+
+

पर्यटनमा आशा जगाउँदै पोखरामा फेवा नव वर्ष महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १४:३५

२२ चैत, पोखरा। कोरोना माहामारीपछि लय फर्किन लागेको पोखराको पर्यटन व्यवसाय फेरि अप्ठेरो परिस्थितिमा गुज्रिएको व्यवसायीहरुको गुनासो छ ।

पछिल्लो समय आर्थिक मन्दी र बैंकको किस्ता तथा ब्याज तिर्न पनि सकस परिरहेको पोखराका होटल व्यवसायीले पनि बताइरहेका छन् ।

पर्यटकको स्वागतमा जागिरहने पोखरामा पर्यटकको आवागमन पनि न्युन भइरहेकाले नेपाली नयाँ वर्षसँगै यो अवस्था नरहने विश्वास व्यवसायीको छ ।

नेपाली नयाँ वर्षकै अवसरमा होटल संघ पोखराले फेवा नव वर्ष महोत्सव गर्दैछ । यो महोत्सवले पोखराका होटल कम्तिमा पनि ५० प्रतिशत भरिने र अन्य व्यवसायलाई राहत मिल्ने भन्दै व्यवसायी हौसिएका छन् ।

चैत २९ गतेबाट ३ दिने १८ औं फेवा नव वर्ष महोत्सवका रुपमा पोखराले उत्सवका रुपमा मनाउने होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीको भनाइ छ । नयाँ वर्षसँगै पर्यटन व्यवसायमा नयाँ उत्साह थप्ने सुवेदीले विश्वास व्यक्त गरे ।

‘भइराखेका पर्यटकको बसाइँ लम्ब्याउने र जति सक्दो धेरै पर्यटक बोलाउँदै नव वर्ष महोत्सव गर्दैछौं । शून्यता छाइरहेको र थला परेको पर्यटन व्यवसायलाई राहत मिल्ने गरी धेरै आन्तरिक पर्यटक आउने अपेक्षा राखेका छौं,’ सुवेदीले भने । महोत्सवका बेला भइरहेको दररेटमा २० प्रतिशत छुट दिने आयोजकले जनाएको छ ।

पोखरा-६ लेकसाइडको २ किलोमिटर सडकमा महोत्सवका निम्ति सवारी साधन पनि आवागनम रोकेर कार्यक्रम गरिँदै छ ।

महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने संघको भनाइ छ ।

‘लेकसाइडका २ किलोमिटर सडकमा विभिन्न परम्परागत तथा आधुनिक खानाका परिकार रहने छन् । प्रत्येक चौताराहरुमा गन्धर्वका सारंगीदेखि अधुनिक पप कन्सर्टसम्म हुने छन् । विभिन्न झाँकी प्रस्तुत गरिने छ,’ सुवेदीले भने, ‘पोखरा गुल्जार हुने विश्वास लिएका छौं ।’

पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा पनि नपर्ने, राहत र पुनरुत्थानका कार्यक्रम पनि नल्याउने गर्दा व्यवसायी मर्कामा परेको होटल संघका महासचिव राजेन्द्र ढकालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?