+
+

बोलिरहेछ सीताको ब्याट र बल

नमिता दाहाल नमिता दाहाल
२०७९ चैत १६ गते २०:०८

१६ जेठ, काठमाडौं । गएको जेठमा नेपाल भ्रमणमा रहेको युगाण्डासँग टी–२० शृंखलाको दोस्रो खेलमा विकेट लिएपछि सीताले एक प्रतीकात्मक शैलीमार्फत खुसी मनाइन् ।

केही समय अघिमात्र सार्वजनिक भएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को मुख्य पात्रको हाउभाउ र ‘झुकेगा नही’ डायलगका कारण त्यो शैली चर्चित थियो ।

खेलाडीहरु शब्दले व्यक्त गर्न नसकेको असन्तुष्टि प्रतीकात्मक हाउभाउमार्फत बताउने शैली अपनाउन रुचाउँछन् । विश्वव्यापी रुपमै यो परम्परा छ ।

सीताले पनि त्यो दिन त्यही गरिन् । किनभने प्रभावशाली नेतृत्व क्षमता र प्रदर्शन हुँदाहुँदै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई उपकप्तानबाट निकालेको थियो । उनलाई सायद त्यसैको इख थियो ।

बिहीबार ललितपुर मेयर कप महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा एपीएफको उपाधि यात्रामा कप्तान सीता रानामगरको अलराउण्ड प्रदर्शन उल्लेखनीय रह्यो ।

उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडी हुन् । फाइनलमा ७९ रनको शानदार पारी खेलेर प्लेयर अफ द फाइनल समेत बनिन् ।

५ खेलमा दुई अर्धशतकसहित २१४ रन र ८ विकेटको प्रदर्शन हुँदा उनी प्रतियोगिताको उत्कृष्ट ब्याटर वा बलर भइनन् । उनलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषणा गरियो ।

क्रिकेटमा सामान्यतः धेरै रन बनाउनेलाई उत्कृष्ट ब्याटर र धेरै विकेट लिनेलाई उत्कृष्ट बलरको पुरस्कार दिइन्छ । दुवैमा हकदार हुँदा पनि सीताले त्यो पुरस्कार पाइनन् । त्यसपछि सामाजिक सञ्जालबाटै उनले प्रश्न गरेकी छन्, ‘सधैं मलाई मात्रै टार्गेट किन गरिन्छ ?’

उपविजेता टिम कोशीको नेतृत्व गरेकी राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीले ५ खेलमा १३९ रन बनाएकी थिइन् । उनले उत्कृष्ट व्याटरको पुरस्कार पाइन् । कोशीकै निशा शाह ५ खेलमा ६ विकेट लिएर उत्कृष्ट बलर बनिन् । प्रदर्शनको मूल्यांकन सही तरिकाबाट नभएकोमा सीताको मन दु:खेको छ ।

प्रतियोगितामै सबैभन्दा धेरै रन बनाउने खेलाडीले उत्कृष्ट ब्याटरको पुरस्कार नपाएको यो पहिलोपल्ट हो । ललितपुर मेयर कपकै अघिल्लो संस्करणमा एपीएफकी ज्योति पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन्, उनले सर्वाधिक रनकर्ताका रुपमा उत्कृष्ट ब्याटरको पुरस्कार पनि पाइन् ।

गत माघमा इटहरीमा भएको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमकी कविता कुँवरले पनि उत्कृष्ट ब्याटर र सर्वोत्कृष्ट खेलाडीको पुरस्कार एकैपल्ट पाइन् । ज्योति र कविता दुवै तत्–तत् प्रतियोगिताको प्लेयर अफ दी फाइनलसमेत बनेका थिए ।

ललितपुर मेयर कपमा सीताको नेतृत्वमा एपीएफको ह्याट्रिक उपाधिसमेत हो ।

पछिल्लो ६ महिनामा भएका दुई प्रतियोगितामा एपीएफको प्रदर्शन राम्रो रहेन । राष्ट्रिय टिमको उपकप्तानबाट हटाइनु र घरेलु प्रतियोगितामा आफ्नो टिमको खराब लयका कारण दबावमा रहेकी सीताले यो प्रतियोगितामा शानदार प्रदर्शन गरी आफू नेपालकै उत्कृष्ट अलराउण्डर भएको पुनः प्रमाणित गरेकी छन् ।

