+
+

एसियाडको तयारी शून्य

‘नवौं राष्ट्रिय खेलकुद र निर्वाचनपछिको समयमा राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने निर्णय गरिराख्दा हामीसँग समन्वय नगरी बजेट रोक्का भयो । अहिले सीमित मात्रामा निकाशा भएको छ’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ चैत २४ गते ८:२२

२४ चैत, काठमाडौं । नेपालले बृहत मात्रामा सहभागिता जनाउन पाउने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसियाली खेलकुद हो । १९औं संस्करणको प्रतियोगिता आउने असोजमा चीनमा आयोजना हुँदैछ ।

सहभागितालाई सार्थक बनाउन नेपालको तयारी भने निकै सुस्त छ । खेलकुदमा लगानीको औचित्य नबुझ्ने राज्य र बुझाउन नसक्ने खेल नेतृत्वका कारण यसपल्ट पनि एसियाली खेलकुदमा पदकको आशा ‘भगवान भरोसा’मै सीमित हुनुपर्ने अवस्था आउन लागेको छ ।

गएको ९ वैशाखमा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)बोर्ड बैठकले एसियाली खेलकुदमा २३ खेलका १५० हाराहारीमा खेलाडी समावेश गर्ने निर्णय गरेको थियो ।

प्रतियोगिता गत भदौ–असोजमै हुनुपर्ने थियो । कोरोना महामारीको कारण देखाएर आयोजक चीन र एसियाली ओलम्पिक कमिटी (ओसीए)ले एक वर्ष सार्ने निर्णय गरेको हो । चीनको होंझोउ शहरमा असोज ६ देखि २१ सम्म १९औं एसियाली खेलकुद हुँदैछ ।

नेपालले एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । दुई राजत र २२ कांस्य पदक जितेको छ । तर, पछिल्लो तीन संस्करण हेर्ने हो भने नेपाल मुस्किलले एक–एक पदकमा समेटिएको छ । चार वर्षअघि इण्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा पहिलोपल्ट समावेश प्याराग्लाइडिङले रजत जितेर पदकको खडेरी टारिदिएको थियो । त्यसअघि २०१४ मा करातेकी विमला तामाङ र २०१० मा बक्सिङका दीपक महर्जनले कांस्य पदक जितेका थिए । यी पदकहरु देशको प्राथमिकताबाट भन्दा पनि खेलाडीको क्षमताले जितिएको थियो ।

नेपालले सन् १९५१ देखि सुरु भएको एसियाली खेलकुदको पहिलो संस्करणदेखि नै सहभागिता जनाउन थालेको हो । सन् १९८६ को सियोल एसियाडदेखि नेपालले पदक जित्न थालेको हो । त्यसयता नेपालको प्रदर्शन लगातार खस्कँदो छ । स्तरबृद्धिका लागि विशेष तयारी र लगानी हुन सकेको छैन ।

एसियाली खेलकुदका लागि ५ महिनाको तयारी समय बाँकी छ । नेपालले प्रतियोगितालक्षित तयारी अहिलेसम्म सुरु गरेको छैन । गत वैशाखदेखि असारसँग एसियाली खेलकुदका लागि भनेर पहिलो चरणको छनोट र ४० दिनको विशेष तयारी प्रशिक्षण सुरु भएको थियो । साउनदेखि घरेलु प्रतियोगितामा केन्द्रित हुनु, कात्तिकमा नवौं राष्ट्रिय खेलकुद र मंसिरमा प्रदेश र संघको निर्वाचनका कारण एसियाडको तयारी नभएको राखेप बताउँछ । माघ अन्तिमदेखि सुरु गर्ने तयारी भएको प्रशिक्षण सरकारले बजेट रोक्का गरिदिँदा सञ्चालन गर्न नसकिएको राखेप सदस्यसचिव टंकलाल घिसिङले बताए ।

दीपक श्रेष्ठ

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका करातेका प्रशिक्षक दीपक श्रेष्ठलाई अहिलेसम्म तयारी सुरु हुन नसकेको देख्दा यसपल्ट पनि झुक्किएर आएको पदकमै चित्त बुझाउने अवस्था आउँछ कि जस्तो लागेको छ ।

