+
+
अग्रपथ :

‘पोष्ट-ट्रुथ’ मनोदशा, ‘स्टकहोम सिन्ड्रम’ र ‘विवेकतन्त्र’को औचित्य

लोकतन्त्रले हामीलाई ‘अविवेकी’ हुने छुट र स्वतन्त्रता दिन्छ तर लोकतन्त्रमा विवेकतन्त्रको अभाव भयो भने हामीलाई भड्खालोमा जानबाट कसैले पनि जोगाउन सक्दैन ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ चैत २६ गते १०:१८

‘पोष्ट-टु्रथ’ लाई नेपालीमा शायद ‘सत्योत्तर’ भन्न सकिन्छ । भनिन्छ- अंग्रेजीमा यो पदावली सबैभन्दा पहिले सन् १९९२ मा एक सर्वियाली-अमेरिकी नाटककार तथा पटकथाकार स्टोजन स्टिभ टेसिचले प्रयोग गरेका थिए ।

त्यसको पृष्ठभूमि भने ‘खाडी युद्ध’ थियो । त्यसमा उनले वाटरगेट र कन्ट्रा-विद्रोही काण्डको प्रसंग जोडेका थिए । सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरी इराकको १९औं प्रान्त घोषणा गरेपछि अमेरिकी राष्ट्रपति जर्ज बुसलाई इराक विरुद्ध आक्रमण गर्ने निहुँ चाहिएको थियो । त्यसका लागि इराकमा घातक रासायनिक हतियार छन् भन्ने भाष्य तयार गरियो र त्यसको विश्वव्यापी प्रचार हुन थाल्यो, जो प्रकारान्तरले इराक युद्धको कारण बन्यो । युद्धले सद्दाम हुुसेन र बाथ शासनको पतन भयो तर रासायनिक हतियार कहिल्यै फेला परेन ।

शासनकालको अन्त्यपछि राष्ट्रपति जर्ज डब्लु बुसले स्वीकार गरेका थिए- ‘रासायनिक हतियार नभेटिएकोमा लज्जित छु तर सद्दाम हुसेनको निरंकुश शासनको अन्त्य जरूरी थियो, त्यसका लागि गौरवान्वित छु ।’

यस पृष्ठभूमिभित्र एक गहिरो रहस्य, मनोदशा छ जसले ‘सत्योत्तर’ धारणालाई ‘सत्य’ सावित गर्ने प्रयत्न गर्दछ । कुनै इच्छित नतिजा निकाल्न झुट बोलियो, गलत भाष्य बनाइयो, अनुचित प्रचारबाजी गरियो भने पनि त्यो सही हुन्छ भन्ने । एउटै कुरा एकसाथ ‘लज्जित हुने’ र ‘गौरवान्वित हुने’ कारण बन्न सक्दछ भन्ने ।

सन् २०१६ सम्म पनि यो पदावलीले अक्सफोर्ड शब्दकोशमा स्थान पाएको थिएन । सन् २०१६ मा भएका ‘ब्रेक्जिट’ र ‘ट्रम्प अभियान’ का क्रममा संचारमाध्यमले यसको यति धेरै प्रयोग गरे कि शब्दकोशमा राख्न अक्सफोर्ड बाध्य भयो । शब्दकोशले ‘पोष्ट-टु्रथ’ को अर्थ यसरी लगाएको छ- ‘त्यस्तो अवस्था जहाँ वस्तुगत तथ्यहरू भावना र वैयक्तिक विश्वासको तुलनामा सार्वजनिक दृष्टिकोण आकारित गर्न कम प्रभावकारी हुन्छन् ।’

स्टिभ टेसिचले सन् १९९२ को आफ्नो एक निबन्धमा यसरी उल्लेख गरेका थिए- ‘हामी स्वतन्त्र जनता स्वतन्त्रतापूर्वक यो निर्णय गर्न स्वतन्त्र छौं कि हामी ‘सत्योत्तर’ विश्वमा बाँच्न चाहन्छौं ।’