२०७६ यता एपीएफ टिमको नेतृत्व गरी पाँच घरेलु प्रतियोगिताको उपाधि जिताएबाट उनको नेतृत्वमा पनि प्रश्न गर्ने ठाउँ रहेन ।

उनले कप्तानी पाएको वर्ष नै उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि एपीएफलाई जिताइन् । त्यसपछि २०७७ सालमा भएको प्रधानमन्त्री कप पनि एपीएफले उनकै नेतृत्वमा जित्यो । लगातार तीन संस्करण ललितपुर मेयर कपको उपाधि जित्दा उनको प्रदर्शन र कप्तानीको महत्व एपीएफले सधैं सम्झिनेछ ।

गएको कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदमा पुलिससँग ५ रनले पराजित भएपछि उपाधि जित्न चुकेको एपीएफ माघमा भएको प्रधानमन्त्री कपमा सेमिफाइनलबाटै बाहिरिएको थियो । १३ वर्षको इतिहासमा एपीएफ फाइनलमा पुग्न नसकेको त्यही प्रतियोगिता थियो ।

‘१३ वर्षको एपीएफको करिअरमा हामीले पहिलो पटक सेमिफाइनलबाटै बाहिरिनु परेको थियो । अगाडिका दुई प्रतियोगितामा लाजमर्दो भएको थियो । अहिले अलि राम्रो गर्नुपर्छ भन्ने थियो’ उनले भनिन्, ‘मैले आफूलाई प्रमाणित गरिरहेकी छु । जित्दा खुसी लाग्छ ।’

उपकप्तानबाट हटाइनुपर्दाको इख

३१ वर्षीय सीता सन् २००७ मा नेपालको ऐतिहासिक पहिलो राष्ट्रिय टिमकी सदस्य हुन् । महिला क्रिकेटको हरेक उतारचढावको साक्षी बनेकी उनको जोश मैदानमा पनि उस्तै छ । प्रदर्शनमा प्रश्न गर्ने ठाउँ छैन । उनी आफूलाई आउँदो पिंढीको लागि प्रेरणा बनेको बताउँछिन् ।

डेढ दशक लामो अन्तर्राष्ट्रिय करिअरमा उपकप्तानको पदलाई आफ्नो सम्मान ठानेकी सीता विना कारण पदच्यूत गरिएकोमा असन्तुष्ट छिन् । गत वैशाखमा पहिलोपल्ट आयोजना भएको फेयरब्रेक आमन्त्रण महिला फ्रेन्चाइज क्रिकेटमा सीताले टोर्नाडोज वुमेन टिमबाट खेलेकी थिइन् । उनको टिमले त्यो प्रतियोगिताको उपाधिसमेत जित्यो ।

त्यही बेला त्रिवि मैदानमा नेपाल र युगाण्डाबीचको टी–२० शृंखला आयोजना हुँदैथियो । फेयरब्रेकको फाइनल खेल्नुपर्ने भएकाले आफू युगाण्डासँगको पहिलो खेलमा उपस्थित हुन नसक्ने जानकारी क्रिकेट संघलाई गराएकी थिइन् । तर, क्यानले जवाफ दिनुको सट्टा उनलाई उपकप्तानबाट पदच्युत गर्ने निर्णय गरिदियो ।

‘उपकप्तानबाट हटेपछि आफूलाई प्रमाणित गर्छु भन्ने भावना आयो । उहाँहरुले मलाई योग्य ठान्नुभएन होला तर व्यक्तिगत रुपमा म आफ्नो उत्कृष्ट दिन्छु भन्ने तरिकाले खेलिरहेकी छु’, उनले अनलाइनखबरसँगको कुराकानीमा भनिन् ।

विभागीय टिममा रहेर शानदार प्रदर्शनका साथमा एक कुशल नेतृत्व पनि गरिरहेकी उनलाई राष्ट्रिय टिममा आफ्नो नेतृत्व आवश्यक नरहेको भनिन् ।

‘राष्ट्रिय टिममा नेतृत्वको कमी महसुस भएको जस्तो लाग्दैन । मैले भन्दा अझ राम्रोसँग अर्कोले गर्न सक्छ भन्ने विश्वास भएर नै क्यानले जिम्मेवारी नदिएको होला, नेतृत्वको जिम्मेवारी कसलाई दिने क्यानको हातमा हुन्छ’, उनले भनिन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?