+
+

यूएई पनि विश्वकप छनोटमा, यी हुन् विश्वकप छनोट खेल्न टुंगो लागेका ९ टोली

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १०:१६

२२ चैत, काठमाडौं । जिम्बावेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्रिकेट छनोट खेल्ने ९ टोलीको टुङ्गो लागेको छ ।

नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट अमेरिकासँगै यूएईले पनि विश्वकप छनोटमा स्थान पक्का गरेको हो ।

क्वालिफायर प्लेअफमा मंगलबारको दुई खेलको नतिजापछि यूएईले ओडीआई मान्यता बचाउनुका साथै विश्वकप छनोटमा पनि स्थान पक्का गरेको हो ।

अमेरिकाले ५ मध्ये ४ खेल जितेर ८ अंक जोड्दै शीर्ष स्थान रहेर विश्वकप छनोटमा स्थान बनायो । यस्तै नामिबियाले अन्तिम खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ । एक खेल खेल्न बाँकी हुँदा यूएईको पनि ६ अंक नै छ । हाल यूएई तेस्रोमा छ बुधबार जर्सीसँग अन्तिम खेल खेल्दैछ । उक्त खेलमा हारेपनि यूएईलाई असर गर्ने छैन ।

तर प्रतियोगिताको नियमअनुसार दुई टिमको अंक बराबर भएमा हेड टु हेड हेरिनेछ । यस्तोमा यूएईले यसअघि नै नामिबयालाई पराजित गरिसकेको छ । त्यसैले अमेरिका र यूएई क्वालिफायर प्लेअफबाट शीर्ष दुईमा रहेर विश्वकप छनोटमा पुगेको हो ।

लिग टु बाटै ओडीआई मान्यता जोगाएको नामिबिया भने अभागी बन्दै विश्वकप छनोटमा पुग्न सकेन । नामिबियाले अब अर्को लिग टु खेल्नेछ । लिग टु मा अन्तिम दुईमा रहेपनि यूएईको ओडीआई धरापमा परेको थियो तर प्लेअफबाट यूएईले ओडीआई मान्यता जोगउँदा पपुवा न्यु गिनीले भने ओडीआई मान्यता गुमायो ।

क्वालिफायर प्लेअफमा पपुवा न्युगिनीले चारवटै खेलमा पराजित भइसकेको छ । अब क्यानडासँग बुधबार हुने खेल पपुवा न्यु गिनीका लागि ओडीआई मान्यता गुमाउनुअघि अन्तिम ओडीआई खेल हुनेछ ।

यी हुन् विश्वकप छनोट खेल्ने निश्चित भएका ९ टोली

आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपमा लागि जिम्बावेमा जुन-जुलाईमा विश्वकप छनोट हुँदैछ । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष २ टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् ।

जिम्बावेमा विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागिसकेको छ ।

सुपर लिगको पुछारका पाँच टिम श्रीलंका, वेष्ट इन्डिज, जिम्बावे र नेदरल्याण्ड्स (एक टिम टुङ्गो लाग्न बाँकी), लिग टु को शीर्ष तीन टिम स्कटल्याण्ड, ओमान र नेपाल तथा क्वालिफायर प्लेअफबाट अमेरिका र यूएईले विश्वकप छनोट खेल्नेछन् ।

अब एक टिमको टुङ्गो लाग्न बाँकी छ ।

सुपर लिग खेलिरहेका दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिमले सिधै विश्वकपमा स्थान बनाउनेछ भने एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।

दक्षिण अफ्रिका विश्वकप सिधै खेल्ने होडमा अघि छ । सुपर लिगमा सबै खेल खेलिसकेको दक्षिण अफ्रिका ९८ अंकसहित आठौं स्थानमा छ । आयरल्याण्डले बंगलादेशसँग तीन खेल खेल्न बाँकी छ र हाल ६८ अंक छ । आयरल्याण्डले सबै खेल जितेमा दक्षिण अफ्रिका समान अंक बराबरी हुनेछ र यस्तो हेड टु हेड र रनरेट निर्णायक हुनेछ ।

यदि आयरल्याण्डले बंगलादेशसँग एक मात्र खेल हारेमा पनि दक्षिण अफ्रिका सिधै विश्वकपमा पुग्नेछ ।

यसपटक चार टेष्ट राष्ट्रले पनि विश्वकप छनोट खेल्नुपर्ने भएको छ । जसमा दुई पूर्वच्याम्पियन वेष्ट इन्डिज र श्रीलंकासमेत छन् । यस्तै आयोजक जिम्बावे लगातार दोस्रो पटक विश्वकप छनोट खेल्दैछ । अब यसमा एक टेष्ट टिम थपिनेछ ।

यसपटक नेपालले पूर्व विश्वविजेतामध्ये एक टिमसँग खेल्ने लगभग पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?