+
+

‘निडरलाई जिताउनुहोस्, महासंघ परिवर्तन हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते २०:५३

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हुन्, उमेशलाल श्रेष्ठ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा हुन्, श्रेष्ठ । लामो समयदेखि महासंघमा आवद्ध भई काम गरेका श्रेष्ठले तीन कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्षको भूमिकामा रहेर कार्य गरिसकेका छन् ।

महासंघमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले यस पटक साना तथा मझौला उद्यमीले सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै उनीहरूको हितका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । महासंघमा श्रेष्ठको उम्मेदवारी र एजेण्डा सहितका विषयमा गरिएको कुराकानी :

चुनावी चटारोमा हुनुहुन्छ, तयारी कस्तो छ ?

राम्रो चलिरहेको छ । दौडधुप सकियो, काठमाडौंकेन्द्रित छौं । जिल्ला–जिल्लाबाट साथीहरू आउँदै हुनुहुन्छ ।

सर्वसम्मतिको प्रयास पनि जारी रहेको सुनिन्छ, त्यस्तो सम्भावना कति छ ?

सम्भावना हुनु राम्रै हो, प्रयास भइरहेको छ । यसमा वरिष्ठ उपाध्यक्ष लाग्नुभएको छ । म भने चुनावमै होमिएको छु ।

निजी क्षेत्रको नेतृत्वमा जान खोजिरहनुभएको तपाईंको पारिवारिक पृष्ठभूमि राजनीतिक देखिन्छ । यो बाटो किन रोज्नुभयो ?

हामी हिंड्दा–हिंड्दै पनि कहिलेकाहीं दोबाटोमा पुग्छौं । अब दायाँ जाने कि बायाँ ? मैले मन पराएरै यो बाटो रोजें । घरका सबै राजनीतिमा लाग्नुपर्दैन, कोही आर्थिक क्षेत्रमा पनि जानुपर्छ भनेर म बिजनेसमा आएको हुँ ।

कतिपयले उमेश श्रेष्ठ नेतृत्वमा जाने बेला भएको थिएन भन्ने टिप्पणी गर्छन्, तपाईंको तर्क के हो ?

६५ वर्षको भएँ, बेला भनेको के हो ? मेरो बेला भएको छैन भने ५२ वर्षको मान्छे नेतृत्वमा पुग्ने बेला भएको हो त ? बेला उमेरले, परिपक्वताले कि पैसाले हुन्छ ? पैसाले हो भने पक्कै मेरो बेला भएको छैन ।

म अर्बपति, खर्बपति होइन । कम पैसावाला मान्छे अध्यक्ष बन्न सक्दैन भने अवश्य पनि मेरो बेला भएको छैन ।

अर्थतन्त्रमा समस्या भएको, निजी क्षेत्रको मनोबल खस्किएको र अस्थिर सरकार पनि नयाँ गठन भएर बजेट बनिरहेको बेला महासंघको नेतृत्वमा पुग्नुभयो भने तपाईंले गर्छु भनेर पहिचान गरेका विषय केके छन् ?

मैले सोचेका तीन वटा कुरा छन् । हामीले तत्कालको समस्या समाधान गर्ने हो । त्यो भनेको मैले रूस–युक्रेन युद्ध रोक्न सक्दिनँ । त्यसले ल्याएको मन्दी पनि रोक्न सक्दिनँ । तर, त्यो मन्दीसँग कसरी लड्ने भन्नेमा मेरो ध्यान हुन्छ ।

मैले सर्वप्रथम सोचेको सरकारसँग वार्ता गरेर बैंकको ब्याजदर घटाउनुपर्छ । सकिन्छ भने एकल विन्दुमै झार्नुपर्छ । यसो भन्दाभन्दै बैंकको नाफा खोस्ने भन्ने कुरामा म सहमत छैन ।

बैंकहरू नाफामा हुनुपर्छ । बैंक छन् त हामी छौं, हामी छौं त बैंक छ । यो कुरा बुझ्नुपर्छ । बैंकहरू घाटामा गएर हामीलाई उठाउ भन्ने कुरा त हुँदैन ।

