+
+

शुभेच्छा खड्का भन्छिन्- ‘प्रेमा’को पात्र हरेक महिलासँग मेल खान्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १८:०६
फिल्म 'प्रेमा'का मुख्य कलाकार शुभेच्छा खड्का र अरुण क्षेत्री

काठमाडौं । शुभेच्छा खड्काको शीर्ष भूमिका रहेको रोमान्टिक फिल्म ‘प्रेमा’ चैत १७ गते रिलिज हुँदैछ । ‘रणवीर’ डेब्यु अभिनेत्रीको करिअर उकास्न पनि यो फिल्म चल्नु जरुरी छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा शुभेच्छाले ‘प्रेमा’ र यसको शीर्ष चरित्रबारे खुलेर कुरा गरिन् ।

उनका अनुसार ‘प्रेमा’ एक मीठो र सरल कथावस्तुमा बनेको रोमान्टिक फिल्म हो । ‘प्रेमाको चरित्र शान्त र सरल छ । यो पात्र हरेक महिलासँग मेल खान्छ । फिल्म हेरिरहँदा महिला दर्शकले आफूमा प्रेमाको रुप पाउँछन् । फिल्म कलरफुल र साधारण बनेको छ,’ उनले भनिन् ।

वास्तविक जीवनमा चाहिं उनी सहरी संस्कृतिमा हुर्किएकी केटी हुन् । बोलिरहन मन पराउने उनी आफूलाई ‘लाउड पर्सन’ मान्छिन् । तर प्रेमा चरित्र उनीभन्दा फरक छ । ‘प्रेमा अलिक लजालु छे । यो फिल्ममा मलाई काम गर्न केही समय लाग्यो । किनकि पहिला त प्रेमाजस्ती देखिनका लागि लुक्समै फिट गराउन समय लाग्यो । एक–दुई दिन त म राम्री देखिएँ या देखिइन भन्नेमा अन्योल थियो,’ शुभेच्छाले भनिन् ।

निर्देशक गोविन्दसिंह भण्डारी वास्तविक जीवनकी एक महिलाबाट प्रभावित भएर फिल्मको कथा तयार पारेको बताउँछन् । ‘वास्तविक प्रेमाको चरित्रलाई लिएर फिल्म बनाउन मन थियो । त्यो चरित्रलाई यसमा पूरा गरेको छु । यो फिल्ममा दर्शकले नयाँ शैलीको प्रेमकथा पाउनुहुनेछ,’ गोविन्द भन्छन्, ‘प्रेमा साउथ फिल्ममा धेरै प्रयोग हुने शब्द हो । हामी नेपालमा ‘माया’ भनेजस्तै साउथमा प्रेमा बढी प्रयोग हुन्छ । प्रेमा चरित्र सकारात्मक छ र उसको काम गर्ने शैली पनि राम्रो छ ।’ यो फिल्म तमिल, तेलुगू र हिन्दी भर्सनमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ ।

फिल्ममा अभिनेता अरुण क्षेत्रीले अभिनेत्रीद्वय शुभेच्छा र सृष्टि श्रेष्ठसँग रोमान्स गरेका छन् । फिल्म ‘ज्याकी ः आईएम ट्वान्टी वान’बाट अभिनयमा डेब्यु गरेका अरुण अभिनित फिल्म ‘महापुरुष’ले रिलिज भएर पनि सफलताको स्वाद चाखिसकेको छ । ‘महापुरुष’ले सफलता पाए पनि आफूलाई कुनै दबाब अनुभव नभएको अरुण बताउँछन् ।

‘मलाई दबाब छैन किनभने फिल्म राम्रो बन्न निर्देशक, स्क्रिप्ट र कलाकार राम्रो हुनुपर्छ । प्रेमामा दर्शकले सबै कुरा पाउँछन् । फिल्मले राम्रो गर्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु,’ अरुण भन्छन्, ‘मुख्य कुरा दबाब लिने कि नलिने भन्ने हुन्छ । यो दबाब केका लागि लिने भन्ने हो । नराम्रो काम गरेको छु भने डर लाग्छ । राम्रो टिमसँग आबद्ध छु । त्यसकारण दबाब लिएको छैन ।’

फिल्म गोविन्द र विवेक घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्माता घिमिरे ‘प्रेमा’को स्क्रिप्ट मन परेर आफूले लगानी गरेको बताउँछन् । ‘मैले प्रेमामा राम्रो कथा पाएँ । पहिलोपटक स्क्रिप्ट पढ्दा म त दंग परें । मैले एक घण्टामा नै स्क्रिप्ट पढें । त्यसपछि तीन-चार पटक पढें,’ विवेकले भने, ‘यो स्क्रिप्टमा हरेक दृश्यमा निर्देशकको डिटेलिङ शैली छ । त्यसले मलाई तान्यो ।’

बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्मित फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को समेत अभिनय छ । फिल्मका कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?