+
+

विराटनगरमा अशोक राईले भने : केन्द्र र प्रदेशमा फरक गठबन्धन हुन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १७:४२

१९ चैत, विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेशमा सरकारलाई समर्थन दिने वा नदिने प्रदेशस्तरमै निर्णय हुने संकेत गरेका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रदेश छुट्टै अस्तित्व भएको निकाय भएका कारण केन्द्रले निर्णय नगर्ने संकेत गरेका हुन् ।

‘प्रदेश भनेको छुट्टै आफ्नो अस्तित्व भएको सरकार हो नि, आफ्नो छुट्टै अस्तित्व भएको निकाय हो’, उनले भने,‘ स्थानीय तहको सरकारमा फरक ढंगको गठबन्धन होला, प्रदेशमा फरक ढंगको गठबन्धन होला, केन्द्रमा फरक ढंगबाट होला, यो केन्द्रको मातहतको इकाई त होइन नि ।’

जसपा संघीय परिषद् अध्यक्षसमेत रहेका उनले प्रदेशको आफ्नै किसिमको आवश्यकताले अगाडि बढ्ने उनले बताए  ।

कोशी प्रदेशसभामा ९३ सदस्य छन् र बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । हाल एमाले नेतृत्वको सरकार छ र एमालेसँग ४०, उसलाई समर्थन गरेको राप्रपाको ६ सांसद छन् ।

केन्द्रमा काङ्ग्रेस, माओेवादी केन्द्र नेकपा एकीकृत समाजवादी, जसपासहितको नयाँ समीकरण बनेको छ । नयाँ समीकरण बनेपनि कोशी प्रदेशमा माओवादी र जसपाले सरकार छाडेका छैनन् । माओवादी सरकारबाट बाहिरिए पनि जसपा र राप्रपाको समर्थन कायम रहे कार्की नेतृत्वको सरकारलाई बहुमत पुग्छ ।

कोशीमा काङ्ग्रेसका २९ माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका ४ जना सांसद छन् ।

मन्त्री राईले पहिचान पक्षधरको आन्दोलनलाई सरकारले वार्ता मार्फत समाधान गर्नुपर्ने बताए । ‘लोकतन्त्रमा अधिकारका निम्ति शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाइन्छ, सरकारको निर्णयलाई सबैले शिरोधार्य गरेर हिँड्नपर्छ भन्ने कुरा हुँदैन’, उनले भने,‘ लोकतन्त्रमा आफ्नो असहमति जनाउन पाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?