+
+

प्रधानमन्त्री कप फाइनल : फेरिएको परिवेशमा नेपालको परीक्षा

‘हामीले एक खेल जितेका छौं र एक खेल बराबरी गरेका छौं, अब एउटा फाइनल बाँकी छ । टिममा अधिकांश नयाँ खेलाडी छन्, उनीहरुको आत्मविश्वास र प्रेरणा बढाउनका लागि पनि हामीले भोलि जित्नुपर्नेछ ।’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ चैत १६ गते १८:३०

१६ चैत, काठमाडौं । अधिकांश खेलाडी विदेश पलायन भएपछि बाध्यात्मक पुस्तान्तरणको नियतिबाट गुज्रिएको नेपाल राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार लाओससँग खेल्दैछ ।

नयाँ प्रशिक्षक, अधिकांश नयाँ खेलाडीको आगमन र तीन दिनको प्रशिक्षणले त्रिदेशीय फुटबल प्रतियोगिता खेलेको नेपाल पछिल्ला दुई खेलमा अपराजित रहे पनि फुटबललाई माया गर्नेहरुको मन जित्न भने संघर्षरत थियो ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० ले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग इतिहासमै पहिलोपल्ट बराबरी खेल्यो । दुवै खेलमा नेपाली खेलाडीहरु आआफ्नो पोजिसनमा संघर्षरत थिए । फाइनलमा नेपाललाई अघिल्ला गल्तीहरुलाई सुधार्ने अवसर हुनेछ ।

लाओसविरुद्ध दुई उत्कृष्ट गोलबाहेक नेपालको प्रदर्शन सबै पोजिसनमा निकै कमजोर थियो । सिनियर खेलाडी नहुँदा र पर्याप्त तयारी समय नपाउँदा टिमको प्रदर्शन सोचेअनुसार नभएको अनुभवी डिफेण्डर तथा सो खेलका प्लेयर अफ द म्याच अनन्त तामाङले स्वीकार गरेका थिए ।

१४ चैतमा खेलिएको भुटानसँगको खेल त नतिजाको हिसाबमा पनि नेपालका लागि अहिलेसम्मकै झूर रह्यो । त्यस खेलमा १९औं मिनेटमै गोल खाएको नेपाल त्यसयता अन्तिमसम्मै मैदानमा संघर्षरत थियो । दक्षिणएशियाको सबैभन्दा कमजोर टिम मानिएको भुटानले नेपाललाई कठिन चुनौती दिएको थियो । सब्स्टिच्युड दीपकराज सिंह ठकुरीले अन्तिम मिनेटमा गोल गर्दा नेपाल हारबाट जोगिएको हो ।

नेपालले तीन महिनापछि भारतमा दक्षिण एशियाली फुटबल (साफ) च्याम्पियनसिप खेल्दैछ । टिमको पछिल्लो प्रदर्शन हेर्दा यो समय गत संस्करणको फाइनल खेलेको नेपालका लागि अत्यन्तै चुनौतीपूर्ण हुनेछ । कप्तान किरणकुमार लिम्बुले भनिसकेका छन्, ‘नेपाल फुटबलका लागि आउने समय चुनौतीपूर्ण छन् । हामी सम्हालिएर जानुपर्छ । हामी दिनदिनै राम्रो हुँदैछौं । हामीसँग जे छ त्यसलाई स्वीकार्नुपर्छ ।’

साफपछि नेपालले अक्टोबरमा सन् २०२६ को फिफा विश्वकपका लागि पहिलो चरणको छनोट खेल्नेछ । पहिलो चरणमा नेपालले लाओससँगै खेल्नुपर्नेछ । यद्यपि आधिकारिक तालिका सार्वजनिक गरिएको छैन ।

फाइनलअघिको पत्रकार सम्मेलनमा बिहीबार नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले यो प्रतियोगिताको फाइनल आफ्नो टिमका अनुभवहीन खेलाडीका लागि धेरै नै महत्वपूर्ण रहेको बताएका छन् । उनले नयाँ प्रशिक्षकसँग छोटो समयको संगतमा टिमको विकासबाट आफू खुसी र आशावादी रहेको समेत बताए ।