सरकारले पहल गरेर विदेशी मुद्रा ल्याउनुपर्छ । अहिले पनि २-३ प्रतिशतमा विदेशी ऋण पाइन्छ । अहिले ४–५ खर्ब रुपैयाँ ल्याएर त्यसमा हेजिङ जोडेर, बैंकहरूको नाफा केही कम गराएर ८-९ प्रतिशत दिन सकिन्छ । अहिले प्रिमियम दरले ठूलो समस्या ल्याएको छ, यसलाई कम गर्न सकिन्छ ।

बैंकको ब्याजदर १० प्रतिशत हाराहारीमा छ । त्यसमा प्रिमियम दर ५ जोड्दा १५ प्रतिशत पुग्न जान्छ । साना व्यापारीले धेरै प्रिमियम तिर्नु परेको छ । किनकि उसको जोखिम धेरै हुन्छ । यसलाई समाधान गर्ने हो ।

अर्को, कृषि क्षेत्रमा ध्यान नदिई हुँदैन । कृषि प्रधान मुलुकले गत वर्ष ४ खर्ब हाराहारीको कृषिजन्य वस्तु आयात गरेका छौं । आधा खेतबारी बाँझो छाडेका छौं । काम गर्ने युवालाई विदेश पठाइरहेका छौं । यो अवस्थामा कृषिलाई आकर्षक बनाउने विषय निकै महत्वपूर्ण छ ।

नेपाली कृषिलाई राम्रो बनाउने दुई तरिका छन्– एउटा समयमै मल र बीउविजन उपलब्ध गराउने र अर्को सिंचाइसहित अन्य काम गर्ने । जलस्रोतमा पनि धनी मुलुकले कृषि क्षेत्रमा केही न केही त गर्नै पर्नेछ ।

२०७२ सालयता हामी समस्यै समस्यामा छौं । त्यसअघि यस्तो खालको समस्या भोगेका थिएनौं । यो अवस्थामा निडर मान्छेलाई मौका दिनुहोस्, महासंघ परिवर्तन हुन्छ । अमिल्दा खालका विधान पनि संशोधन गर्छु ।

कृषिमा तीन महिनादेखि नै प्रतिफल आउन थाल्छ । सागसब्जी, दलहन, चामल उत्पादनको अवधि ३ देखि ५ महिनासम्मको हो । कृषिमा जोड दिनै पर्छ ।

तेस्रो विषय हाम्रा औद्योगिक नीतिहरूमा धेरै नै काम गर्नुपर्नेछ । हाम्रा नीतिहरू उद्योगमैत्री छैनन् । त्यसलाई जबसम्म परिवर्तन गर्दैनौं, हामीले सोचेजस्तो उन्नति हुँदैन । यसका लागि अलिकति समय चाहिन्छ । कानुन परिवर्तन तत्काल नहुन सक्छ । यसमा २–३ वर्षको अवधि राखौं ।

म परिष्ठ उपाध्यक्ष भएँ भने चन्द्र ढकालजीसँग मिलेर १ र २ नम्बर बुँदामा विशेष जोड दिन्छौं र तेस्रो बुँदाको काम थाल्छौं । अहिलेलाई योभन्दा ठूलो एजेण्डा लिएर गए हामी लड्छौं, भत्कन्छौं । त्यसकारण म धेरै ठूलो एजेण्डाको कुरा गर्दिनँ । तत्कालको राहत, औद्योगिक वातावरण र कृषिमा सुधारका विषयमा केन्द्रित हुन्छु ।

निजी क्षेत्रमा सधैंजसो एउटै एजेण्डा दोहोरिन्छ । खुला बजार अर्थतन्त्रमा निजी क्षेत्रले नेतृत्व लिएर सरकारका लागि पनि पाठ बन्ने अवस्था किन आउन सकेन ?

अर्थतन्त्रमा ७०–८० प्रतिशत योगदान निजी क्षेत्रको छ । यो अवस्थामा निजी क्षेत्रले पक्कै पनि नेतृत्व लिनुपर्छ । हामी सबैको लक्ष्य एउटै हो । लक्ष्यमा पुग्ने बाटो मात्र फरक हो ।

निजी क्षेत्रलाई समाजप्रति उत्तरदायी नभएको, नाफाखोर भएको, कर छली गरेको लगायत आरोप लाग्ने गरेको छ । पारदर्शिता आवश्यक देख्नुहुन्न ?