‘स्टकहोम सिन्ड्रम’ भने एक आपराधिक घटना बैंक डकैती र अपहरणसँग जोडिएर बनेको शब्द हो । नेपालीमा संभवतः यसलाई ‘पीडकप्रेम’ वा ‘पीडकमोह’ भन्न सकिन्छ । स्टकहोम स्वीडेनको राजधानी शहरको नाम हो । स्टकहोमको क्रेडिट बैंकका ४ कर्मचारीलाई सन् १९७३ को अगष्ट २३ देखि २८ सम्म ६ दिन जन-इरिक ओल्सन नामका व्यक्तिले अपहरण गरी बन्दी बनाएका थिए । जब बन्दी मुक्त भए, ओल्सन पक्राउ परे, उनलाई जेल लगियो । अदालतमा मुद्दा चल्दा ४ मध्ये कुनै पनि बैंक कर्मचारीले ओल्सन विरुद्ध बयान दिन मानेनन् । ती कर्मचारी बरु उल्टै ओल्सनलाई फलफूल र अन्य उपहार लिएर जेलमा भेट्न जान्थे । फलतः ओल्सनको अपराध प्रमाणित भएन र उनी जेल मुक्त भए ।

ती ४ बैंक कर्मचारीको भनाइ थियो, ‘६ दिन अपहरण गर्‍यो त के भयो, ओल्सन असाध्यै भलाद्मी मान्छे थियो, उसले हामीसँग कुनै दुव्र्यवहार गरेन । बरु सधैं हाम्रो खाना, स्वास्थ्य र आत्मसम्मानलाई ध्यान दियो ।’ अर्थात् यस घटनामा अपहरित (पीडित) हरूमै अपहर्ता (पीडक) प्रति सद्भावको भावना पैदा भयो, जसले गर्दा दिनदहाडै भएको बैंक डकैतीको घटना समेत अदालतमा प्रमाणित हुन सकेन र ओल्सनले कुनै सजाय पाएन । मनोचिकित्सक निल्स बेजरोटले यो घटनाको सारलाई ‘स्टकहोम सिन्ड्रोम’ को नाम दिए ।

‘स्टकहोम सिन्ड्रोम’ लाई पुष्टि गर्ने एक बेजोडको हिन्दी सिनेमा छ- हाइवे । निर्देशक इम्तियाज अलीले ‘स्टकहोम सिन्ड्रोम’ को थिममा साँच्चै गज्जबको सिनेमा बनाएका छन् । ‘हाइवे’ मा नायिका बीरा त्रिपाठी (आलिया भट्ट) लाई महावीर भाटी (रणदीप होन्डा) ले अपहरण गर्दछ । तर, उनीहरूबीच यस्ता घटनाक्रम आउँछन्, अन्ततः बीरा आफैंलाई अपहरण गर्ने महावीरलाई प्रेम गर्न थाल्छे ।

लोकतन्त्रको साटो ‘विवेकतन्त्र’ शब्दको प्रयोग गर्न भने केही वर्ष अघि मलाई एक मित्र नरोत्तम पाण्डेले सुझाएका थिए । उनको तर्क थियो-‘लोकतन्त्र मात्र भन्दा हामी भीडतन्त्रतिर गयौं, त्यसलाई अब हामी विवेकतन्त्र भन्न थालौं ।’ उनले यो पदावली कहाँबाट किन र कसरी टिपे, थाहा भएन । तर, आफ्ना तर्कहरू बडो शक्तिशाली ढंगले राखेका थिए । उनका तर्कहरू सुनेर केहीबेर म अवाक् भएको थिएँ । नभन्दै नेपाली राजनीतिमा ‘विवेकशील’ नामको दल नै आयो ।

एकपटक मैले उज्ज्वल थापालाई सोधेको थिएँ, पार्टीको नाम ‘विवेकशील’ राख्ने सोच कसरी आयो ? यो नाम मलाई अनौठो लागेको थियो । राजनीतिक दलको नाम सामान्यतः यस्तो राखिंदैन, कसरी उनमा यो सोच आयो ? भन्ने जिज्ञासा व्यापक थियो ।

