
१४ चैत, दाङ । ठेकेदारले गुणस्तरीय सडक नबनाएको आशंकामा दाङको घोराही उपमहानगरपालिकाले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको कालोपत्रे गर्ने काम रोकिदिएको छ ।
सडकको लेबल र गिट्टीहरूको आकार नमिलेको पाइएपछि घोराही उपमहानगरपालिकाले सडकको कालोपत्रे गर्न रोक लगाएको हो ।
‘सडक कालोपत्रे गरेपछि लेवलिङ मिल्नुपर्छ, चिल्लो देखिनुपर्छ । तर त्यस्तो नदेखिएपछि परीक्षणका लागि भनेर निर्माणको काम रोक्न लगाएका छौं’ घोराही उपमहानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख इञ्जियिनर युवराज पौडेलले भने ।
१८ सय मिटर लामो सडकमा गर्न लागिएको कालोपत्रे अस्फाल प्रविधिको हो । सोही प्रविधिमा कालोपत्रे गरिएको घोराहीकै दामोदरचोकदेखि नयाँ बजार-आर्मी व्यारेकसम्मको सडक राम्रो देखिन्छ ।
एउटै प्रविधिमा बनाइएका सडक कुनै राम्रो र कुनै नराम्रो देखिएपछि स्थानीयले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको गुणस्तरमा प्रश्न उठाएका थिए । अहिले उपमहानगरले पनि शंका गरेर तीन हप्तादेखि सडक कालोपत्रेको काम रोकेको छ ।
घोराही उपमहानगरपालिका इञ्जिनियर सन्दीप घिमिरेले भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडकको ‘थिकनेस’ नमिलेको पाइएकाले गुणस्तर परीक्षणको लागि काम भइरहेको बताए । उनले छिट्टै परीक्षण रिपोर्ट आउने र सडकमा के कस्तो काम भएको भन्नेबारे आफूहरु निष्कर्षमा पुग्ने बताए ।
घोराहीको भानुचोकदेखि-गुलरिया पार्कसम्मको सडक कालोपत्रे गर्ने जिम्मा पुष्पाञ्जली-पीएस जेभी बाँकेले पाएको छ । तर उसले आफैं काम नगरी पेटी ठेक्काको काम गर्ने जिम्मा वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनलाई दिएको छ ।
२०७८ फागुनमा २ करोड ३१ लाख ५५ हजार ३६० रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । तर ठेकेदारको लापरबाहीका कारण समयमै काम हुन सकेन । २०७९ चैत ३० गतेसम्म म्याद रहेको बेला कम्पनीले अन्तिम समयमा काम सुरु गरेको थियो ।
सोही निर्माण कम्पनीले सुरु गरेको घोराही बजारकै शहीदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैंकदेखि शहीद गेटसम्मको सडक पनि अलपत्र छ ।
आत्रेय/पूर्णचन्द्र/बस्नेत जेभीले नाला र फुटपाथ तथा वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले सडक पिच गर्ने कामको जिम्मा पाएका थिए ।
गत असारसम्ममा काम सक्ने गरी वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले जिम्मा लिए पनि अहिलेसम्म सडक कालोपत्रे गर्ने काम सकेको छैन ।
सम्झौताअनुसार ठेकदार कम्पनीले काम नगर्दा अहिले सवारी अवागमनसँगै व्यवसायी र पैदल यात्रुसमेत समेत समस्यामा परेका छन् ।
प्रतिक्रिया 4