+
+

‘महिनावारीको कुरा गर्न पनि लजाउँछन् हुम्लाका महिला’

‘हुम्लाका धेरै महिलामा पाठेघर खस्ने समस्या छ’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ चैत १५ गते १३:५८

काठमाडौं । कर्णाली प्रदेशको हुम्ला नेपालको विकट जिल्लामध्येमा पर्छ । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एक मात्र जिल्ला सदरमुकाम हो सिमकोट । सडक नै नपुगेपछि विकासका अन्य पूर्वाधार पुग्ने कुरै भएन ।

हुम्लाका धेरै गाउँमा स्वास्थ्यको आधारभूत सुविधा समेत पुगेको छैन । अस्पतालको त कुरै नगरौं प्राथमिक स्वास्थ्य केन्द्र समेत स्थापना गर्न सकिएको छैन ।

सहरमा महिला सशक्तीकरण चर्का नारा लागिरहँदा हुम्लाका महिलालाई आफ्नै शरीरमा लाग्ने रोगबारे जानकारी छैन । चेतना र उपचार अभावमा उनीहरु विभिन्न रोग पालेर बस्न बाध्य छन् ।

हुम्लाका महिलाको स्वास्थ्य अवस्था कस्तो छ ? उनीहरूलाई के कस्ता रोगले सताएको हुन्छ ? यिनै विषयमा केन्द्रित रहेर दुई वर्ष हुम्लामा स्वास्थ्य सेवा गरेर फर्किएका डा. नितेश घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश :

हुम्लामा महिलाहरूको स्वास्थ्य स्थिति कस्तो छ ?

हुम्लाका महिलामा महिनावारीको समयबाट नै समस्या सुरु हुन्छ । महिनावारीको बेला के के कुरामा ध्यान दिने भन्ने आधारभूत ज्ञान नै धेरैलाई हुँदैन । महिनावारीको कुरा अरूलाई सुनाउन लजाउने गरेको पाइन्छ । जसले गर्दा विभिन्न प्रजनन् समस्याबाट उनीहरू गुज्रिनुपर्छ ।

बच्चा नबस्ने समस्या र उकालो ओरालो धेरै गर्नुपर्ने र भारी काम गर्नुपर्ने भएकाले बच्चा बसेपनि गर्भ तुहिने समस्या धेरै छ । बच्चा जन्माइसकेपछि तथा महिनावारी सुक्ने बेला पाठेघर खस्ने समस्या हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाका महिलामा देखिने मुख्य समस्या हो । साथै प्रसूतिको क्रममा मृत्यु हुने समस्या पनि हुम्लामा छ । १८ महिनाको अवधिमा  तीन जना महिलाको मृत्यु प्रसूतिको क्रममा भएको मैले पाएको थिएँ ।

प्रसूतिको क्रममा मृत्यु हुने कारण के हो ?         

प्रसूति प्राकृतिक प्रक्रिया हो । पहिले यसमा धेरै समस्या देखा पर्दैनथ्यो । अहिले खानपान, व्यायामको कमी लगायत अन्य कुराले गर्दा यसमा धेरै जटिलता थपिएको छ । हुम्लामा स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घरमा नै प्रसूति गराउने चलन धेरै छ । किनकि अस्पताल, स्वास्थ्य चौकीको पहुँच हुँदैन । कुनै एउटा गाउँमा स्वास्थ्य चौकी हुन्छ, अर्को गाउँको मान्छेलाई त्यहाँ पुग्न धेरै समय लाग्छ ।

गर्भाशयमा रहेको पानीको फोका फुटेर बग्न थाल्यो भने झन् जटिल समस्या हुने भएकाले पनि घरमै प्रसूति गराइन्छ ।

घरमै प्रसूति गराउँदा कुनै बच्चाको टाउको ठूलो हुन सक्छ, जसले गर्दा बच्चा निक्लन गाह्रो हुन सक्छ । कसैको पाठेघरको आकार नै भिन्न हुन्छ । यसले बच्चा जन्मिए पनि साल राम्ररी ननिस्कने हुन सक्छ । प्रसूतिपछि धेरै रक्तस्राव ‘पोष्टपार्टम हेम्रेज’ हुन्छ र लामो समय हुन्छ । त्यो अवस्थामा रक्तअल्पता भएर धेरै महिलाको मृत्यु हुन्छ ।

हुन त जटिल अवस्थामा त्यहाँको अस्पतालबाट पत्र लेखेर सिडिओलाई बुझाएपछि तुरुन्त पत्र आयो भने हेलिकप्टर पठाएर बिरामीलाई काठमाडौं ल्याइन्छ । तर यो प्रक्रिया लामो भएकाले त्यो समयमा पनि महिलाको मृत्यु हुने सम्भावना हुन्छ ।

हुम्लामा कम उमेरमा बच्चा जन्मिने चलन धेरै छ । कम उमेरमा विवाह गर्ने, कम उमेरमा बच्चा जन्माउने र कम जन्मान्तर यी तीन समस्या अलि बढी देखिन्छ ।

मेरै अनुभवमा भन्नु पर्दा पनि म हुम्लामै हुँदा अस्पतालमा भिडियो एक्सरे गराउन एक जना महिला आउनु भएको थियो । भिडियो एक्सरे गराउने क्रममा उहाँसँग मेरो कुराकानी भयो । मैले के काम गर्नुहुन्छ भनेर सोधे ? उहाँले ‘म विद्यार्थी हुँ’ भन्नुभयो । फेरि मैले प्रश्न गरे कुन लेभलमा ? उहाँले जवाफमा भन्नुभयो, ‘९ कक्षामा ।’ म छक्क परे ।’ तर पछिल्लो समय सानै उमेरमा विवाह गर्ने तथा बच्चा जन्माउने चलन बिस्तारै कम भने हुँदै गइरहेको छ ।

पाठेघर खस्ने समस्या पनि धेरै होला त्यहाँ, कतिलाई देखिन्छ ?