एसियाली खेलकुदका लागि भनेर कराते महासंघले खेलाडी छनोट गरी ४८ जनालाई अनौपचारिक प्रशिक्षण सुरु गरेको छ । राखेपको राष्ट्रिय टिम तयारी शाखा प्रमुख महेन्द्र राईले अहिलेसम्म करातेबाहेक कुनै पनि टिमको राष्ट्रिय छनोट नभएको जानकारी दिए । नेपालले यसपल्ट २३ खेल समावेश गर्ने निर्णय गरेको छ ।

‘एसियन गेम्स धेरै नै प्रतिस्पर्धात्मक भइसकेको छ । कराते, तेक्वान्दोजस्ता मार्शल आर्टका खेलमा एसिया नै पावर हाउस हो,’ करातेका सागमा दुई स्वर्ण विजेता दीपकले अनलाइनखबरसँग भने, ‘विगतदेखि अहिलेसम्मको तुलना गर्ने हो भने हाम्रो विकास दर धेरै नै सुस्त छ । केहि समय अघिसम्म हामीले सहजै हराएका देशहरु अहिले नयाँ शक्तिका रुपमा उदाएका छन् ।’

सरकारले एसियाडको तयारी खर्च दिएन

आर्थिक मितव्ययीतताका लागि भन्दै सरकारले माघयता सबै मन्त्रालयको बजेट रोक्ने निर्णय गरेको छ । एसियाली खेलकुदको तयारीका लागि सरकारले चालू आर्थिक वर्षमा विनियोजन गरेको १० करोड रुपैयाँ पनि त्यसमा परेसँगै राखेपले माघ २५ गतेदेखि राष्ट्रिय टिम तयारीको योजना प्रभावित भएको हो ।

बजेटको मध्यावधी समीक्षा (पुस मसान्त)पछि अर्थ मन्त्रालयले रातो किताबमा उल्लेख भए पनि दायित्व सृजना भइनसकेका र कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका नबनिसकेका कार्यक्रमहरु अघि बढाउन आफूसँग पूर्व स्वीकृति लिनुपर्ने भन्दै परिपत्र गरेको थियो ।

राखेप नेतृत्वका अनुसार उनीहरुले माघ २५ देखि प्रशिक्षण योजना बनाएर बजेट निकाशाका लागि पत्राचार गर्दामात्र बजेट कटौती भएको थाहा पाएका थिए । सदस्यसचिव टंकलाल घिसिङले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा समन्वय गरी २ करोड रुपैयाँ निकाशा गरिएको र त्यसबाट एसियाडका लागि प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको बताए ।

‘नवौं राष्ट्रिय खेलकुद र निर्वाचनपछिको समयमा राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने निर्णय गरिराख्दा हामीसँग समन्वय नगरी बजेट रोक्का भयो । अहिले सीमित मात्रामा निकाशा भएको छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको तयारीका लागि भनेर राखेपले गत वर्ष हाइ पफर्मेन्स कमिटी बनाएको थियो । यसअघि एसियाडका लागि सञ्चालित ४० दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको कमिटीले आसन्न प्रतियोगिताका लागि टिम तयारीमा भइरहेको ढिलाइले आफूहरुको प्रशिक्षण योजना नै असर पर्नसक्ने चिन्ता ब्यक्त गरेको छ ।

‘विडम्बना भनेकै खेलकुदलाई राज्यले बुझिदिएन । खेलकुद भनेको घर वा भवन निर्माण गर्दा आवश्यक निश्चित लगानीजस्तो होइन । यो एउटा लामो प्रक्रियाको प्रतिफल हो,’ कमिटीका प्रवक्ता हिमालराज दाहालले भने, ‘एसियाडका लागि राष्ट्रिय टिमको प्रशिक्षण ढिला भइसकेको छ । हामीले वैशाखसम्म पनि टिम तयारी सुरु गर्न सकेनौं भने प्रशिक्षण योजनामै असर पर्छ ।’

उनका अनुसार निरन्तरता दिन नसक्दा यसअघिको प्रशिक्षणको औचित्य नै सकिने अवस्था हुन लागेको छ । स्तरीय र नियमित प्रशिक्षण नहुँदा खेलाडीका लागि अत्यावश्यक स्ट्रेन्थ र इण्डोरेन्स स्तर खस्कँदै जान्छ । त्यसलाई पुरानै अवस्थामा ल्याउन लामो समय लाग्छ । त्यसबाहेक प्राविधिक स्तरबृद्धि र एक्स्पोजरको आवश्यकता पनि उत्तिकै रहन्छ ।

