+
+

पशुपतिदेखि दैलेखको पञ्चकोशीसम्म यात्रा

भरतबन्धु थापा भरतबन्धु थापा
२०७९ चैत १८ गते १८:२५

१८ चैत, काठमाडौं ।  धार्मिक तथा ऐतिहासिक रुपले महत्व बोकेको दैलेखको पञ्चकोशी तीर्थस्थललाई संघीय राजधानीसँग जोड्न भन्दै पशुपतिदेखि पञ्चकोशीसम्म यात्रा गरिएको छ ।

मनघरी फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेशका ११ जना सांसद तथा काठमाडौं, भक्तपुर र ललिपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको उपस्थितिमा यात्रा सुरु गरिएको थियो ।

पशुपतिदेखि पञ्चकोशी नाम दिइएको यस सर्किटले चारवटा प्रदेशमा रहेका महत्वपूर्ण धामहरुलाई जेड्ने विश्वास गरिएको छ ।

यस सर्किटमा बागमती प्रदेशको पशुपतिनाथ, गण्डकी प्रदेशको देवघाट लुम्बिनी प्रदेशको लुम्बिनी तथा बागेश्वरी मन्दिर र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको काँक्रेबिहार,देउती बजै मन्दिर हुँदै दैलेखको पञ्चकोशी क्षेत्र छ ।

बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दैलेखको दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको एकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमा पाइन्छ ।

जिल्लाका विभिन्न ठाउँमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन् । सदरमुकामस्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ ।

२००९ सालअघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए । राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुला भित्रको भूभागलाई दैलेख जिल्लाको सिमांकन गरिएको थियो ।

दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणा कालका पहिला प्रधान मन्त्री जंगबहादुर राणाको बाल्यकाल बितेको ठाउँ भनेर पनि चिनिन्छ । दैलेख जिल्लाले २००७ सालको क्रान्तिमा पश्चिम नेपालको लागि अग्रिमस्थान हासिल गरेको छ ।

पञ्चकोशी

धार्मिक हिसाबले दैलेख जिल्लामा अवस्थित शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वर पञ्चकोशी तीर्थस्थलका रुपले प्रख्यात छ । बैश्वानरपुराण अनुसार शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई तीर्थस्थलका रुपमा मानिएको छ भने चलन चल्तीमा कोटीलालाई समेत पञ्चकोशी तीर्थस्थलका रुपमा समावेश गरिएको छ ।

पञ्चकोशी क्षेत्रमा नित्य प्रज्वलित ज्वालाहरू अवस्थित भएकोले यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ । हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा यस क्षेत्रलाई बैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ । यस तीर्थलाई अग्नि तीर्थ भनेर पनि चिनिन्छ । प्राचीनकालका खसमल्ल राजाहरूले यस तीर्थलाई पञ्कोशी भनेर नामांकन गरी तीर्थ यात्राको थालनी गरे यता यस तीर्थको नाम पञ्चकोशी रहन गएको अनुमान छ ।

उजागर हुन नसकेको पञ्चकोशीले धार्मिक, ऐतिहासिक, पर्यटकीय र आर्थिक महत्त्वसमेत ओगटेको छ । पञ्चकोशी नेपालकै प्रचुर मात्रामा पेट्रोलियम ग्यासको सम्भाव्य क्षेत्र हो ।

२०७२ सालको चैतमा नेपाल र चीनबीच भएको द्विपक्षीय सम्झौता अनुसार यस क्षेत्रमा पेट्रोलियम ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिन बनेको परियोजनालाई नेपाल सरकारले स्वीकृत गरेको थियो ।

अब नेपाल र चिनको खानी विभागस्तरबाट यो परियोजना सञ्चालन हुँदैछ । २०७३ सालको वैशाख महिनामा चिनियाँ टोलीले पेट्रोलियम उत्खननको सम्भावना बारे प्रारम्भिक अध्यायन गरेको थियो । द्विपक्षीय सम्झौतापछि चिनियाँ टोलीले नेपाल आएर सम्भाव्य क्षेत्रका चट्टान लगायत नमुना चीनमा लगेको थियो। त्यसको रिपोर्ट आएको दुई वर्षपछि अन्वेषणका लागि तयार भएर परियोजना तयार भएको हो ।

