+
+

लुंगी लगाएर नाचेपछि दक्षिण भारतमा सलमान खानको चर्को विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १८:१२

काठमाडौं । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीत ‘यन्तमा’लाई लिएर विवाद चर्किएको छ । यो गीतमा दक्षिण भारतीय संस्कृतिको अपमान गरिएको आरोप छ ।

भारतीय पूर्वक्रिकेटर लक्ष्मण शिवरामकृष्णनले गीतलाई लिएर आक्रोश पोखेका छन् । उनले यो गीतमा सलमानले लगाएको लुंगी नधोइएको भन्दै विरोध जनाए । साथै उनले गीतमा परम्परागत साउथ इन्डियन ड्रेस लगाएर आपत्तिजनक डान्स स्टेप गरिरहेको समेत आरोप लगाएका छन् ।

‘यन्तमा’ गीत गत बुधबार रिलिज भएको थियो । गीतमा साउथ स्टार वेंकटेश दग्गुबाती र रामचरण पनि देखिएका छन् । यो गीतमा सलमान लुंगी उठाएर नाचिरहेका छन् । लुंगी दक्षिण भारतको परम्परागत पोशाक हो ।

अहिले यो विषयमा साउथ क्रिकेटरदेखि कलाकारसम्मले विरोध गरिरहेका छन् । पूर्वक्रिकेटर शिवरामकृष्णनले लेखेका छन्, ‘यो अत्यन्तै अपमानजनक र हास्यास्पद छ । यो परम्परागत पोशाकलाई निकै नराम्रो तरिकाले देखाउने प्रयास गरिएको छ ।’

टाइम्स अफ इण्डियासँग कुरा गर्दै एक तमिल कलाकारले नशा खाएर गीत बनाइएको हो भनेर प्रश्न सोधेका छन् । ‘दक्षिण भारतका लागि लुंगीको कति महत्व छ भन्ने निर्मातालाई थाहा छ । सलमानको बारेमा भनौं भने उनले थाहा पाएनन् भन्न सक्छौं । तर वेंकटेश र रामचरण दक्षिण भारतबाट आएका हुन् । यो गीतमा उनी कसरी नाच्न सक्छन् र सबैभन्दा पहिले यो लुंगी पनि होइन, लुंगी जस्तै लगाइएको धोती हो,’ उनले लेखेका छन् ।

सलमानसँग काम गरेका एक फिल्म निर्माताले सलमान आफ्नो फिल्ममा आफूबाहेक कसैको कुरा सुन्दैनन्, वास्तविकता बुझ्न चाहँदैनन् भनेर बताएका छन् । उनले भने, ‘सलमान कसैको कुरा सुन्दैनन्, उनी जे चाहन्छन् त्यही गर्छन् । कसैले गल्ती सच्याउन खोज्दा पनि सलमानले सुन्दैनन् ।’

उक्त गीतमा हिन्दी र तेलुगू मिश्रित शब्द छन् । गायक–संगीतकार विशाल ददलानी र पायल देवको स्वर रहेको गीतमा रफ्तारको शब्द र सब्बीर अहमदको संगीत छ । यो गीत केही हदसम्म शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’को लुंगी डान्ससँग मिल्दोजुल्दो छ ।

‘किसी का भाइ किसी की जान’ इदको अवसर पारेर आगामी वैशाख ८ गते रिलिज हुँदैछ । लामो समयपछि सलमान फिल्ममा पुनरागमन गर्दैछन् । यस फिल्ममा वेंकटेश दग्गुबाती, पूजा हेग्डे, राघव जुयाल, शहनाज गिल र सिद्धार्थ निगमको पनि प्रमुख भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?