+
फिफा विश्वकप २०२६ :

विश्वकपमा नयाँ इतिहास : जब मैदानमा एकसाथ उत्रिए ३ महिला रेफ्री

२०८३ असार  ५ गते २१:३९ २०८३ असार ५ गते २१:३९

जुन १८ को त्यो साँझ एटलान्टामा मैदानको बीचभागमा उभिएका टोरी पेन्सो, ब्रुक मेयो र क्याथ्रिन नेस्बिटको नाम भने विश्व फुटबलले धेरै वर्षसम्म सम्झिरहनेछ । किनभने त्यस दिन उनीहरूले केवल खेल सञ्चालन गरेनन्, सम्भावनाको नयाँ अध्याय पनि खोले ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अटलान्टा स्टेडियममा दक्षिण अफ्रिका र चेक गणतन्त्रबीचको खेल सञ्चालन गर्दै तीन महिला रेफ्रीले पुरुष विश्वकपमा इतिहास बनाएका छन् ।
  • मुख्य रेफ्री टोरी पेन्सो फ्रान्सकी स्टेफानी फ्रापार्टपछि पुरुष विश्वकपको खेल सञ्चालन गर्ने इतिहासकै दोस्रो महिला बनेकी छिन् ।
  • सहायक रेफ्रीहरू ब्रुक मेयो र क्याथ्रिन नेस्बिटसहितको टोलीले सञ्चालन गरेको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

काठमाडौं । अटलान्टा स्टेडियम । बिहीबार, जुन १८ ।

समूह ए अन्तर्गतको खेल सुरु हुन केही मिनेट मात्र बाँकी थियो । स्टेडियमका हजारौँ दर्शकको नजर मैदानतर्फ थियो ।

चेक गणतन्त्र र दक्षिण अफ्रिकाका खेलाडीहरू टनेलबाट बाहिर निस्कने तयारीमा थिए । राष्ट्रगान बज्नुअघि मैदानको माहोल क्रमशः रोमाञ्चक बन्दै गइरहेको थियो ।

विश्वकपको अर्को महत्वपूर्ण खेल सुरु हुन लागेको उत्साह वातावरणभर फैलिएको थियो ।

त्यस दिन दर्शक, सञ्चारमाध्यम र फुटबल समर्थकहरूको ध्यान केही क्षणका लागि खेलाडीहरूबाट हटेर मैदानको बीचभागतिर गयो ।

कारण थियो, त्यहाँ हातमा सिठी लिएर उभिएका तीन महिला ।

मुख्य रेफ्री टोरी पेन्सो र उनका सहायकहरू ब्रुक मेयो तथा क्याथ्रिन नेस्बिट खेल सञ्चालनका लागि मैदानमा प्रवेश गरेका थिए ।

मुख्य रेफ्री टोरी पेन्सो र उनका सहायकहरू ब्रुक मेयो तथा क्याथ्रिन नेस्बिट खेल सुरु हुनुअघि फोर्च अफिसियलसँगै

सामान्यतया रेफ्रीको आगमन ठूलो समाचार बन्दैन । तर त्यस दिन परिस्थिति बिल्कुल फरक थियो ।

खेल सुरु हुनुअघि नै मैदानमा उनीहरू देखिनासाथ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो खेललाई विशेष महत्वका साथ प्रस्तुत गर्न थाले । समाचारको केन्द्र खेलाडीलाई होइन, रेफ्री टोली थिए ।

सामाजिक सञ्जालमा उनीहरूका तस्वीरहरु फैलिन थाले । खेल सुरु हुनुअघि नै धेरै खेल पत्रकारहरूले यसलाई विश्वकप इतिहासको एउटा विशेष क्षणका रूपमा वर्णन गरिरहेका थिए ।

किन त्यति धेरै महत्व दिइयो ?

