+
+

गोरखाको पालुङटार एयरपोर्टबाट फेरि उड्ला त जहाज ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालुङटार एयरपोर्ट सन्चालनलाई आफ्नो चुनावी एजेण्डा समेत बनाएका थिए । त्यसयता पनि उनले पटक–पटकको भाषणमा एयरपोर्ट सन्चालनमा ल्याउने आश्वासन दिँदै आएका छन् ।

विकास मरहट्टा विकास मरहट्टा
२०७९ चैत १७ गते ८:२०

१७ चैत, गोरखा । गोरखा जिल्लाको पालुङटार एयरपोर्ट सन्चालनमा नआएको करिव ४३ वर्ष भयो । २०३६ सालदेखि एयरपोर्टले कुनै पनि उडान भर्न सकेको छैन । २०१७ सालबाट उडान सुरु गरेको सो एयरपोर्ट अहिले गौचरन बनेको छ ।

सो एयरपोर्टबाट दैनिक काठमाडौं, पोखरा र भरतपुर उडान हुन्थ्यो । २०२० सालमा सोही एयरपोर्टबाट जहाज चढेर भरतपुर पुगेका स्थानीय कृष्ण देवकोटा २२ रुपैयाँमा यात्रा गरेको सम्झन्छन् । ‘सुरुमा त झन् १८ रुपैयाँ तिरे पुग्थ्यो,’ उनले भने, ‘२०२३ सालबाट भाडा बढाए ।’

जब नारायण–मुग्लिन सडकखण्ड बन्यो अनि जहाज चढ्नेको संख्या घट्न थाल्यो । यात्रु नभएकै कारण २०३६ सालबाट उडान बन्द भयो । त्यसयता पालुङटार एयरपोर्टमा स्थानीयले जहाज देख्न पाएनन् । जहाज विनाको एयरपोर्ट गौचरनमा परिणत हुन थाल्यो ।

पुनः संचालन गर्ने हेतुले नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्ष अघि एयरपोर्ट स्तरोन्नतीको काम सुरु गर्‍यो । रन–वे सफा गरी ग्राभेल गरेर कम्प्याक्ट गर्न र एयरपोर्ट वरपर तारवार लगाउन काष्ठमाण्डप कन्स्ट्रक्सन प्रालिसँग तीन करोड १७ लाख ५० हजारमा ठेक्का सम्झौता भयो ।

२०७७ साल असार ३१ गते ठेक्का सम्झौता भएर काम पनि अघि बढ्यो । तर जग्गा स्वामित्वको विषयमा स्थानीयसँगको विवादले काम रोकियो । ‘विवाद भएर काम रोकिएपछि हाम्रो टोलीले फिल्ड भिजिट गर्‍यो,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘गाउँलेले रन–वे को बिचमा सडक र एयरपोर्टको जग्गामा घर बनाएको देखियो ।’

एयरपोर्ट सन्चालन भए पालुङटारलाई गोरखा, लम्जुङ र तनहुँको केन्द्रको रुपमा विकास गर्न सकिने पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन बताउँछन् ।

एयरपोर्टको आधा जग्गा अतिक्रमण भएको भन्दै उनले रन–वे ‘क्लिअर’ गरेर जग्गाको स्वामित्वबारे निर्णय नभएसम्म काम अघि नबढ्ने बताए । ‘पहिले नियमित फ्लाइट हुने ठाउँ हो, अहिले नियमित फ्लाइट नभए पनि अल्ट्रालाइट, प्याराग्लाइडिङ, स्काई डाइभिङ गर्ने ठाउँ बनाउन सकिन्छ भनेर स्तरोन्नतीको काम थालेका थियौं, विवादले गर्दा काम रोकियो,’ उनले भने । प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, नापी र मालपोत कार्यालय लगायतका सरोकारवाला बसेर विवाद मिलाउने भने पनि प्रगति हुन नसकेको उनले जानकारी दिए ।

प्राधिकरणको टोलीले गरेको अध्ययन अनुसार स्थानीय कृष्ण देवकोटाले बनाएको घर र गोठ एयरपोर्टको जग्गामा पर्छ । एयरपोर्ट स्तरोन्नतीको क्रममा तारबार लगाउन देवकोटाले अवरोध समेत गरेका थिए । आफू अन्यायमा परेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै आएका छन् । उनी भन्छन्, ‘२०२० सालमा नापी पास गरेर मेरो बुवाले लिनु भएको जग्गा हो, पोहोर नाप्न आउँदा यो जग्गामा मैले बनाएको घरगोठ सबै एयरपोर्टको नाममा परेको छ भन्नुभयो । क्षतिपूर्ति माग गर्दै एयरपोर्ट स्तरोन्नतीको क्रममा तारबार गर्न नदिएको उनी स्वयंले स्वीकार गरेका छन् ।

एयरपोर्ट सन्चालनका लागि आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताए । ‘अरु समस्या केही छैन, एउटा घर र धन्सार एयरपोर्टको जग्गामा पर्छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘जग्गा स्वामित्व विवाद मिलाउन हामी आवश्यक सहजीकरण गर्न तयार छौं ।’ एयरपोर्ट सन्चालन भए पालुङटारलाई गोरखा, लम्जुङ र तनहुँको केन्द्रको रुपमा विकास गर्न सकिने उनको भनाइ छ । सन्चालनका लागि पटक–पटक प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराइएको उनले जानकारी दिए ।

समस्याबारे प्राधिकरणले जानकारी गराएमा आवश्यक सहजीकरण गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल बताउँछन् । तर हालसम्म प्राधिकरणबाट केही जानकारी प्राप्त नभएको उनको भनाइ छ ।

उक्त एयरपोर्ट करिब १८५ रोपनी क्षेत्रफलमा फैलिएको छ । घाँस पर्याप्त भएकाले सन्चालनको समयमा पनि एयरपोर्टमा स्थानीयहरु घाँस काट्न वा गाईवस्तु चराउन जान्थे । चरनका लागि स्थानीयले एयरपोर्टलाई पैसा तिर्नुपर्थ्यो । एयरपोर्टले घाँस समेत बिक्री गर्थ्यो । जहाज उडान भर्ने र अवतरण गर्ने एयरपोर्टमा अहिले गाईवस्तु मात्र देखिन्छन् ।

एयरपोर्ट यथाशीघ्र सन्चालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालुङटार एयरपोर्ट सन्चालनलाई आफ्नो चुनावी एजेण्डा समेत बनाएका थिए । त्यसयता पनि उनले पटक–पटकको भाषणमा एयरपोर्ट सन्चालनमा ल्याउने आश्वासन दिँदै आएका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?