प्रवक्ता दाहालले बजेटकै कारण अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयारीमा सम्झौता गर्न नसकिनेसमेत प्रष्ट पारे । ‘बजेट पुग्दैन भन्दैमा हामीले निश्चित मापदण्डलाई तलमाथि गरेर प्रशिक्षण सञ्चालन गर्न हुँदैन । यो भनेको लामो समयको तयारी हो । बजेट व्यवस्थापन गर्ने काम राखेप र मन्त्रालयको हो । तर, प्रशिक्षण नतिजाका लागि गरिन्छ । नतिजा नआउने प्रशिक्षण गरेर के अर्थ रह्यो र ।’

हाइ पफर्मेन्स कमिटीले गत जेठ असारमा सन्चालन गरिएको ४० दिने प्रशिक्षणमा सहभागीमध्ये ८० प्रतिशत खेलाडीले निरन्तरता पाउने अपेक्षा गरेको छ । यद्यपी सम्बन्धित संघहरुले टिम छनोट गर्न बाँकी नै छ । प्रशिक्षण कार्यक्रम निरन्तरता नहुने भए पनि त्यतिबेला लिइएको फिजिकल फिटनेस परीक्षणले भने निरन्तरता पाउने प्रवक्ता दाहालले जनाए । पर्याप्त तयारी र एक्स्पोजर नहुँदा अवश्य पनि खेलाडीको आत्मविश्वासमा असर पर्छ । व्यवसायिक खेलाडीहरुले आफ्नो नियमित प्रशिक्षण र फिटनेस कायम राखिरहेका छन् । तर, ठूला प्रतियोगिताका लागि उनीहरुलाई विशेष ख्यालको आवश्यकता रहन्छ ।

एसियाडको रणनीतिक तयारी निरन्तर छ : सदस्यसचिव

टंकलाल घिसिङले राखेप सदस्यसचिवको जिम्मेवारी लिँदै गर्दा एसियाली खेलकुद आफ्नो प्राथमिकतामा रहने बताएका थिए । प्रतियोगिताको पाँच महिना समय बाँकी रहँदा एकमुष्ट तयारी सञ्चालन हुन नसके पनि आफूहरु रणनीतिक तयारीमा लामो समयदेखि नै रहेको उनको दावी छ ।

बक्सिङ, महिला भलिबल, महिला फुटबल, एथ्लेटिक्स, कराते, तेक्वान्दो, गल्फ लगायतका रणनीतिक खेलहरु अन्तर्राष्ट्रिय क्यालेण्डरमा व्यस्त रहेको र खेलाडीको प्रशिक्षण निरन्तर भइरहेको सदस्यसचिवले बताए । ‘यो पनि त एसियाड कै तयारीको एउटा हिस्सा हो नि,’ घिसिङले अनलाइनखबरसँग भने ।

उनले विशेष तयारीका लागि राखेप जिम्मेवार रहेको प्रतिवद्धता व्यक्त गरे । रणनीतिक महत्वका खेलहरुका लागि स्तरीय विदेशी प्रशिक्षक झिकाउने, खेलाडीलाई विदेशमा प्रशिक्षणका लागि पठाउने र स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाएर एक्स्पोजर दिलाउने विषयमा सम्बन्धित खेल संघहरुसँग सहकार्य र समन्वय भइरहेको उनले जनाए ।

नीतिगत रुपमा संघहरुसँग समस्या भए पनि त्यसको असर राष्ट्रिय खेलाडीको प्रशिक्षण, एक्स्पोजर र सहभागितामा पर्न नदिन राखेप सचेत रहेकोसमेत सदस्यसचिवको बताए ।

‘हामी परम्परागत रुपमा एकीकृत र एकमुस्ट रुपमा प्रशिक्षण सुरु गर्ने भनेर कार्यक्रम सुरु गर्न गइरहेका छैनौं,’ सदस्यसचिव घिसिङ भन्छन्, ‘कतिपय खेलहरुको अहिले भइरहेकै छ । केहि खेलहरु तयारीमा छन् । वैशाख पहिलो सातादेखि बाँकी सबै खेलहरुको प्रशिक्षण सुरु भइसक्छ ।’