एक- हरेक अस्तित्वलाई वस्तुगत यथार्थमा हेर्ने प्रयत्न गर्नु । दुई- हरेक परिघटनालाई निश्चित मानकबाट हेर्नु । तीन- वस्तुगत यथार्थले, मानकले जे भन्छ, त्यो स्वीकार गर्नु, त्यससँग नमिलेका कुराका लागि, दोहोरो मापदण्ड र पाखण्डका लागि लज्जित हुनु, गल्ती स्वीकार गर्नुलाई लज्जाको हैन, गौरवको विषय बनाउनु

उनले- ‘लोकतन्त्र सफल हुन दुई तत्व अनिवार्य छन् भन्ने मेरो विश्वास हो- एउटा सामूहिकता र अर्को विवेक । समग्रमा ‘सामूहिक विवेक’ । सामूहिकता सहभागिताबाट आउँछ, तसर्थ लोकतन्त्र प्रतिनिधिमूलक नभएर सहभागितामूलक हुनुपर्दछ । अर्को कुरा समूहमा विवेक हुनुपर्दछ, विवेकहीन बहुमत हैन । विवेक विनाको समूह भीडतन्त्र हो, समूह विनाको विवेक एक्लो हुन्छ । राजनीतिक दलको मुख्य काम नै समूहमा विवेक जगाउनु हो । मान्छेलाई विवेकशील बन्न प्रेरित गर्नु हो । तसर्थ पार्टीको नाम नै विवेकशील राखेको’ यसो भन्दै फिस्स हाँसेका थिए ।

मलाई उनका तर्कहरू मित्र नरोत्तम पाण्डेका झैं गज्जबका लागेका थिए । सानो उमेरमै यस्तो गहिरो सोच राख्ने उज्ज्वल थापा छोटो उमेरमै बितेर गए ।

हामीले ‘वैकल्पिक राजनीति’ को कुरा गर्न थालेको १५ वर्ष बितेछ । तर, आज यसभित्रका अभ्यास कति विवेकतन्त्रमा आधारित थिए, कति ‘सत्योत्तर’ थिए र कति स्टकहोम सिन्ड्रोमबाट प्रभावित थिए, त्यसको भिन्नै विश्लेषण गर्नुपर्ने भएको छ ।

उज्ज्वल थापाले भन्न खोजेको ‘सामूहिक विवेक’ को अर्थ शायद अंग्रेजीको ‘ट्रु मास कन्ससनेस’ हो । यो कुनै नयाँ अवधारणा भने हैन, दार्शनिक तथा बौद्धिक बहसमा यो कुरा लामो समयदेखि थियो । यदि कम्युनिस्टहरूका वैचारिक गुरु कार्ल माक्र्सको कुरा गर्ने हो भने उनको विचारको सार नै ‘गलत सचेतना’ (फल्स कन्ससनेस) विरुद्धको संघर्ष जस्तो लाग्दछ । ‘तथ्यबाट सत्य पत्ता लगाउनुपर्छ, सत्य तीतो छ भने पनि स्वीकार गर्नुपर्दछ, आफूले गलत गरिंदैछ भने आत्मालोचना गर्नुपर्दछ’ भन्ने कुरा कुनै बेला त्यो धारको आधारभूत मान्यतामध्ये एक थियो ।

‘सत्योत्तर’ उत्तरआधुनिक युगको एक स्वाभाविक विशेषता हो भन्ने पनि कतिपयको धारणा हुन्छ । तर अक्सर विश्लेषकहरू यो तर्कमा सहमत छैनन् । सत्योत्तर कुनै युग, ‘पोष्ट-ट्रुथ इरा’ नभएर ‘एक मानसिक स्थिति, एक मनोदशा’ हो, जसको अर्थ हुन्छ- ‘तिम्रा ज्ञान-विज्ञान, तिम्रो सत्य तिमीसँगै राख, मलाई के मतलब, मेरा लागि मलाई जे मन पर्छ, म जेमा विश्वास गर्छु त्यही सत्य हो । आफूलाई मन परेको वा मनमा लागेको सत्यका लागि म जे पनि बोल्न, भन्न सक्छु, त्यो मेरो स्वतन्त्रता हो ।’