सायद, खेल र खेलाडीभन्दा धेरै त्यो क्षण ठूलो थियो ।

सामान्यतया विश्वकपमा चर्चा स्टार खेलाडीहरूको हुन्छ । कसले गोल गर्ला ? कुन टोलीले जित हात पार्ला ? वा, को अर्को चरणमा पुग्ला ? भन्ने विषयले समाचारको मुख्य स्थान ओगट्ने गर्छ ।

त्यस दिन वर्षौँको मेहनत, संघर्ष र उत्कृष्ट प्रदर्शनमार्फत फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो स्थान बनाएका ती तीन महिला ‘हाइलाइट’ भए ।

फुटबल इतिहासमा महिलाहरूले रेफ्रीका रूपमा लामो समयदेखि योगदान दिँदै आएका छन् । तर विश्वकपजस्तो प्रतियोगितामा पुरुष खेल सञ्चालन गर्ने अवसर पाउनु भने अझै दुर्लभ उपलब्धि मानिन्छ ।

त्यसमाथि एकै खेलको सम्पूर्ण अन फिल्ड रेफ्री टोली नै महिलाहरूको हुनु त झन् असाधारण घटना थियो ।

त्यसैले, यो केवल एउटा नियुक्ति थिएन । यो विश्व फुटबलमा परिवर्तनको संकेत पनि थियो ।

टोरी पेन्सो, ब्रुक मेयो र क्याथ्रिन नेस्बिटको नियुक्ति त्यही परिवर्तनको परिणाम थियो ।

उनीहरूलाई मैदानमा पठाउने निर्णय कुनै प्रतीकात्मक कदम थिएन । उनीहरूले वर्षौँदेखि घरेलु लिग, अन्तर्राष्ट्रिय प्रतियोगिता र उच्च दबाबका खेलहरूमा देखाएको दक्षताको आधारमा यो अवसर प्राप्त गरेका थिए ।

फिफा, अमेरिकी फुटबल समुदाय र विश्वभरका खेल विश्लेषकहरूले यसलाई फुटबल इतिहासको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । धेरै टिप्पणीकारहरूको भनाइ थियो, ‘यो प्रतिनिधित्वको मात्र होइन, योग्यताको पनि जित थियो ।’

यी महिला रेफ्री विश्वकपमा कसरी छानिए, चर्चा गरौं ।

टोरी पेन्सो : ११७ रेफ्रीको सूचीमा परेकी एक्ली महिला

त्यो दिन सबैभन्दा धेरै चर्चा मुख्य रेफ्री टोरी पेन्सोकै भयो । अमेरिकाको फ्लोरिडास्थित स्टुअर्टमा जन्मिएकी पेन्सोको फुटबलसँगको सम्बन्ध बाल्यकालमै सुरु भएको थियो ।

१० वर्षको उमेरमा उनले आफ्नी आमालाई आफू फुटबल खेल्न चाहेको बताएकी थिइन् । त्यही निर्णयले पछि उनको जीवनको दिशा परिवर्तन गरिदियो ।

मैदानभित्र खेलको गति बुझ्ने क्षमता, नियमको गहिरो ज्ञान र दबाबमा पनि स्पष्ट निर्णय लिन सक्ने गुणले उनलाई निरन्तर अगाडि बढायो ।

सुरुमा धेरथोरै कमाइका लागि उनले सानोतिनो खेल रेफ्री गरेको थिइन् । तर यो सानो कामले उनको जीवन नै बदलिदियो ।

द सनमा प्रकाशित लेख अनुसार उनको प्रतिभाले चाँडै ध्यान तान्यो र उनलाई टेक्सासमा ओलम्पिक डेभलपमेन्ट प्रोग्रामले आयोजना गरेको रेफ्री क्याम्पमा निमन्त्रणा प्राप्त भयो ।

त्यतिबेला टोरी आफैं फुटबल खेलिरहेकी थिइन् र विश्वविद्यालयमा मार्केटिङ विषयमा अध्ययन गरिरहेकी थिइन् । उनलाई रेफ्रिङ पूर्णकालीन करियर बन्न सक्छ भन्ने लागेकै थिएन ।

समयसँगै उनी अमेरिकाको शीर्ष प्रतियोगितादेखि फिफाका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुगिन् ।

वर्षौंको मेहनतपछि उनी सन् २०२१ मा फिफा मान्यता प्राप्त रेफ्री बनिन् ।

त्यसपछि उनले अन्तर्राष्ट्रिय फुटबलमा लगातार उत्कृष्ट प्रदर्शन गरिन् ।

सन् २०२३ महिला विश्वकपको फाइनल खेल सञ्चालन गर्ने जिम्मेवारी पाउनु उनको करियरको महत्वपूर्ण उपलब्धि थियो । उनले चार खेल सञ्चालन गरिन्, जसमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको सेमिफाइनल तथा स्पेन र इंग्ल्यान्डबीचको फाइनल पनि समावेश थियो ।

