+
+

सुधारिएको प्रदर्शनसँगै उपाधि

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ चैत १७ गते २२:४२

१७ चैत, काठमाडौं । सुधारिएको प्रदर्शनसहित लाओसलाई २–१ गोलअन्तरले हराउँदै नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

अघिल्ला दुई खेलमा आफ्नो लय भेट्टाउन संघर्षरत नेपाल टिम शुक्रबार दशरथ रंगशालामा रक्षात्मक र आक्रामक दुवैमा प्रभावशाली देखियो ।

नियमित खेलाडीहरु विदेश पलायन हुँदा राष्ट्रिय टिममा युवा खेलाडीको आगमनले टिमको सन्तुलन विग्रिनु स्वभाविक थियो । त्यसमाथि एक महिनाअघि मात्रै प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । युवा बाहुल्य रहेको टिमले प्रतियोगिताअघि एक दिनको मात्र प्रशिक्षण समय पाएको थियो ।

८ चैतमा लाओससँग प्रतियोगिताको पहिलो खेल खेल्दा नेपालको प्रदशर्नबाट आशा गर्ने ठाउँहरु असाध्यै सीमित थिए । अनन्त तामाङ र नवयुग श्रेष्ठको दुई शानदार गोलले टिमको खराव प्रदर्शनलाई छायामा पारेको थियो । १४ चैतमा भुटानसँग त नेपाल हारबाट मुस्किलले जोगियो । दक्षिण एसियामा भुटानसँग हारको खराव कीर्तिमान टार्न प्रतियोगिताका डेब्युटेन्ट खेलाडी दीपकराज सिंह ठकुरीले अन्तिम मिनेटमा बरबरी गोल फर्काएका थिए ।

९ हजार बढी समर्थकका अगाडि घरेलु टिमको पुनरागमन जितले नवनियुक्त प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसलाई पनि राहत मिलेको छ । स्वभाविक रुपमा उनले भन्न पाएका छन्, ‘हामी एकपछि अर्को खेलमा सुधारिएका छौं ।’

फिफा विन्डोको समय पारेर अखिल नेपाल फुटबल संघ एन्फाले भुटान र लाओसलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको हो । विन्डोको समय सकिएका कारण शुक्रबारको फाइनलका कुनै पनि तथ्यांकले आधिकारिक मान्यता पाउँदैन ।

नेपालले यो खेलमा आक्रामक रणनीति लिएको थियो । सुरुमै गोल खाँदा केहि रक्षात्मक बने पनि नेपालले छिट्टै पुनरागमन गर्न सक्यो । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका आयुश घलानले फाइनलमा नेपालका लागि बराबरी गोल गरेका थिए ।

‘सुरुमै गोल गर्ने रणनीति थियो । तर, गोल खान पुग्यौं । तर, आशा राखेर खेलेका थियौं र पछि गोल निस्कियो,’ आयुशले भने ।

जित्नैपर्ने मानसिकताबाट ग्रसित भएर कमजोर टिमलाई आमन्त्रण गरेको भनेर एन्फाको चर्को आलोचना भए पनि लाओस र भुटानले नेपाललाई कडा टक्कर दिए । फेरिएको नेपाली टिम र नयाँ प्रशिक्षक एनेसका लागि पनि यो उपाधिले आगामी दिनमा मनोवल उच्च पार्नेछ ।

‘हामी लगातार राम्रो भइरहेका छौं । पहिलो खेलमा हामीले लामो बलका लागि प्रयास गरिरहेका थियौं । दोस्रो खेलमा भुटानसँग बल पोजिसन राखेर खेल्ने प्रयास गर्यौं । यद्यपी त्यो प्रभावकारी थिएन,’ प्रशिक्षक एनेसले पत्रकार सम्मेलनमा भने, ‘आजको खेलमा हामीले दवावमा राख्न सक्यौं । विशेष गरी दोस्रो हाफमा हामीले अझै राम्रो खेल्यौं ।’

भिन्सेन्ट एक महिनाअघि मात्र नेपाल आएका हुन् । १९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा ४ चैतसम्म पाँच चरणका खेल हेरेर उनले आफ्नो टिम निर्माण गरेका थिए । एनेस आफैंले धेरै कुरा बुझ्न बाँकी रहेको र आफूले पनि गल्तीहरुबाट पाठ सिक्दै अगाडि बढ्ने स्वीकारेका छन् ।

यही प्रतियोगिताबाट डेब्यू गरेका दीपकराज सिंह ठकुरी र मणि लामाले तेस्रो खेलमा सुरुवाती टिममा अवसर पाएका थिए । अघिल्ला दुई खेलमा सब्स्टिच्युड रहेका मनिष डाँगीले पनि फाइनलमा सुरुवात गरेका थिए । खेलमा तीन मिनेटको समय बाँकी रहँदा मनिषले शानदार फिनिस गर्दै नेपाललाई उपाधि दिलाए । एरिक विष्ट, आयुश घलानलगायतका युवा खेलाडीबाट प्रशिक्षक एनेस खुसी देखिए । उनले भने, ‘म मेरा खेलाडीप्रति गर्व गर्छु ।’

नेपालले आउने असार ६ देखि १८ गतेसम्म भारतमा साफ च्याम्पियनसिप खेल्दैछ । सम्भवतः अवको तयारी साफ केन्द्रित हुनेछ । तर, घरेलु फुटबलको सिजन जेठ अन्तिमसम्म चल्नेछ । ए डिभिजन लिगमा अब २१ चरणका खेलहरु बाँकी छन् । २० चैतदेखि छैटौं चरणको खेल सुरु हुँदैछ ।

प्रशिक्षक एनेसले नेपालमा व्यावसायिक फुटबलको कमी हुँदा राष्ट्रिय टिमका खेलाडीलाई विदेशमा खेल्ने वा प्रशिक्षण गर्ने अवसर आवश्यक रहेको बताए । उनले टिमको संरचना परिवर्तन गर्न सम्भव नभए धेरैभन्दा धेरै खेलाडीलाई विदेशमा एक्स्पोजर दिनुपर्ने उनको सुझाव थियो ।

‘खेलाडीको व्यावसायिक सफलताका लागि व्यावसायिक लिग खेल्नुपर्छ । यो लिगको संरचना फेर्न आवश्यक छ तर, त्यो सम्भव छैन,’ उनले थपे, ‘राम्रो उपाय के हो भने राष्ट्रिय टिमका केहि खेलाडीलाई विदेशमा खेल्ने वातावरण बनाउनुपर्छ । अन्जन, किरण, रोहितले विदेशका लिग खेले । उनीहरुले त्यहाँको प्रशिक्षण, खेल र सबैकुरा देखेका छन् ।’

प्रशिक्षक एनेसले नेपालका ए डिभिजन लिगका प्रशिक्षकहरुको प्रशिक्षण शैलीमा पनि सुधार गर्नुपर्ने आवश्यकता औल्याएका छन् । त्यसबाहेक खेलाडीको प्रशिक्षण, प्रदर्शन र आरामको सन्तुलन मिलाउनुपर्ने उनले बताए ।

लाओसका जर्मन प्रशिक्षक माइकल वाइसले हारका बाबजुद आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । ‘हाम्रा खेलाडीहरु निकै युवा छन् । उनीहरुका लागि यो राम्रो अनुभव हो । आसन्न साउथ इस्ट एसिया (सी गेम्स)का लागि यो टिमले पर्याप्त एक्स्पोजर पाएको महशुस गरेको छु,’ उनले भने ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?