कम्तीमा बुस महोदय ‘लज्जित’ र ‘गौरवान्वित’ साथसाथ भएका थिए, तर आज सार्वजनिक रूपमा झुट बोलेबापत लज्जित हुनु नपर्ने सत्योत्तरताको कडा ‘भेरियन्ट’ संक्रमित हुँदै गएको छ । कोही प्रधानमन्त्रीको कुर्सीमा बसेर ‘अम्बाको पातको गार्गिलले कोरोना निको हुन्छ’ भन्दा न लज्जित हुनुपर्दछ न आत्मालोचित । कोही सांसद भन्दैछ- ‘गाईको गहुँतमा संसारका सबै ब्याक्टेरिया मार्न सक्ने क्षमता छ भन्ने कुरा नासाले प्रमाणित गरिसक्यो ।’ कुनै उदीयमान पार्टी भन्दैछ- ‘जान्नेलाई छान्ने’ । तर, त्यसको मूल नेतालाई आफ्नै ‘नागरिकता र राहदानीको कानुनी हैसियत’ के हो, जान्दैन ।

यदि सांकेतिक रूपमा भन्ने हो भने सत्योत्तरताको नेपाली भेरियन्ट आज मुकुन्द घिमिरे र पुण्य गौतममार्फत अभिव्यक्त भइरहेको छ । हिजो कम्तीमा यो स्तरमा झुट बोल्न, सस्तो लोकपि्रयताको चाहना राख्न मान्छे लजाउँथे, डराउँथे । दुनियाँले के भन्ला भन्ने चिन्ता थियो । आज त्यस्तै सबै लज्जा र चिन्ताहरू हराएका छन् । केवल दुई सरोकार सामुन्ने छन्- झुट यति आत्मविश्वासका साथ भन्न पर्‍यो कि त्यो भाइरल हुनुपर्‍यो र त्यसको लोकप्रियताबाट कुनै न कुनै फाइदा हुनुपर्‍यो ।

प्रधानमन्त्रीको पदमा बसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘घरघरमा ग्याँस पाइप’ मात्र पुर्‍याएनन् २०७७ साल पुस १ गतेदेखि ‘हनुमाननगर-कलकत्ता चल्ने पानीजहाजको टिकट’ सम्म काटे । सत्योत्तरताको योभन्दा ठूलो प्रमाण के चाहियो !

अर्कोतिर हामी बारम्बार भन्छौं- देश बनेन । कांग्रेस-एमाले शक्तिशाली भएको ३३ वर्षमा पनि सन्तोषजनक विकास भएन । कांग्रेस-एमाले हेजिमोनीमा माओवादी र मधेशवादी थपिएको करिब १६ वर्षमा पनि बनेन । यिनीहरूले हाम्रो भविष्य अपहरण गरे । तर, के हामीले ती ‘भविष्य-अपहरणकर्ता’ को मोह त्याग्न सक्यौं त ? संस्थागत रूपमा कांग्रेस, एमाले, माओवाद, राजावादी वा मधेशवादीको कुरा छोडौं- के व्यक्तिगत तहमा आफ्नो नेतृत्व र प्रवृत्ति परिवर्तन गर्न ती संस्था सफल भए त ? निःसन्देह सकेनौं ।

यसले के देखाउँछ भने सत्योत्तरता जस्तै पीडकमोह पनि हाम्रो आम चेतना (मास कन्ससनेस) मा निकै बलियो छ । जहाँ पीडितहरू बयान दिन डराउँछन्, त्यहाँ अपराधीहरूको अपराध अदालतमा सावित हुन, प्रमाणित हुन सक्दैन, तिनले सजाय पाउन सम्भव हुँदैन, चाहे त्यो कानुनी अदालत होस् वा जनअदालत ।

हाम्रो लोकतन्त्रको मनोवैज्ञानिक यथार्थ आज यही हो कि स्टकहोम सिन्ड्रमले गर्दा ‘पोष्ट-ट्रुथ’ हरू समाजमा बग्रेल्ती स्थापित भएका छन् । तिनै आदर्श र मानकजस्तो भएका छन् । जसले जति ठूलो झुट जति धेरै आत्मविश्वासका साथ बोल्न सक्दछ, त्यही ठूलो नेता, सेलिब्रेटी वा सार्वजनिक व्यक्तित्व हो भन्ने गलत आम चेतनाको कारणले समाज सस्तो, सतही र फोस्रो हुँदै गएको छ ।