त्यसपछि उनी विश्व फुटबलकै सबैभन्दा सम्मानित रेफ्रीमध्ये एकका रूपमा स्थापित भइन् ।

टोरी पेन्सोको क्षमताले सन् २०२५ मा रङ देखायो । फिफाले क्लब विश्वकपका लागि छनोट गरेका ११७ रेफ्रीको सूचीमा समावेश हुने उनी एक्ली महिला थिइन् ।

उनको क्षमताको कदर गर्दै फिफाले उनलाई सन् २०२६ विश्वकपका लागि छनोट गर्‍यो ।

दक्षिण अफ्रिका र चेक गणतन्त्रबीचको खेल सञ्चालन गर्दै उनी पुरुष विश्वकपको खेलमा मुख्य रेफ्री बन्ने इतिहासकी दोस्रो महिला बनिन् । यसअघि यो उपलब्धि फ्रान्सकी स्टेफानी फ्रापार्टले सन् २०२२ मा हासिल गरेकी थिइन् ।

फिफाडटकमसँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘सुरुवाती दिनहरुमा अमेरिकामा कुनै पूर्णकालीन महिला रेफ्री थिएनन् । त्यसैले, मलाई यो करियरको रूपमा हेर्न गाह्रो थियो । तर मलाई लाग्थ्यो, यो केवल अस्थायी काम होइन, यसले मलाई देश र संसार चिन्न मद्दत गर्न सक्छ ।’

पछि उनले एउटा विज्ञापन एजेन्सीमा गरेको जागिर छोडेर पूर्णकालीन रेफ्री बन्ने साहसी निर्णय गरिन् ।

उनको त्यो निर्णयले सार्थकता पायो ।

फुटबलको उच्चतम स्तरमा रेफ्री बन्न केवल नियम जान्नु पर्याप्त हुँदैन । उत्कृष्ट फिटनेस, मानसिक दृढता, खेलको गहिरो बुझाइ र दबाब व्यवस्थापन गर्ने क्षमता पनि आवश्यक हुन्छ ।

पेन्सोले वर्षौँदेखि ती सबै गुण मैदानमा प्रमाणित गरिरहेकी थिइन् ।

ब्रुक मेयो : १३ वर्षको उमेरमा सिटी बजाउन थालेकी

टोरी पेन्सोसँगै इतिहास बनाउने अर्को नाम थियो, ब्रुक मेयो ।

टेक्सासको गार्‍यान्डमा हुर्किएकी मेयोले १३ वर्षको उमेरमा पहिलो पटक रेफ्रीको सिटी बजाएकी थिइन् । त्यतिबेला सुरु भएको यात्रा उनलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चसम्म ल्याइपुर्‍यायो ।

अमेरिकी फुटबल महासंघसँगको अन्तर्वार्तामा उनले विश्वकप सम्भावित लक्ष्य बनेपछि आफू पूर्ण रूपमा त्यसैमा केन्द्रित भएको बताएकी थिइन् ।

आफूले जिममा बढी समय बिताएको, फिटनेस र रिकभरीमा विशेष ध्यान दिएको तथा हरेक खेललाई सिकाइको अवसरका रूपमा लिएको उनको भनाइ थियो ।

वर्षौँको मेहनत र निरन्तरतापछि उनले विश्वकपमा इतिहास बनाउने टोलीमा स्थान सुरक्षित गरिन् ।

क्याथ्रिन नेस्बिट : फरक पृष्ठभूमिबाट विश्वकपसम्म

क्याथ्रिन नेस्बिटको कथा पनि कम रोचक छैन । उनी केवल फुटबल रेफ्री मात्र होइनन्, विज्ञानसँग पनि जोडिएकी व्यक्तित्व हुन् ।

जैविक विज्ञानको क्षेत्रमा अध्ययन र अनुसन्धान गर्दै उनले रेफ्रीको करियरलाई पनि सँगसँगै अघि बढाइन् ।

फिफाको आधिकारिक रेफ्री प्रोफाइलअनुसार नेस्बिट विश्व फुटबलमा सबैभन्दा अनुभवी सहायक रेफ्रीमध्ये एक मानिन्छिन् ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा जिम्मेवारी सम्हालिसकेकी उनले विश्वकपसम्मको यात्रा निरन्तर प्रदर्शन र अनुभवका आधारमा तय गरेकी हुन् ।

