+
+

‘रेमिट्यान्समाथिको निर्भरता नघटाए संकट फेरि आउँछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते २१:१४

१४ चैत, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा रेमिट्यान्समाथिको निर्भरता कम गर्नुपर्ने बताएका छन् ।

मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनाले आयोजना गरेको कार्यक्रममा उनले अर्थतन्त्र जस्तो चलेको छ त्यसमै सन्तुष्टि मानेर बस्न नहुने सुझाव दिए ।

‘रेमिट्यान्स आएको छ । त्यही पैसाले आयात गरेका छौं । त्यसमै रमाएका छौं र त्यसैले पुगेको छ । रेमिट्यान्समा तलमाथि भएको दिन के गर्ने ?’ उनले प्रश्न गरे ।

रेमिट्यान्स नआएको दिन देशको अर्थव्यवस्था बिजोग हुने भन्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन गर्नसक्ने वस्तु पहिचान गर्नतिर ध्यान दिनुपर्ने धारणा राखे ।
नेपालको बाह्य क्षेत्र सुधार देखिएको र अब आन्तरिक अर्थतन्त्र सुधार गर्नुपर्ने गभर्नर अधिकारीले बताए । ‘भित्री कुरा आफैंमा बसेर सम्बोधन गर्न सक्छौं । तर, बाह्य क्षेत्र जब बिग्रिन्छ त्यसलाई सम्हाल्न सहज हुँदैन,’ उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले तीब्र रुपमा नीतिगत सुधार हुन नसके अर्थतन्त्रमा गम्भीर समस्या आउने चेतावनी दिए ।

‘अर्थतन्त्र सुधारको लागि आवश्यक नीतिगत सुधारका विधेयक आएन’, उनले भने, ‘अब पनि नीति निर्माण गर्नेलाई दबाव नदिने हो भने अर्थतन्त्र दुर्घटना हुन्छ ।’

उनले मुलुकमा आर्थिक सुशासन कमजोर रहको र उद्योग व्यवसायीले नियमभित्र बसेर काम नै गर्न नसक्ने अवस्था रहेको बताए । ‘बाह्य क्षेत्र राष्ट्र बैकको तथ्यांकमा राम्रो भयो । तर, विदेशी मुद्रा आर्जनको स्रोत रेमिट्यान्स नै भयो’, उनले भने, ‘रेमिट्यान्सले मात्रै आर्थिक फड्को मारेको कुनै पनि देश देखिएन । विदेशी विनिमय सञ्चिति छ । तर, व्यापार घाटा उच्च छ । भोलि रेमिट्यान्समा तलमाथि भएको अवस्थामा के हुन्छ ?’

अर्थविद् डा. अच्युत वाग्लेले राजस्वले तलब खुवाउन नसक्ने अवस्था भनेको इतिहासमा विरलै हुने घटना भएको बताए । ‘अर्थतन्त्रको समस्या समाधानको लागि नीतिगत सम्बोधनको जरुरी छ । अहिलेको अवस्थामा अर्थतन्त्रका तथ्यांकहरु निकै चिन्ताजनक छ’ उनले भने, ‘अर्थतन्त्रमा नीतिगत र संरचनागत रिफर्म उत्तिकै जरुरी छ ।’

संसदीय अध्ययन तथा विकास संस्थापनका अध्यक्ष तथा पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीति ठीक भए अर्थतन्त्र ठीक हुने तर, अर्थतन्त्र मात्रै ठिक भएर राजनीति ठीक नहुने बताए ।

पूर्वमन्त्री दीपकुमार उपाध्यायले अर्थतन्त्रको समस्या समाधानका लागि नेतृत्वमा दृढ इच्छाशक्ति चाहिने बताए । उनले अर्थतन्त्र संकटमा निजी क्षेत्र पनि जिम्मेवार रहेको बतए । ‘अर्थतन्त्र संकटमा हुँदा निजी क्षेत्रले पनि जिम्मेवारी लिनु पर्ने कि नपर्ने ?’ उनले प्रश्न गरे ।

उनले राष्ट्र बैंकले जथाभावी बैंकको लाइसेन्स बाँड्ने र मर्जर भन्दै दबाव दिने कस्तो नीति भन्दै प्रश्न गरे ‘लघुवित्त र सहकारीलाई अनियन्त्रित छोड्न राष्ट्र बैकको ध्यान पुग्यो कि पुगेन ?’ उपाध्यायले प्रश्न गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले निजी क्षेत्रले ब्याज तिर्न नसक्दा बैंकको खराब कर्जा बढेको, निजी क्षेत्र संकुसचित हुँदा राजस्व घटेको र ब्याजदर बढ्दा समस्या पनि निजी क्षेत्रलाई नै भएको बताए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकको कसिलो नीति नै अर्थतन्त्रमा देखिएको समस्याको मुख्य कारण रहेको बताए । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले उद्योग र व्यापारमा फरक ब्याजदर कायम गर्नुपर्ने र कम्तीमा उद्योगको लागि एकल अंकको ब्याजदर चाहिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?