+
+
तनहुँ–१ उपनिर्वाचन :

क्षेत्र फेरेर उपचुनाव लड्न चाहन्छन् किरण गुरुङ

‘पार्टीको शीर्ष तहमा मैले छलफल गरेको छैन तर धेरै नेता कार्यकर्ताले तपाईं नै उठ्नुपर्छ भनिरहनुभएको छ, म उठ्दा अन्य पार्टी र समूहहरुबाट पनि सहयोग हुन सक्ने भएकाले साथीहरुले आग्रह गर्नुभएको मैले बुझेको छु’ किरण गुरुङ भन्छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ चैत १३ गते २०:३०

१३ चैत, पोखरा । ४ मंसिरकै चुनावमा तनहुँ–१ बाट उम्मेदवारी दिन चाहेका कांग्रेस नेता गोविन्द भट्टराईलाई राम्रै अवसर दिने वचन सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा पूरा गर्दैछन् ।

नेपाल विद्यार्थी संघको अध्यक्ष र ३ पटक केन्द्रीय सदस्य भइसकेका भट्टराई रामचन्द्रको विरासतमा पहिलो पटक संसद छिर्ने सपनालाई साकार पार्न चाहन्छन् । २०७४ को निर्वाचनमा तनहुँ–१ प्रदेश सभा १ मा उम्मेदवार बनेका भट्टराई एमालेका रामबहादुर गुरुङसँग पराजय भोग्दै संसद छिर्न असफल भए । यसपटक भट्टराई सत्ता गठबन्धनको जोडबलमा संघीय संसद छिर्ने सपना साकार पार्न चाहन्छन् ।

टिकट पक्काजस्तै भएपछि भट्टराई चुनावी अभियानमा लागिसक्दा विपक्षी दल र अन्य पार्टीभित्र भने उनको प्रतिस्पर्धीको खोजी भइरहेको छ । नेकपा एमालेबाट तनहुँ–२ मा उम्म्ेदवार बनेका र कांग्रेसका शंकर घण्डारीसँग हार व्यहोरेका स्थायी कमिटी सदस्य किरण गुरुङ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चर्चा छ ।

व्यास नगरपालिका–११ तनहुँसुर जन्मथलो भएका खनालको यसअघिको चुनावमा पनि चर्चा थियो । तर, एमालेले पुराना नेता एकबहादुर रानालाई उम्मेदवार बनायो । यस पटकको निर्वाचनमा आफ्नै क्षेत्र तनहुँ–२ मा ब्यहोरेको हारलाई तनहुँ–१ मा उपचुनाव लडेर जितमा बदल्ने किरणको चाहना छ । यसअघिका उम्मेदवार एकबहादुर यसपटक चुनाव नलड्ने बताउँदै किरणलाई टिकट दिनुपर्ने माग एमालेजन भित्रबाट उठेको बताउँछन् ।

‘म यसपटक उठ्दिन भनिसकेको छु । किरणजीलाई टिकट दिनुपर्ने चर्चा र माग पनि पार्टीभित्र उठिरहेको छ’, एकबहादुरले भने, ‘सत्ता गठबन्धनलाई टक्कर दिने व्यक्ति किरणजी नै हो भन्ने आवाज पनि छ ।’ तनहुँमा एमालेका वरिष्ठ नेता किरण नै हो ।

कसलाई उम्मेदवार बनाउने केन्द्रको निर्णय पर्खिरहेको उपाध्यक्ष कँडेलले बताए । एक एमाले नेताका अनुसार एकीकृत समाजवादीका नेतालाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने विषयमा पनि छलफल भइरहेको छ ।

स्थायी कमिटी सदस्यसमेत रहेकाले किरण उठ्दा नतिजा आफ्नो पक्षमा आउन पनि सक्ने तनहुँ एमालेका उपाध्यक्ष हरिराज कँडेलको भनाइ छ । उपनिर्वाचनको उम्मेदवार तनहुँमै भिजेको नेता हुनुपर्ने उनी बताउँछन् । तर, एमालेकै केही नेता भने क्षेत्र परिवर्तन गराएर किरणलाई टिकट दिँदा उल्टो सन्देश जाने पनि बताउँछन् ।

संघीय सरकारमा वन र गण्डकी प्रदेशमा अर्थमन्त्रीसमेत भइसकेका किरण पनि चुनाव लड्न धेरै नेता कार्यकर्ताले आग्रह गरिरहेको बताउँछन् । ‘पार्टीको शीर्ष तहमा मैले छलफल गरेको छैन तर धेरै नेता कार्यकर्ताले तपाईं नै उठ्नुपर्छ भनिरहनुभएको छ’, किरणले भने, ‘म उठ्दा अन्य पार्टी र समूहहरुबाट पनि सहयोग हुन सक्ने भएकाले साथीहरुले आग्रह गर्नुभएको मैले बुझेको छु ।’

नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि यसअघि स्वतन्त्र चुनाव लडेका गोविन्दराज जोशी समूहबाट पनि एमालेको समर्थनमा उम्मेदवार बन्न लालायित छ । कांग्रेसका पूर्व सहमहान्त्री तथा सरकारमा पटक पटक मन्त्रीसमेत भइसकेका जोशी यसपटकको उपनिर्वाचनमा छोरा दीपकराज जोशीलाई उठाउन चाहन्छन् । एमाले कार्यकर्ताका अनुसार दीपक पार्टी प्रवेश नै गरेर भए पनि उम्मेदवार हुन लागि परेका छन् । तर, एमालेले यस विषयमा नसोचेको एक नेताले बताए ।

एमालेको सममर्थनमा आफूलाई उम्मेदवार बनाउन केपी ओली, सुवासचन्द्र नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ लगायतलाई भेटेर आग्रह गरेको दीपकले बताए । ‘केपी ओलीलगायत शीर्ष नेताहरुलाई भेटेर प्रस्ताव राखेको छु, उहाँहरुले यसै हुन्छ भन्नुभएको छैन’, जोशीले भने, ‘उपयुक्त ठाउँबाट प्रस्ताव आए पार्टीबाटै चुनाव लड्न पनि सकिन्छ तर पार्टीभित्र पदको कुरा पनि सँगै आउँछ ।’

एमालेसँगको गठबन्धनबाट ब्यास नगरपालिकामा मेयरको प्रतिस्पर्धा गरेका दीपक नेपाली कांग्रेस वैकुण्ठ न्यौपानेसँग झिनो मतान्तरले पराजित भएका थिए । ४ मंसिरको प्रतिनिधि सभाको निर्वाचनमा रामचन्द्रसँग गोविन्द नै उम्मेदवार बन्दा जम्मा ६ हजार ८८६ मत पाए । रामचन्द्रले सहजै चुनाव जिते ।

कसलाई उम्मेदवार बनाउने केन्द्रको निर्णय पर्खिरहेको उपाध्यक्ष कँडेलले बताए । एक एमाले नेताका अनुसार एकीकृत समाजवादीका नेतालाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने विषयमा पनि छलफल भइरहेको छ । विगतमा एमाले तनहुँको सचिव भएर पार्टी हाँकेका प्रतापलाल श्रेष्ठलाई फर्काएर उम्मेदवार बनाउनुपर्ने आवाज पनि उठिरहेको ती नेताले बताए ।

चर्चाकै बीच एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य श्रेष्ठको नेतृत्वमा नेताहरुको टोलीले अध्यक्ष माधवकुमार नेकपा, सम्मानित नेता झलनाथ खनाललाई भेटेर तनहुँ–१ मा दाबी गरेका छन् । गत निर्वाचनमा तनहुँमा एकीकृत समाजवादीलाई एक सिट पनि नदिइएकाले तनहुँ–१ को उपनिर्वाचनमा आफूहरुको दाबी रहने भन्दै अध्यक्ष नेपालको ध्यानाकर्षण गराएका छन् ।

तनहुँ–१ मा उम्मेदवार टुंग्याउन राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले कसरत गरिरहेका छन् । देशका वटा क्षेत्रमा मात्र उपनिर्वाचन हुन लागेकाले तनहुँ–१ मा विषेश ध्यान दिँदै उम्मेदवारका टुंगो लगाउन नेताहरु जुटेको यसअघिका उम्मेदवार विकास सिग्देलले जानकारी दिए ।

मंसिरमा भएको चुनावमा गठबन्धनबाट पौडेलले २५ हजार ३१८ मत ल्याउँदा र एमालेका रानाले १९ हजार ९४३ मत ल्याएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा व्यास नगरपालिकाका १४ मध्ये १२ वडा, बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका र भानु नगरपालिका पर्छ । यहाँ गत चुनावमा १ लाख २३ हजार ४ सय ९० मतदाता थिए । तनहुँ–१ मा माओवादीको पनि राम्रो जनमत छ । तनहुँ–१ (२) मा माओवादीका हरिबहादुर चुमानले दोस्रो पटक चुनाव जित्दै गण्डकी प्रदेश सरकारमा पनि दोस्रो पटक पनि मन्त्री भएका छन् ।

आँबुखैरेनी गाउँपालिकामा माओवादीकै शुक्र चुमान अध्यक्ष छन् । बन्दीपुर गाउँपालिकामा पनि माओवादी झिनो मतले पराजित भएको थियो । कांग्रेस–माओवादी गठबन्धन हुँदा कांग्रेसले जित्न सक्ने सम्भावना बढी रहेकाले बलियो उम्मेदवार खोज्नुपर्ने दबाव प्रतिस्पर्धी दलहरुलाई छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?