
१८ चैत, झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्याएको छ ।
हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
‘हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ’, उनले भने, ‘स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।’
झापाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकबाट जानकारी आएको उनले बताए ।
कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर अनुगमन भइरहेको छ ।
कनकाईसँगै भद्रपुर, बिर्तामोडलगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति गरेको छ । असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ । तरकारी खेती गर्ने कृषि फार्महरूमा लगाइएको तरकारी धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । झापामा यो वर्ष करिब ४० हजार हेक्टरमा मकैखेती लगाइएको छ । मकैबालीमा बढी क्षति पुगेको प्रमुख विष्टले बताए ।
जिल्लामा हावाहुरीले बिजुलीको पोल, घर तथा विद्यालयको टिनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया 4