यसैले यो क्षेत्र नेपालकै आर्थिक महत्त्व ओगटेको क्षेत्र मानिएको छ । नेपाली भाषाको उत्पत्ति स्थान जुम्लाको सिंजालाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख यसै पञ्चकोशी क्षेत्रको दुल्लुमा छ ।

अहिलेसम्मको अध्ययन अनुसार सबैभन्दा पुरानो मानिएको दामुपाल, अढईपालद्वारा शाक्य ९०३ तदनुसार वि.सं. १०३८ को शिलालेख यसै क्षेत्रमा रहेको छ । यसका साथै वि.सं. १४१४ को पृथ्वी मल्लले बनाएको सातहात लामो कीर्तिस्तम्भ पनि यसै क्षेत्रमा रहेको छ ।

यसका साथै पादुकामा रहेको अशोक चल्लको स्तम्भ शिरस्थानमा रहेको अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीरखम्बाहरूमा भएका अभिलेखहरूले नेपाली भाषा तथा पश्चिम नेपालको इतिहास केलाउनमा धेरै महत्त्व राख्दछन् । तसर्थ यो क्षेत्रलाई नेपालकै ऐतिहासिक महत्त्व बोकेको स्थानको रूपमा लिइन्छ ।

शिरस्थान

दुल्लु नगरपालिकाको रावतकोटमा अवस्थित यो मन्दिर शिरस्थान खोलाको नजीकै रहेको छ । श्रीस्वस्थानीव्रतकथा अनुसार श्री महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यस क्षेत्रमा आइपुग्दा सतीदेवीको शिर पतन भएकाले यस स्थानलाई शिरस्थान भनेर पुज्न थालिएको हो भन्ने जनविश्वास रहेको छ । यस क्षेत्रमा ज्वालाघर, कालभैरव (कालसैनी), वटुकभैरव, शिवलिंग, धर्मशाला रहेका छन् ।

ज्वालाघरमा निरन्तर बलिरहने ज्वालालाई भगवानको रूपमा पुजिंदै आएको छ । यस ज्वालालाई बडीज्वाला भनिन्छ । जुम्लाको चन्दननाथ र डोटीको बडी मालिकाको मन्दिरमा रहेको अखण्ड दीप निभेमा यहाँको ज्वालाको आगो लगेर अखण्डदीप जलाउने परम्परा हजारौं वर्षदेखि चलिआएको छ ।

नाभिस्थान

दुल्लु नगरपालिकाको गमौडीमा अवस्थित यो मन्दिर नाभिस्थान खोला नजिकै छ । श्रीस्वस्थानीव्रतकथा अनुसार श्री महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यस क्षेत्रमा आइपुग्दा सतीदेवीको नाभि पतन भएकाले यस स्थानलाई नाभिस्थान भनेर पुज्न थालिएको हो भन्ने जनविश्वास छ ।

शिरस्थानमा जस्तै दुई वटा ज्वाला रहेका छन् यहाँ । जसलाई ब्रह्मज्वाला र ईन्द्रज्वाला भन्ने गरिन्छ । यस क्षेत्रमा भैरव मन्दिर, शिव मन्दिर, मन्साथ मन्दिरका साथै प्रसिद्ध स्वामीको रुख छ । सय वर्ष भन्दा पनि जेठो समीको रुख नाभिस्थानको आकर्षण मध्ये एक हो ।

धुलेश्वर

दुल्लु नगरपालिकाको बडलम्जीमा अवस्थित तेह्रौं शताब्दीमा निर्माण गरिएको धुलेश्वर मन्दिरमा प्रत्येक औंसी, पूर्णिमा र संक्रान्तिमा धुले उड्ने भएकाले धुलेश्वर भनिएको भन्ने जनविश्वास रहेको छ । यति मात्र नभएर सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यस क्षेत्रमा आइपुग्दा सतीदेवीको अंगको धुलो पतन भएकाले यसस्थानलाई धुलेश्वर भनेर पुज्न थालीको हो भन्ने जनविश्वास छ ।

