+
+

अनमोलको निर्णय कुर्दै पूजा, राखिन् ‘जेरी-२’ अघि नै सुटिङमा जानुपर्ने सर्त

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १६:२१

काठमाडौं । अनमोल केसीलाई शीर्ष भूमिकामा साइन गराउँदै अभिनेत्री तथा निर्मात्री पूजा शर्माले केही महिनाअघि भनेकी थिइन्, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, यसलाई म हरसम्भव मेहनत गरेर ग्रान्ड बनाउँछु ।’ १० लाख रुपैयाँ साइनिङ अमाउन्ट बुझेपछिको तस्वीरमा अनमोल पनि हर्षित देखिएका थिए ।

‘छड्के २’ को छायांकनपछि यो फिल्मको काम सुरु गर्ने दुईपक्षबीच सहमति भएको थियो । ‘छड्के २’ पूर्णतः बक्स अफिसमा असफल भएको डेढ महिना पुग्न लागेको छ । चैतको अन्त्य हुन लागिसक्दा पनि प्रोजेक्ट छायांकन हुने सुरसार छैन । यो फिल्ममा अनमोल स्वयं हुन्छन् या हुँदैनन् भन्ने कुराको अन्योल सुरु भएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै पूजाले केही दिनअघिको मिटिङको व्यहोरा बताएकी छन् । जसअनुसार अनमोलको अर्को फिल्म ‘जेरी अन टप’को सुटिङअघि नै यो फिल्म छायांकनमा जानुपर्ने सर्त उनको छ । पूजाको यो सर्तमा अनमोलले विचार गर्न तीन दिन मागे । तर त्यो समय बितिसक्दा पनि अनमोलले यसबारे जवाफ दिएका छैनन् । यो डेटलाइनले पूजाको बेचैनी बढाएको देखिन्छ ।

सुटिङमा ढिलाइ भएपछि पूजाले अनमोलको जवाफ मागेकी हुन् । ‘उहाँहरुले समय दिन सक्नुभएको छैन । उसले भ्याउँदैन भने अर्को हिरो राख्छु भनेको छु । किनभने यो फिल्मका लागि बडी चेन्ज गर्नुपर्ने हुन्छ । हिंड्न पनि सिक्नुपर्ने हुन्छ । यो सबथोक सिक्नलाई तीन महिना चाहिन्छ,’ पूजाले भनिन् ।

आफूले गम्भीर ढंगले फिल्म करिअरलाई अघि बढाउन खोजेको पूजा बताउँछिन् । ‘उसले भनेको अमाउन्ट तिरेका छौं । जेरी फ्लोरमा गएपछि आएर जाने भन्ने हुँदैन । उहाँले टाइम दिन सक्नुभएन भने अर्कै हिरो राख्छौं । यो फिल्मकै लागि भनेर बाहिरबाट स्क्रिप्ट गरेका छौं,’ उनले भनिन् ।

अनमोलले यसबीचमा होम प्रोजेक्ट ‘माइतीघर २’ गर्ने पनि चर्चा छ तर यसको टुंगो अझै छैन । खासगरी ‘छड्के २’ फ्लप भएपछि अनमोलसामु गम्भीर भएर प्रोजेक्ट गर्नुपर्ने बाध्यता पनि छ । अर्कोतर्फ रेखा थापासँग पूजाको आगामी फिल्म वैशाख २० गतेदेखि छायांकनमा जाने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?