ज्ञान-विज्ञानप्रतिको रुझान कमजोर हुँदै गएको छ । वस्तुगत तथ्य हैन, मनोगत आग्रहका आधारमा सत्यको खुशी हुँदैछ, त्यस्ता सत्यहरू सत्य नभएर सत्योत्तर हुन्छन् र तिनले दिने खुशी अफिमले दिने आनन्दजस्तो भन्ने बुझ्न सबैलाई गाह्रो भइरहेको छ ।

युरोप, अमेरिकाको पछिल्लो प्रगति मूलतः पुनर्जागरण, प्रबोधन र औद्योगिक क्रान्तिको जगमा भएको थियो । अर्थात् आधुनिकताको सबैभन्दा ठूलो आग्रह नै सत्यको खोज थियो, जसले विज्ञान र प्रविधिको विकासलाई सहज बनायो । यदि अन्तर्यमा गएर त्यसको रहस्यलाई खोज्ने हो भने मध्ययुगीन ‘बर्बरता र अन्धकार’विरुद्ध आधुनिकताको सार ‘वैज्ञानिकता र नागरिक सार्वभौमसत्ता’ थियो । विज्ञानले रुढीवाद, धर्मान्धतालाई चिर्‍यो । नागरिक स्वतन्त्रताले निरंकुशता र तानाशाहीलाई अन्त्य गर्‍यो ।

‘पोष्ट-ट्रुथ’ मनोदशा र स्टकहोम सिन्ड्रमले ठीक यही कुरालाई घुमाउरो तरिकाले चुनौती दिंदैछन् । दुःखको कुरा के छ भने यिनै प्रवृत्ति र मनोदशासँग संघर्ष गरेर जन्मिएका उदारवाद र साम्यवादजस्ता विचारधारा, आन्दोलन र नेतृत्व नै आज त्यसका संवाहक भएका छन् । र यो चुनौतीसँग लड्ने एक मात्र उपाय, एक मात्र हतियार ‘विवेकतन्त्र’ नै हो ।

लोकतन्त्रमा हामी कसैलाई यो भन्न सक्दैनौं, भन्ने अधिकार राख्दैनौं कि तिमी ‘अविवेकी’ छौ । ‘विवेकशील’ हुनुको अर्थ व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मानलाई चोट पुर्‍याउनु र ‘जान्ने पल्टिनु’ हैन । विवेकतन्त्रका मुख्य तीन वटा विशेषता हुन्छन् ।

एक- हरेक अस्तित्वलाई वस्तुगत यथार्थमा हेर्ने प्रयत्न गर्नु । दुई- हरेक परिघटनालाई निश्चित मानकबाट हेर्नु । तीन- वस्तुगत यथार्थले, मानकले जे भन्छ, त्यो स्वीकार गर्नु, त्यससँग नमिलेका कुराका लागि, दोहोरो मापदण्ड र पाखण्डका लागि लज्जित हुनु, गल्ती स्वीकार गर्नुलाई लज्जाको हैन, गौरवको विषय बनाउनु ।

लोकतन्त्र भनेको बहुमत, बहुसंख्या वा धेरैभन्दा धेरै भोट मात्रै हो, जसरी हुन्छ, धेरैभन्दा धेरै मान्छेलाई प्रभावित गर्नु, भोट जम्मा गर्नु वा अर्को अर्थमा भ्रमित गर्नु नै राजनीतिक सफलता हो भन्ने सोचबाट निर्दिष्ट समाजले कहिल्यै उन्नति गर्न सक्दैन ।

यो साँचो हो कि लोकतन्त्रले हामीलाई ‘अविवेकी’ हुने छुट र स्वतन्त्रता दिन्छ तर लोकतन्त्रमा विवेकतन्त्रको अभाव भयो भने हामीलाई नरक जानबाट भगवानले पनि जोगाउन सक्दैनन् ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?