यस क्षेत्रमा उमामहेश्वरको मूर्ति, शिवलिंग, बसाहको मूर्ति, गर्भगृहमा अग्निकुण्ड, भैरवको मन्दिर धर्मशाला छ । सधैं नित्य पूजा अर्चाना हुने गरेता पनि विशेष गरी दशैं र चैतेदशैंका समयमा पूजा आजा गर्ने चलन छ ।

पादुका

दुल्लु नगरपालिकाका पादुकामा चौधौं शताब्दीकाे पालाका मूर्तिहरु छन् । श्रीस्वस्थानीव्रतकथा अनुसार सतीदेवीको पाउ खसेर पतन भएकाले यसस्थानलाई पादुका भनेर पुज्न थालिएको हो भन्ने जनविश्वास छ । यस क्षेत्रमा केही दशक अघिसम्म अनवरत रुपमा ज्वाला बल्ने गर्दथ्यो । पादुका खोलमा बाढी आएर बगाएपछि यो क्षेत्रमा ज्वाला बलेको छैन । खुल्ला आकाशमा यत्रतत्र छरिएर रहेका मूर्तिहरु घाम र पानीबाट बचाउन मुस्किल छ ।

पादुका क्षेत्रमा मन्दिर छैन र मूर्तिहरु खुल्ला रुपमा रहेको छ । मन्दिर क्षेत्रमा शिव, भैरव, गोरखनाथ, बुद्ध, जैन, लक्ष्मीनारायण, गणेश, मछेन्द्रनाथ, शिवलिंगलगायतका मूर्तिहरु छ्न् । यी मूर्तिहरु खूल्ला आकाशमा रहेका कारण दिन प्रतिदिन घाम र पानीले क्षति गर्दै गएको छ । जेठ महिनाको पहिलो मगलबार र बडादशैंमा भैरव मन्दिरमा बलिसहित पूजा गर्ने श्रावण पूर्णिमामा शिवजीलाई खीर चढाउने, बडादशैंको घटस्थापनादेखि दशमीसम्म अखण्ड धुनी बाल्ने माघ पूर्णिमाका दिनमा लिंगो फेर्ने तथा शिवरात्रिको दिनमा विशेष पूजाआजा गर्ने चलन छ ।

पादुकामा रहेको अशोक चल्लकालीन सउना कार्की र कक्र्यानीको देवल दैलेखमा भएका अभिलेखहरु मध्य सबैभन्दा पुरानो अभिलेख मानिन्छ । सिजा साम्राज्यका सम्राट अशोक चल्लाको समयमा यसस्थानमा भगवान बुद्धको पूजा प्राथना तथा वन्दाना गरी सउना कार्की र साउनका कक्र्यानीले धर्मस्तम्भ राख्न लगाएको थिए । सम्राट अशोक चल्लको समेत नाम उल्लेख गरिएको यस स्तम्भको स्थापना १३१२ सालदेखि १३४५ सालको बीचमा भएको देखिन्छ ।

सिद्धेश्वर महादेव, तल्लो डुंगेश्वर

डुंगेश्वर गाउँपालिकाको नाउँले कटुवालमा अवस्थित कर्णाली राजमार्गसँगै जोडिएका छ सिद्धेश्वर महादेव । कर्णाली नदी र लोहेर नदीको संगमस्थलमा रहेको सिद्धेश्वर महादेव मन्दिर बाहेक कालिका भगवती, गणेशजी , भैरव कालशैनी, बटुक भैरवलगायत विभिन्न देवी देवताको मन्दिर छन् यहाँ । मन्दिर परिसरमा रहेको धुनी घरमा नाभिस्थान ज्वालाबाट अग्नी ल्याई धुनी प्रज्ज्वलित गर्ने चलन छ । यदि धुनी निभेमा यस क्षेत्रमा अनिष्ट हुने, खडेरी पर्ने तथा अनिकाल र भोकमरी हुने भन्ने जनविश्वास छ ।       

लेखकको बारेमा
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?