विश्व फुटबलमा स्थापित हुनुअघि नेस्बिटले जैविक विज्ञानको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको काम गरेकी थिइन् । फुटबल र विज्ञान दुई फरक क्षेत्र भए पनि दुवैले आफूलाई अनुशासन, विश्लेषण क्षमता र सटीकतामा मद्दत गरेको उनको अनुभव छ ।

अमेरिकी फुटबल महासंघले प्रकाशित गरेको उनको प्रोफाइल अनुसार नेस्बिटले विज्ञान क्षेत्रको करियरसँगै रेफ्रीको जिम्मेवारी पनि निरन्तर अगाडि बढाएकी थिइन् ।

वर्षौँसम्म घरेलु प्रतियोगिता, अन्तर्राष्ट्रिय खेल र फिफाका प्रतियोगिताहरूमा अनुभव बटुलेपछि मात्र उनी विश्वकपको मञ्चसम्म पुगेकी हुन् ।

हामी केवल महिला होइनौं, योग्य रेफ्री पनि हौं’

ब्रुक मेयोले विश्वकपअघि दिएको एउटा अभिव्यक्तिले यो उपलब्धिको अर्थ झन् स्पष्ट पार्छ ।

अमेरिकी फुटबल महासंघसँगको अन्तर्वार्तामा मेयोले आफूहरूलाई ‘महिला रेफ्री टोली’ भन्दा पनि ‘बलियो रेफ्री टोली’ को रूपमा हेर्ने बताएकी थिइन् । तर कुनै बुबाले आफ्नी छोरी प्रेरित भएको भन्दै तस्वीर माग्दा वा महिलाहरूले आफ्नो समयमा यस्तो अवसर असम्भवजस्तै रहेको बताउँदा आफूहरूले गरिरहेको कामको महत्व महसुस हुने उनको भनाइ थियो ।

विश्वकपको त्यो क्षण ब्रुक मेयोका लागि केवल अर्को खेल थिएन ।

खेलअघि उनलाई सोधिएको थियो, टनेलबाट मैदानमा निस्कँदा कस्तो महसुस हुनेछ ?

उनको उत्तर निकै भावुक थियो ।

उनले आफू अत्यन्त भावुक व्यक्ति भएको बताउँदै ठूला खेलहरूमा मैदान प्रवेश गर्दा आँसु रोक्न संघर्ष गर्नुपर्ने बताएकी थिइन् ।

अन्तर्वातामा उनले भनेकी थिइन्, ‘म आफ्ना सपना बाँचिरहेकी छु । परिवार र साथीहरू स्टेडियममा बसेर हौसला दिइरहेका छन् । यस्तो क्षणलाई म कहिल्यै सामान्य रूपमा लिन सक्दिनँ ।’

सायद त्यही कारण विश्वकपको त्यो खेल उनीहरूका लागि केवल एउटा नियुक्ति थिएन । त्यो वर्षौँको त्याग, मेहनत र सपनाको गन्तव्य थियो ।

खेलमा पनि देखियो आत्मविश्वास

इतिहास बनाउनु एउटा कुरा थियो । तर त्यससँगै खेललाई निष्पक्ष र सफल रूपमा सञ्चालन गर्नु अर्को चुनौती थियो ।

खेलका क्रममा टोरी पेन्सोले दक्षिण अफ्रिकाको पक्षमा पेनाल्टी निर्णय दिइन् । पेनाल्टी क्षेत्रभित्र भएको ह्यान्डबल घटनापछि उनले नियमअनुसार निर्णय लिइन् ।

त्यही अवसरको सदुपयोग गर्दै दक्षिण अफ्रिकाले खेलको अन्त्यतिर बराबरी गोल गर्‍यो । अन्ततः खेल १–१ को बराबरीमा सकियो । अंक बाँडियो । टोलीहरू आ–आफ्नो यात्रामा लागे  ।

तर खेलपछिको चर्चा स्कोरलाइनभन्दा धेरै इतिहासको भयो ।

तर जुन १८ को त्यो साँझ एटलान्टामा मैदानको बीचभागमा उभिएका टोरी पेन्सो, ब्रुक मेयो र क्याथ्रिन नेस्बिटको नाम भने विश्व फुटबलले धेरै वर्षसम्म सम्झिरहनेछ । किनभने त्यस दिन उनीहरूले केवल खेल सञ्चालन गरेनन्, सम्भावनाको नयाँ अध्याय पनि खोले ।

फिफा विश्वकप २०२६ महिला रेफ्री
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय