+
+

निकुञ्ज आसपासका सर्वसाधारण वन्यजन्तुबाट हैरान

सुरेश बिडारी सुरेश बिडारी
२०७९ चैत २२ गते १९:४८

२२ चैत, वीरगञ्ज । चैत १५ गते राति पर्सा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको पाटेबाघले ठोरी गाउँपालिका–४ मानेचोकका नविन तामाङको गोठमा ५ माउ बाख्रा र २ वटा खसी मारिदियो । तामाङले चाल पाएर होहल्ला गरेर गाउँलेहरु जम्मा भए । सबैले डाङडाङ–डुङडुङ गरेपछि बाघ राति १ बजे गोठबाट निस्केर जंगलतिर लम्कियो ।

त्यसअघि चैत ७ गते राति ठोरी–४ घ्याङडाँडामा मिकमार लामाको गोठमा पसेको पाटेबाघले एउटा पाडा र ५ वटा बाख्रा मारिदियो । पाडा कराएपछि गोठमा बाघ पसेको चाल पाएका लामा दम्पतीले होहल्ला गर्दा जम्मा भएका गाउँलेहरुले बाघलाई धपाउने कोसिस गरे, गोठबाट निकाल्न सकेनन् ।

गाउँलेहरुले राति नै नेपाली सेना, सशस्त्र प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीलाई समेत बोलाए । बिहान ४ बजे बल्ल बाघ गोठबाट निस्केर जंगलतर्फ लाग्यो । नविन र मिकमारको गोठमा पसेको बाघ एउटै थियो, जसलाई चैत २२ गते हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षणको टोलीले डार्ट (बेहोस पार्ने गोली) हानेर नियन्त्रणमा लिई आधाभारस्थित वन्यजन्तु उपचार केन्द्रमा राखिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले बताए ।

चैत ८ गते बिहान ७ बजेतिर पर्सा निकुञ्जबाट गाउँ पसेको चितुवाले पोखरिया नगरपालिका–५, सतवरियामा शंकर साह रौनियारको रित्तो गोठमा पसेको थियो । त्यो चितुवाले हरिन्द्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी हवल्दार सचिन्द्र प्रसाद यादवलाई घाइते बनायो ।

पछि राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीलाई बोलाएर डार्ट हानेर चितुवालाई निकुञ्जमा छोडियो ।

यी प्रतिनिधि घटना हुन् । पर्सामा जंगलबाट बस्ती छिरेर वन्यजन्तुले आतंक मच्चाउने घटना बर्सेनि बढ्दै गएको छ । वन्यजन्तुले अन्नबाली नष्ट गर्ने, वस्तुभाउ मार्ने, मानिसलाई आक्रमण गर्छ । वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु समेत हुने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट जंगली हात्ती, बाघ, चितुवा, बँदेल लगायत जनावर बस्ती पसेर हैरान पार्ने गरेका छन् । घरगोठ भत्काउने, बालीनाली खाइदिने, गोठ रित्याउने मात्रै हैन, मानिसलाई समेत आक्रमण गर्छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा यस्ता ७२३ घटना भएका छन् । जसमा २२ जनाको मृत्यु, २४ जना सख्त घाइते र २९ जना सामान्य घाइते भए । भण्डारण गरेको अन्न क्षतिका घटना ८ वटा, २६ वटा घरगोठ क्षति र ४४८ वटा बालीमा क्षतिको घटना भए ।

पर्सा राष्ट्रिय निकुञ्जमा यस्ता १६७ वटा घटना भएका छन् । जसमा ५ जनाको मृत्यु, ३ जना सख्त घाइते भए । भण्डारण गरेको अन्नको क्षतिका १६, घरगोठ क्षतिका २८ र अन्नबाली क्षतिको ७२ वटा घटना भए । निकुञ्ज आसपासका गाउँहरुमा जंगली जनावरलाई धपाउन गाउँलेहरु रातभर अनिदो बस्नु सामान्य कुरा भएको छ ।

जंगली जनावारले क्षति पुर्‍याउँदा निकुञ्जले क्षतिपूर्ति त दिने गरेको छ । निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन,२०७५) बमोजिम राहत उपलब्ध गराउने गरेको छ ।

बाख्राको १० हजार रुपैयाँसम्म र पाडाको ३० हजारसम्म क्षतिपूर्ति दिन सक्ने व्यवस्था निर्देशिकामा छ । त्यसका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदनसहित घटनास्थल मुचुल्का, वडा र उपभोक्ता समितिको सिफारिस निकुञ्जको कार्यालयमा पेश गर्नुपर्छ ।

वन्यजन्तु नियन्त्रणको फितलो प्रयास

पर्सामा निर्मलठोरी मध्यवर्ती वन उपभोक्ता समिति अन्तर्गत ७ वटा वन उपभोक्ता समूह छन् । ती सामुदायिक वन क्षेत्रबाट हात्तीलाई बस्ती पस्न नदिन विभिन्न ठाउँमा जडान गरिएका सोलार फेन्स मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ ।

सरस्वती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, वनशक्ति मध्यवर्ती साममुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा ४–४ किलोमिटर क्षेत्रमा सोलार फेन्स जडान गरिएको छ । त्यस्तै शिकारीबास, रामबुद्ध र बेधघारी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा २–२ किलोमिटर क्षेत्रमा सोलार फेन्स जडान गरिएको छ । सरस्वती र शिकारीबास वन समूहबाहेक अन्य क्षेत्रका सोलार फेन्स काम नलाग्ने भइसकेको छ ।

निर्मल ठोरी मध्यवर्ती वन समितिका अध्यक्ष बालकुमार बस्नेतका अनुसार सोलार फेन्सले २–३ वर्ष राम्रोसँग काम गर्छ । दिउँसो करेन्ट नछोडिने भएकोले गाईबस्तु, हात्ती र कतिपय मानिसले पनि तार चुँडाइदिन्छन् ।

‘वन समूह सक्रिय भएको ठाउँमा तार जोगिएको छ, अन्यत्र काम नलाग्ने भएको छ’, बस्नेत भन्छन्, ‘बजेट अभावमा नियमित मर्मतसम्भार र ब्याट्री फेर्ने काम हुन सकेको छैन ।’

कुसुमबाटिका वन समिति अन्र्तगत पुल्चोक, फारलाइन, देउराली र सुन्दरटोल सामुदायिक वन समूहको क्षेत्रमा लगाइएका ८ किलोमिटर सोलार फेन्स जीर्ण भएको छ । मर्मतसम्भारका लागि न निकुञ्जले पैसा दिन्छ न त पालिकाले ।
वन समितिसँग बजेट नभएकोले चाहेर पनि मर्मत गर्न सक्ने अवस्था नरहेको कुसुम बाटिका वन समितिका अध्यक्ष वुद्धलाल पाख्रिन बताउँछन् । ‘निकुञ्जले सोलार फेन्स लगाएपछि हात्तीले दुःख दिन कम भएको थियो, तर बजेट नपाएर मर्मत गर्न सकिएको छैन । पालिकामा गएर कराएको २ वर्ष भयो, चासो दिएको छैन ।’

दिगो समाधानको पहल छैन

निकुञ्ज आसपासका क्षेत्रमा मानव–वन्यजन्तुबीच द्वन्द्व निरन्तर छ । यो समस्याको दिगो समाधानका लागि निकुञ्ज गम्भीर नभएको सरोकारवालाहरु बताउँछन् ।

‘पर्सा राष्ट्रिय निकुञ्ज वन्यजन्तुमा धनी छ, यो राम्रो कुरा हो । वन्यजन्तुको संरक्षणसँगै जनताको जिउधनको पनि सुरक्षा हुनपर्ने हो’, कुसुम वाटिका वन समितिका अध्यक्ष पाख्रिन भन्छन्, ‘यहाँ तारबार वा आरसीसी वाल नै आवश्यक भइसकेको छ । निकुञ्जलाई बारम्बार आग्रह गरिसकेका छौं, हुन्छ मात्र भन्छ । दिगो समाधानमा चासो दिएको जस्तो लाग्दैन ।’

ठोरी–४ का वडा अध्यक्ष मानबहादुर थिङ जंगली जनावर बस्ती पसेर हैरान पार्ने गरेको बताउँछन् । ‘बालीनाली, वस्तुभाउमा क्षति हुँदा निकुञ्जले क्षतिपूर्ति त दिन्छ, तर कहिलेकाहीँ मानिस नै आक्रमणमा परेर मृत्युका घटना पनि हुन्छन् । त्यस्तो बेलामा राहत वा क्षतिपूर्तिको नाममा दिने १० लाखको के अर्थ हुन्छ र !’

निकुञ्ज र वन क्षेत्रमा वडा वा पालिकाले पहल गर्ने बाहेक केही गर्न नसक्ने उनी बताउँछन् ।

मांसाहारी वन्यजन्तुले एक पटक जंगल बाहिरको आहार खाएपछि निरन्तर बाहिरै निस्कन खोज्छन् । त्यस्ता वन्यजन्तुलाई नियन्त्रणमा लिन पनि सहज हुँदैन । पर्सा निकुञ्जका सूचना अधिकारी सूर्य खड्का जंगलबाट निस्केका बाघ, चितुवा र हात्तीलाई नियन्त्रणमा लिन कठिन हुने बताउँछन् ।

उनका अनुसार, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ छन् । तीमध्ये कुन बाघ बस्तीमा पस्छ भनेर निर्क्यौल गर्न गाह्रो हुने बताउँदै उनी भन्छन्, ‘मानवीय क्षति नहोस् भनेर सबै पक्ष सतर्क हुनुपर्छ । बन्यजस्तु आउँदा तुरुन्त निकुञ्जलाई खबर गर्नुपर्छ ।’

निकुञ्जको सम्पूर्ण क्षेत्रमा तारबार लगाउन ठूलो खर्च लाग्ने उनको भनाइ छ । वन्यजन्तुबाट बढी प्रभावित क्षेत्रमा आवश्यकता अनुसार निकुञ्जले सोलार फेन्स, मेस जाली लगाउने जस्ता कार्य गरिरहेको उनको दावी छ ।
एक वर्षमा १५ करोड राहत वितरण

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व, अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा संकुचन भएर वन्यजन्तु बस्ती पस्ने गरेका हुन् ।

यसले गर्दा संरक्षित क्षेत्र र वरपरका स्थानमा वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । हात्ती, बाघ, गैंडा, चितुवा, भालु, बाँदर लगायत वन्यजन्तु र मानवबीच द्वन्द्व हुने गरेको छ । यस्तो द्वन्द्व एक टड्कारो समस्याको रुपमा देखा परेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०७९/८० मा मानव वन्यजन्तु द्वन्द्वका १ सय ७२ वटा घटनामा ३८ लाख २८ हजार ८ सय ५४ क्षतिपूर्ति दिएको छ । निकुञ्जका अनुसार हात्तीको आक्रमणबाट मृत्यु भएका २ जनालाई १०–१० लाखको दरले क्षतिपूर्ति दिइएको छ ।

वन्यजन्तुको आक्रमणबाट सख्त घाइते भएका ३ जनालाई ३ लाख ४४ हजार ८५४ रुपैयाँ, ३० वटा पशुधन क्षति भएकोमा ४ लाख ४९ हजार, भण्डारण गरेको अन्न क्षति पुगेको एउटा घटनामा ७ हजार, घरगोठमा क्षतिका ११ वटा घटनामा ८४ हजार र अन्न बालीमा क्षति भएका १२५ घटनामा ९ लाख ४४ हजार राहत तथा क्षतिपूर्ति दिइएको छ ।

विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७८÷७९ मा नेपालभरि वन्यजन्तुको आक्रमणबाट ५८ जनाको मृत्यु, ११६ जना सख्त घाइते र ७२ जना सामान्य घाइते भएका छन् । वन्यजन्तुबाट क्षति भएको १२ हजार ६७२ घटना दर्ता भएका छन् । क्षतिको राहत सहयोग निर्देशिका बमोजिम १५ करोड ५८ लाख २ हजार ४६८ रुपैयाँ बराबरको राहत रकम वितरण गरिएको विभागले जनाएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?