सुरुवातमा २ करोड विनियोजन भए पनि तयारी सुरु गर्दैगर्दा थप बजेट निकाशा हुनेमा राखेप आशावादी छ । थप निकाशा नभएको अवस्थामा श्रोत व्यवस्थापन गरेर भए पनि तयारीमा थप असर पर्न नदिने सदस्यसचिवले बताए । उनका अनुसार राष्ट्रिय खेलाडी र उनीहरुको प्रशिक्षणलाई हाइ पफर्मेन्स कमिटीले पनि निगरानी गरिरहेको छ । गल्फका सुवास तामाङ, बक्सिङकी सुष्मा तामाङ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाललगायतका व्यावसायिक खेलाडीहरुले एसियाड तयारी सुरु गरिसकेको बताए ।

‘सरकारले खेलकुदमा लगानीको महत्व कहिल्यै बुझेन’
सुशील नरसिंह राणा, खेल विज्ञ

२/४ महिनाको तयारीमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने सरकारदेखि लिएर सबैको संस्कार नै भइसकेको छ । सरकारलाई पनि के हतारो छ र ! भन्ने भएको होला । राखेपले पनि राम्रोसँग बुझाउन नसकेको होला
एसियन गेम्स भनेको नेपाल खेलाडीका लागि पदकको सम्भावना भएको सबैं भन्दा ठूलो प्रतियोगिता हो । विगतमा हामीले धेरै सफलता हासिल गरेका छौं । तर, त्यो गम्भीर भएर गरिएको तयारीको प्रतिफल थिएन । साँच्चै गम्भीर भएर लाग्ने हो भने एसियाली खेलकुदमा कतिपय खेलले धेरै नै राम्रो प्रदर्शन गर्न सक्छ । पदक नआए पनि हामीले आफ्नो क्षमता प्रदर्शन गर्ने ठूलो माध्यम हो– एसियाली खेलकुद । यो प्रतियोगिता हाम्रो खेलाडीले सहजै सहभागिता जनाउन सक्ने प्रतियोगिता पनि हो ।

एसिया मार्शलआर्ट लगायत धेरै खेलहरुको पावर हाउससमेत हो । विश्वस्तरीय खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ । यति राम्रो माध्यमलाई हामीले ख्यालठट्टामा सहभागी हुन हुँदैन ।

हामी सधैं पैसाको मात्र भजन गाउन पनि हुँदैन जस्तो लाग्छ । किनभने खेलकुद भनेको एउटा बृहत संस्था हो । यहाँ प्राधिविकि देखि आफ्नै प्रशासनिक यन्त्र छ । लामो समयदेखि यसले आफ्नो काम गरिरहेको छ । नेतृत्व जो आए पनि अप्ठेरो अवस्था हुँदैन ।

विभागीय तथा व्यावसायिक खेलाडीहरुले आफ्नो प्रशिक्षणलाई धेरै हदसम्म नियमित गरिरहेका छन् । उनीहरुलाई प्रेरणा दिने हिसावले पनि अगाडि बढ्न सकिन्छ । हामी बन्द प्रशिक्षण राख्न सक्दैनौं भने न्यूनतम रुपमा कतिसम्म सहयोग गर्न सक्छौं भनेर हेर्नुपर्छ । सरकारबाट पर्याप्त बजेट नआउन्जेलसम्म खेलाडीलाई एक समयको डाइट सहयोग गर्न सकिन्छ कि ।

यसको नतिजाले भविष्यमा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभाव पार्नेछ । दक्षिण एसियाली क्षेत्रमा हामी दोस्रो हुनसक्छौं । भारतले एसियाली खेलकुदमा यसपल्ट चीनलाई टक्कर दिनसक्छन् । उनीहरु धेरै माथिल्लो वरीयतामा पुगिसकेका छन् । यसपाली भारतले पदकको संख्या एक सय पार गर्ने लक्ष्य राखेको छ । उनीहरुबाट पनि हामीले धेरै सिक्नुपर्छ ।