‘हामीले एक खेल जितेका छौं र एक खेल बराबरी गरेका छौं, अब एउटा फाइनल बाँकी छ । टिममा अधिकांश नयाँ खेलाडी छन्, उनीहरुको आत्मविश्वास र प्रेरणा बढाउनका लागि पनि हामीले भोलि जित्नुपर्नेछ’ उनले थपे, ‘किनभने टिम बनाउन यो छोटो समयले पुग्दैन । साफ च्याम्पियनसिप र विश्वकप छनोट आउँदैछ ।’

नेपाल टिमममा कप्तान किरण, रोहित चन्द, अनन्त तामाङ र अन्जन विष्ट मात्र अनुभवी खेलाडीका रुपमा छन् । अन्जन फिट छैनन् । दोहोरो पहेंलो कार्डका कारण भरपर्दा डिफेन्सिभ मिडफिल्डर पुजन उपरकोटी पनि फाइनलका लागि उपस्थित छैनन् । सम्भवतः फाइनलमा नेपालले लाओससँगको पहिलो खेलकै रणनीति लिनेछ, टिमका अनुभवी खेलाडीका साथ बलियो रक्षापंक्ति बनाउने र सेट पिसको अवसरमा केन्द्रित रहने छ ।

प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले आफ्नो टिम मानसिक रुपमा तयार रहेको भन्दै राम्रो नतिजाका लागि प्रयास गर्ने बताएका छन् । नयाँ खेलाडीको मनोबलका लागि फाइनल महत्वपूर्ण हुनेमा उनले पनि जोड दिए ।

‘दुवै टिमले राम्रो खेलिरहेका छन् । हामी मानसिक रुपमा तयार छौं , हामीसँग थुप्रै नयाँ खेलाडी छन् । यो खेल उनीहरुका लागि ठूलो अवसर हो’ एनेसले थपे, ‘नयाँ खेलाडीहरुले धेरै सुधार गरिरहेका छन् । उनीहरु राम्रो मानसिकतामा देखिन्छन् । उनीहरु घरेलु मैदानमा राम्रो प्रदर्शन गर्नेछन् भन्ने अपेक्षा छ । नयाँ खेलाडीहरुका लागि यो जित प्रेरणा पनि हुनेछ ।’

मैत्रीपूर्ण वा प्रतिस्पर्धात्मक खेलका लागि फिफाले निर्धारण गरेको अन्तर्राष्ट्रिय समय सकिएका कारण शुक्रबारको फाइनलले आधिकारिक मान्यता पाउँदैन । यद्यपि यसलाई हल्का रुपमा नलिने दुवै टिमले बताएका छन् ।

लाओसले आफ्नो अन्तर्राष्ट्रिय इतिहासमै पहिलोपल्ट कुनै प्रतियोगिताको फाइनल खेल्न लागेको छ । अधिकांश युवा खेलाडीलाई समेटेर तयार पारिएको लाओस टिम फाइनलका लागि उत्तिकै उत्साहित छ । प्रशिक्षक माइकल वाइसले यसअघिको खेलको तुलनामा परिस्थिति फेरिएकाले फाइनलमा घरेलु टिमसँगको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् ।

‘पहिलो खेलको दुई दिनअघि मात्र हामी यहाँ आएका थियौं । अल्टिच्युडमा घुलमिल हुनसकेका थिएनौं । यद्यपि हामीले नराम्रो खेलेका होइनौं’ उनले थपे, ‘हामी सधैं राम्रो जतिजाका लागि प्रयासरत हुनेछौं । म मेरो टिमका युवा खेलाडीहरुसँग सकारात्मक छु । तर, अनुभवले टिममा धेरै प्रभाव पार्छ । नेपाल राम्रो टिम हो र उनीहरुसँग अनुभवी खेलाडी छन् ।’

घरेलु मैदान र समर्थकका बीच नेपाल उपाधिमा प्रमुख दावेदार रहेको उनको स्वीकारोक्ति छ । अक्टोबरमा विश्वकप छनोटको पहिलो चरण पनि नेपालसँगै खेल्नुपर्ने भएकाले आफ्ना लागि अहिलेको फाइनल थप महत्वपूर्ण रहेको उनले बताए ।

दशरथ रंगशालामा हुने फाइनल खेल शुक्रबार साँझ साढे ५ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाउनेछ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?