पाठेघरको मुख योनीभन्दा सात सेन्टिमिटरमाथि हुन्छ । पिसाबथैली तथा दिसा घरको बीचमा पाठेघर हुन्छ । पाठेघरलाई अड्याएर राख्न विभिन्न मांसपेशी, लिगामेन्टको भूमिका हुन्छ । बच्चा जन्माउने बेला अस्पताल तथा स्वास्थ्य चौकी गयो भने पाठेघरको मुख कति खुल्यो ? कति बेला पूरा खुल्छ भनेर जाँच गरेर बच्चा जन्माइन्छ । तर घरमै बच्चा जन्माउँदा यदि राम्रो तालिम प्राप्त व्यक्ति परेन भने पाठेघरको मुख नै नखुली धेरै प्रेसर दिन लगायो भने त्यो पाठेघरको बनावट बिग्रिएर पाठेघर खस्ने समस्या हुन्छ ।

बच्चा जन्मिएपछि साल पनि निस्कनुपर्‍यो । घरमै बच्चा जन्माउँदा ज्ञान नभएको व्यक्तिले साल निक्लन गाह्रो भयो भने साललाई तान्दिनु हुन्छ । त्यसरी साल तान्दा पाठेघरको बनावट बिग्रिन्छ र खस्छ ।

सुत्केरी अवस्थामा धेरै गह्रुंगो काम गर्ने उकालो ओरालो बढी गर्ने गर्दा पनि पाठेघर खस्ने समस्या हुन्छ । हुम्लामा १४–१५ दिनमा नै सुत्केरी महिलाहरूले काम गर्न थाल्छन्, जसले गर्दा पनि त्यहाँ पाठेघर खस्ने समस्या बढी हुन्छ । मेरो अनुभवमा १० मध्ये चार जनालाई पाठेघर खस्ने समस्या हुन्छ ।

पाठेघर खसेपछि हुने अप्ठ्यारा के के छन् ?

पाठेघर खस्ने समस्याका तीन चरण हुन्छन् । पहिलो चरणमा अलिकति पाठेघर खसेको स्वयं महिलालाई मात्र अनुभव हुन्छ । दोस्रो चरणमा अलि तल नै झर्छ देखिन्छ । तेस्रो चरणमा त्यो खसेर योनीभन्दा बाहिर आएर रगत बस्ने सेतो पानी बग्ने जस्तो समस्या देखिन्छ ।

पाठेघर खसेको जस्तो हुने, बल कम भएको, कम्मर दुख्ने, कम्मर भन्दा तल दुख्ने लगायत यसको लक्षण हुन् । पहिलो चरणमा यो समस्या पत्ता लाग्यो भने व्यायामबाट नै यो निको हुन्छ । दोस्रो चरणमा सिलिकन रिङ राखेर पाठेघरलाई अड्याउन सकिन्छ । तर तेस्रो चरणमा पुगेपछि मात्र बिरामी अस्पतालमा पुग्छन् । यो चरणमा महिलाको पाठेघर नै निकालेर फाल्नुपर्ने हुन्छ ।

हुम्ला जस्ता दुर्गम जिल्लाका महिलालाई पाठेघर खस्ने समस्याबाट कसरी बचाउने ?

पाठेघर खस्ने कारण के हो ? कसरी बच्ने लगायत विषयमा जनचेतना जगाउनुपर्छ । जनचेतनाको कमीले गर्दा पनि दुर्गम क्षेत्रमा यो समस्या बढी हुन्छ । त्यसैले यो समस्याको बारेमा जनचेतना फैलाउनुपर्छ ।

गर्भवती भएदेखि नै अस्पताल गएर जँचाउने बच्चा जन्माउन पनि अस्पताल नै जाने गरियो भने यो समस्याबाट बच्न सकिन्छ । ठूलो भएको पाठेघरलाई आफ्नो ठाउँमा फर्कन पनि समय लाग्छ । त्यसैले सुत्केरी अवस्थामा कम्तीमा ४५ दिन गाह्रो काम गर्नु हुँदैन । यो बेला आराम गर्ने र पोषणयुक्त खानपानमा ध्यान दिनुपर्छ ।

यसको लक्षण पहिचान गर्नु पनि यसबाट बच्ने उपाय हो । पाठेघर खसेको अनुभव हुने, बल कम भएजस्तो हुने, ढाड दुख्ने जस्ता लक्षण देखियो भने अस्पताल गएर जँचाउनुपर्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?