 
																			१४ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । उनले पीडितहरुको माग छिटोभन्दा छिटो मन्त्रिपरिषदबाट सम्बोधन गर्नुपर्ने पनि बताएका छन् ।
तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको उनले बताएका छन् । मिटर ब्याज पीडितहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै महानगरपालिकाको आलोचना भइरहेको बेला मेयर साहले सो धारणा सार्वजनिक गरेका हुन् ।
खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन भन्दै मेयर साहले फेसबुकमा लेखेका छन्, ‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’
बर्दिवासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा काठमाडौं महानगरपालिकाका नगरप्रहरीहरुले रोकेका थिए । त्यसपछि उनीहरु खुला आकास मुनि सडकमै रात बिताएका थिए ।
मेयर साहले मिटरब्याज पीडितहरुको आन्दोलन सडकमा बस्नका लागि नभई न्यायका लागि हो भन्दै मन्त्रिपरिषद्ले यथाशीघ्र उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
पीडितहरुलाई केही घण्टामै न्यायको अनुभूति दिलाउनु पर्नेमा त्यसो नगरी सम्पूर्ण चासो र परिश्रम खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौं वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो,’ मेयर साहले भनेका छन्, ‘यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’

पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको र गाउँ-गाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको उनले बताएका छन् । यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनुपर्ने मेयर साहको मत छ ।
‘यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषदले दिनुपर्ने हो । पीडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो,’ उनले भनेका छन् ।
मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साहले भनेका छन्, ‘हामी अझै पनि भन्छौं, स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्छ । नभएर माथिल्लो सरकारमा आइपुगेपछि हदैसम्म शीघ्रता देखाएर समाधान हुनुपर्छ । रह्यो कुरा खुलामञ्चको, त्यो मञ्च आवाज बोल्न सबैका लागि सधैं खुला थियो, छ र रहनेछ ।’
काठमाडौं महानगरले मिटरब्याज पीडितहरुको सुरक्षित बसाइका लागि अन्यत्र विकल्प दिएको तर उनीहरुले नमानेको मेयर साहले बताएका छन् । खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिन भन्दा समस्या समाधानको लागि दबाव दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उनीहरु बालुवाटारतिर लागेको उनको भनाइ छ ।
आज बिहान मिटरब्याज पीडितहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासतर्फ अगाडि बढ्दै गर्दा प्रहरीले टंगालमा रोकेको छ । उनीहरुले टंगालको सडक क्षेत्रमै बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।

 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4