी हुँदै जानु पनि रहेको विश्लेषण हुने गरेको छ ।

जनजाति क्लष्टरमा पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ र मुस्लिम समुदायमा पहिलो नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई उछिनेर उनी सांसद भए । त्यतिबेला देउवाको रोजाइमा परेका महत पुन शक्तिशाली मन्त्रालयमा पुग्दैछन् । ‘काठमाडौं र नुवाकोटमा टिकट नपाएर उहाँ समानुपातिकमा बस्नुभएको होइन । चुनाव लड्ने आँट उहाँमा नभएको हो’, कांग्रेसका एकजना नेता भन्छन् ।

कांग्रेसका एकजना केन्द्रीय पदाधिकारीका भनाइमा, ‘दुई कारणले महतलाई अर्थ मन्त्री बनाउनुहुन्न भन्ने मत पार्टीभित्र बलियो छ । पहिलो उनले अहिलेसम्म असाध्यै धेरै अवसर पाएका छन् । दोस्रो मुलुकले भोगिरहेको आर्थिक संकटको समाधानमा नेतृत्व गर्न सक्ने क्षमताको अर्थमन्त्री खोजी गर्नु जरूरी छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ महतलाई अर्थमन्त्री बनाउने पक्षमा थिएनन् । प्रचण्डसँग बिहान भेटेका देउवाले उनलाई समेत कन्भिन्स गराएका थिए ।  दुई दिनअघि देउवासँग अर्थमन्त्री पक्का गरेपछि महतले पनि प्रधानमन्त्रीलाई भेटेका थिए ।

देउवाको निकट भएकै कारण महतले किन पटक–पटक अवसर पाइरहन्छन् ? देउवाले महतलाई विश्वास गर्नुमा २/३ कारण रहेको कांग्रेस राजनीतिलाई बुझेकाहरू व्याख्या गर्दछन् । देउवा समूहमा रहेका अन्य नेताले पनि महतले सरह सभापतिको विश्वास अरूले जित्न सकेका छैनन् ।

देउवाले महतलाई विश्वास गर्नुको अर्को कारण उनी निकटका वफादारको कमी हुँदै जानु पनि रहेको विश्लेषण हुने गरेको छ । ‘देउवाको टीममा उनीप्रति वफादार हुनेहरूको संख्यामा कमी हुँदै गएको छ । सानो समूहमध्येबाट देउवाले उनलाई बढी विश्वास गर्छन्’, कांग्रेसको राजनीतिका जानकार पुरञ्जन आचार्य भन्छन् ।

अवसरको चाङमा महत

२०४० सालमा बलबहादुर केसी नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा महामन्त्रीमा मनोनित भएका महत, २०५६ सालमा योजना आयोगको सदस्य भएका थिए ।

देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा (२०५८) उनले राजनीतिक सल्लाहकारमा नियुक्ति पाए । २०६१ मा देउवा नै प्रधानमन्त्री रहेका बेला महत परराष्ट्र राज्यमन्त्री भए । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा महत समानुपातिकतर्फको उम्मेदवार बने । २०६६ सालमा माधव नेपालले नेतृत्व गरेको सरकारमा ऊर्जा मन्त्री भए ।

२०७३ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाए । पार्टी विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक बनाउँदा देउवाले आफूलाई साथ दिएका धेरैलाई केन्द्रीय सदस्यमा समेटे । २०६४ सालमा मूलधारको कांग्रेससँग प्रजातान्त्रिक समाहित भयो । पार्टी एकीकरण गर्ने बेला दुवैतर्फका केन्द्रीय समिति सदस्यहरू हुने सहमतिले सोही पदमा रहने बाटो खुल्यो ।

२०७२ सालमा भएको कांग्रेसको १३औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यो बाहेक पार्टीको आन्तरिक निर्वाचनमा उनले जितेको इतिहास छैन । १३औं महाधिवेशनपछि देउवाले सहमहामन्त्रीमा महतलाई मनोनित गरे । १४औं महाधिवेशनमा आइपुग्दा आफ्नो समूहका आकांक्षीलाई पछि पार्दै महत महामन्त्रीमा देउवा समूहबाट पराजय भोगे । १७ पुस २०७८ मा देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरे । केन्द्रीय सदस्य बनाएको अर्को महिनामा देउवाले उनै महतलाई प्रवक्ता नियुक्त गरेका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?