यस्ता प्रतियोगिताहरुलाई गम्भीरतापूर्वक लिनुपर्छ । चार वर्षको अन्तरमा हुने एसियाली खेलकुदका लागि तयारीमा पर्याप्त समय मिल्छ । सरकारले प्राथमिकतामा राखेन भन्दैमा खेलकुद क्षेत्र चुप लागेर बस्न मिल्दैन । खेल संघहरुलाई सक्रिय बनाउँ । बजेट नआउन्जेल राष्ट्रिय टिमको तयारी सम्बिन्धत संघलाई नै जिम्मा दिउँ । खेलकुदको नतिजा भनेको एउटा लामो प्रक्रिया हो । आजको भोलि हुने कुरा होइन । संघहरुले आआफ्ना खेलाडी पहिचान गरी प्रशिक्षकहरुलाई उनीहरुको हेरचाहको जिम्मेबारी दिन धेरै बजेट चाहिन्छजस्तो पनि लाग्दैन । संघलाई नै जिम्मेबारीबोध गराएर अगाडि बढ्न प्रेरित गर्नुपर्छ । राखेपलाई टेर्दैन भने त्यो संघमा अड्केर बसेर कहिल्यै माथि पुगिँदैन । ट्राभल एजेन्टको मात्र भूमिका रहने हो भने त्यसलाई किन राख्नुपर्यो । कसैलाई गाली गरेर मात्र हुँदैन । आफ्नो अभिभावकको भूमिका पनि निभाउनुपर्छ ।

कुरा गर्ने हो भने सबैजनाको उद्देश्य र लक्ष्य एउटै छ । सबैलाई अन्तर्राष्ट्रिय पदक ल्याउनु छ । खेलकुदमा रहेका सबैले आफ्नो जिम्मेवारी बोध गर्नुपर्छ । यस्तो अवसर चार वर्षपछि मात्र आउँछ । यसलाई उपयोग गर्न सकिएन भने हामी पछाडि धकेलिन्छौं ।

सबैभन्दा ठूलो कुरा हामीले गल्ती कहाँ गछौं भने हामी धेरै पदक केन्द्रित छौं । त्यसरी सोच्ने हो भने हामीले कहिल्यै सफलता पाउँदैनौं । पदक जित्ने भनेको सबैभन्दा उपल्लो सफलता हो । त्यसअघि हामीले प्रदर्शनकेन्द्रित हुनुपर्छ । प्रदर्शन विगतमा हाम्रो कस्तो थियो अहिले कस्तो छ भनेर तुलना गरौं न । पदकभन्दा मूल्यवान कुरा प्रदर्शन हो ।

कुनै पनि कुराको प्रगति भनेको मेडलले देखाउने होइन, प्रदर्शनले देखाउने हो । हामी वरीयतामा एकैपल्ट शीर्ष स्थानमा पुग्न सक्दैनौं । त्यसका लागि चरणवद्ध प्रक्रिया लिनुपर्छ । त्यो भनेको सुधारात्मक प्रदर्शनबाट मात्र सम्भव छ । यो कुरा राज्य र खेलकुदका सरोकारवालाले बुझ्नुपर्छ । सरकारले कहिल्यै खेलकुदमा लगानीको महत्व बुझेको छैन । यस्तो ठाउँमा व्यवसायिक मान्छेहरुले गएर बुझाउन सक्नुपर्छ ।

त्यसरी बजेट नपाएको भनेर प्रशिक्षणलाई नै असर पार्ने गल्ती गर्नुहुन्न । चुप लागेर बस्ने हो भने उपलब्धी केहि हुँदैन । तर, थोरै बजेट पाएका छौं भने प्राथमिकता निर्धारण गर्नुपर्छ । एसियाली खेलकुदमा २५ खेल छन् भने सबैबाट पदकको आशा त छैन । त्यसो हो भने हामीसँग भएका पदकको आशा राख्न सकने खेललाई प्राथमिकतामा राखेर त्यो २ करोडबाट सुरुवात गरौं । सरकारले बजेट निकाशा गर्दै जाला त्यसपछि क्रमशः सुरु गर्न सकिन्छ ।

एसियाली खेलकुदमा नेपाल सहभागी हुने खेल

एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथोलन, उसु, आर्चरी, बास्केटबल, महिला कवड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेवलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?