+
+

सापटी रकम फिर्ता नदिंदा हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १८:०३

१६ चैत, तनहुँ । सापटी दिएको रकम फिर्ता नगर्दा तनहुँमा एक महिलाको हत्या भएको घटना सार्वजनिक भएको छ ।

पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको हत्याको अभियोगमा तनहुँ प्रहरीले काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा ७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

सुनारले महिलाको टाउकोमा इँट्टाले प्रहार गरेर हत्या गरी तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित पिपलटार खानेपानी ट्यांकीमा फालिदिएको प्रहरीको आरोप छ ।

गत चैत १२ गते खानेपानी ट्यांकीमा पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेको थियो । उनी फागुन २१ गतेदेखि हराएकी थिइन् । आफन्तले चैत ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्य गरी पाउँ भनी निवेदन दिएका थिए ।

घर–घरमा वितरण गरिएको धाराबाट पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको थियो ।

गाडी चालक समेत रहेका सुनार फलफूल लगायत अन्य खाद्यान्नको दुवानी गर्थे । सोही क्रममा उनको भेट शान्ति श्रेष्ठसँग भयो । चिनजानपछि उनीहरु घनिष्ठ भए । सोही क्रममा सुनारले श्रेष्ठलाई केही रकम सापटी दिएका थिए । एकल महिला समेत रहेकी श्रेष्ठले आफ्नो छोराको उपचारको लागि सापटी लिएको पाइएको प्रहरीले जनाएको छ ।

सुनारले सापटी रकम फिर्ता माग्दा श्रेष्ठले नदिएको र त्यही निहुँमा हत्या भएको पाइएको तनहुँ प्रहरी प्रमुख (एसपी) अवधेश विष्टले बताए ।

‘१० हजार रुपैयाँ सापटी रकम फिर्ता नदिंदा सुनारले हत्यालाई अन्जाम दिएको हो । हत्या गरेपछि महिलासँग भएको गरगहना र मोबाइल पनि लुटिएको थियो’, विष्टले भने ।

सुनारले महिलाको गरगहना पोखराको महेन्द्रपुलस्थित रजनी सुनचाँदीका सञ्चालक रविनकुमार गहतराजलाई बिक्री गरेका थिए । गहतराजलाई पनि प्रहरीले पक्रेको छ ।

सुनारलाई तनहुँ प्रहरीले चैत १५ गते तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेकबाट पक्राउ परेको थियो । घटनामा संलग्न रहेकालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुसन्धान भइरहेको एसपी विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?