+
+

ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइजका प्रशिक्षक हुमागाईंले छाडे क्लब

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते ८:२७

२२ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले क्लब छाडेका छन् ।

नेपाली मुलका अमेरिकन नागरिक रहेका हुमागाईँले नेपालमा काम गर्न वर्क परमिट (श्रम स्वीकृति) नपाएपछि क्लब छाडेका हुन् ।

हुनत लिगको छैटौं चरणसम्म आइपुग्दा पनि उनले वर्क परमिटविना नै क्लबसँग काम गरिरहेका थिए ।लिगअघिको प्रि म्याच कन्फ्रेन्समा उपस्थित भएका उनी लिगको दौरानमा भने पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका थिएनन् ।

मोफसलका गोल्डकपमा भने उनले क्लबसँग काम गरेका थिए । चर्च ब्वाइजले जीतपुर सिमरा गोल्डकपको उपाधि जित्दा उनी उत्कृष्ट प्रशिक्षकसमेत घोषित भएका थिए ।

तर लिगमा काम गर्न वर्क परमिट अनिवार्य भएकोले हुमागाईँले बुधबार बिहान सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखेर क्लब छाडेको जानकारी गराएका हुन् । उनले खेलकुद प्रदर्शन मात्र नभइ नियमको पालनासमेत भनेका छन् ।

हुमागाईंले फेसबुकमा लेखेका छन्, ‘नेपाली फुटबल खेलप्रतिको अगाध माया र यसको सुदृढीकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केही समयदेखि जन्मभूमिमै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिए तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लब छोडेको जानकारी गराउन चाहान्छु ।’

नेपाली खेल मैदानमा सँगै जोडिन नपाउँदा खल्लो महसुस भएको बताउँदै उनले अघि लेखेका छन्, ‘मेरो मन, मस्तिष्क र हृदयभरी नेपाली फुटबलको उज्जवल भविष्य र सफलता सधै रहिरहेको र रहिरहनेछ । जय नेपाली फुटवल ।’

बी डिभिजनको च्याम्पियन बन्दै ए डिभिजनमा उक्लेको चर्च ब्वाइजले शीर्ष श्रेणीको डेब्यु सिजनमै नाम चलेका खेलाडीहरु अन्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट जस्ता स्टारलाई अनुबन्ध गरेको छ ।

६ खेल खेल्दा अपराजित रहेको चर्च ब्वाइज तीन जीत र तीन बराबरीबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?