+
+

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते ६:००

२१ चैत, काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले आजको दिन तोकिदिएको हो ।

तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

कहाँ को उम्मेदवार ?

चितवन क्षेत्र नम्बर २ मा १२ स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको छ । तर रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यसअघि गत मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका रविको सांसद पद नागरिकता विवादका कारण सर्वोच्चले खारेज गरिदिएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

तनहुँ क्षेत्र नम्बर १ मा नौ जनाको उम्मेदवारी दर्ता भएको छ । चर्चामा भने नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले छन् ।

बारा क्षेत्र नम्बर २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर मुख्य गरी नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीबीच  प्रतिस्पर्धा हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?