
२२ चैत, काठमाडौं । राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीहरुका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।
कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका अधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।
धेरैजसो कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरण समेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय कितावखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए ।
‘निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको हो’ महानिर्देशक पाण्डेले भने ।
उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको पाइएको छ । धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकेले यस्तो सूचना जारी गरिएको किताबखानाको भनाइ छ ।
विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयम् कागजातसहित पुल्चोकस्थित कार्यालयमा विवरण अद्यावधिक गर्न सकिने कितावखानाले जनाएको छ । हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब ७ हजार कर्मचारीहरु कार्यरत रहेका छन् ।
यसअघि किताबखानाले सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गरीसकेको छ । संघीय निजामती सेवा एन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अधावधिक गर्न लाग्नुलाई महत्वपूर्णरुपमा हेरिएको छ ।
प्रतिक्रिया 4