नेपालमा प्रश्न कसलाई गरिंदैन ? पत्रकारलाई अस्ति के–के भन्यो ? नेताजीहरूलाई के–के भन्छन् ? व्यापारीलाई पनि भन्ने नै भए । प्रश्न आउँदैमा आत्तिने कुरा भएन ।

जहाँसम्म नाफाको कुरा छ, हामीलाई नाफा नभए सरकारलाई २५ प्रतिशत कर कसले तिर्छ ? यसको अर्थ यो होइन कि हामीले एकदम धेरै नाफा खानुपर्छ । खुला अर्थतन्त्र अपनाएपछि यसको सिद्धान्त नै यसमा हस्तक्षेप हुँदैन । बजार भाउ खुला बजारको माग र आपूर्तिको सिद्धान्तले तोक्छ । कहिलेकाहीं अलि बढी हुनसक्छ, कहिले अलिकति कम । त्यसैले खुला अर्थतन्त्र मान्ने अनि घाँटी ङ्याक्ने भन्ने कुरा मिल्दैन ।

निजी क्षेत्रमाथि अर्को आरोप पनि लाग्छ, सरकारी मान्छेसँग नजिक हुने र नीतिगत रूपमै हस्तक्षेप गर्ने । विगतमा करका दर हेरफेरका विषय बाहिरिएका थिए । यस्ता विषयमा शुद्धीकरणको खाँचो कत्तिको देख्नुहुन्छ ?

यस्ता कुरामा त कर्मचारी नेताको पनि दोष भयो । यसमा हामी सबै सङ्लिन आवश्यक छ । यो देशको अर्थतन्त्रलाई डोर्‍याउने भनेको १५ जेठमा आउने बजेट नै हो । सबै राजनीतिक दललाई मेरो अनुरोध के छ भने कम्तीमा एउटा एजेण्डामा त मिल्दिउँ न-मुलुकको आर्थिक बाटो तय गरेर कसरी अगाडि बढ्ने ?

त्यसपछि तपाईंहरू सत्ताको खेल गर्दै गर्नुहोस्, हामीलाई मतलब भएन । मन्त्री को आउँछ, कुन मन्त्रालय कसले लिन्छ हामीलाई मतलब भएन । देशले अंगीकार गरेको आर्थिक बाटो यो हो है भनेर निश्चित गरे हामीलाई पुग्छ ।

सरकारमा जो–सुकै आए पनि १० वर्षसम्म हाम्रो आर्थिक एजेण्डा यो है भनिए निजी क्षेत्रलाई सजिलो हुनेथियो । मन्त्री आउँछन्, जान्छन् राजनीति यस्तै हो । यसै पनि हाम्रो राजनीति अझै अस्थिर छ । दोष एउटा पार्टीलाई मात्र जाँदैन । सबै मान्छे खराब हुन्छन् या सबै असल हुन्छन् भनेर सोच्नुहुँदैन । केही व्यक्ति जहाँ पनि खराब हुन्छन् । कानुन, प्रहरी, जेल त्यसैले चाहिएको हो । निजी क्षेत्र मात्र बदमास, नाफाखोर हो भनेर देश चल्दैन ।

निजी क्षेत्र पछिल्लो समय आन्दोलनमा छ । साँच्चै समस्या भएरै हो ? कतिपय बेला बैंकर्स नै बैंकविरुद्ध आन्दोलनमा देखिए नि ?

तपाईंलाई समस्या नभएको भन्ने लाग्छ ? तर, बैंकर्स नै बैंकविरुद्ध उत्रने विषय चाहिं हास्यास्पद नै हो । यो ‘स्टण्ट’ पनि हुनसक्छ, त्यसैले म धेरै टिप्पणी गर्न चाहन्नँ । साना व्यापारी-उद्यमी चाहिं प्रताडित नै छन् । मोफसलमा यो समस्या अझ भयावह छ । सरकार र बैंकबाट उनीहरू साँच्चै समस्यामा छन् । ४५ वर्षको व्यावसायिक जीवनमा मैले अहिले जति खराब अवस्था देखेको छैन ।

अर्थतन्त्रमा अहिले देखिएको समस्या कति परसम्म जाने देख्नुहुन्छ ?

म अर्थविद् होइन, अनुमानमा बोल्न पनि सक्दिनँ । मैले भनेको सूत्र कार्यान्वयन भयो भने अलि छिटो समस्या समाधान हुन्छ । नत्र, समय लाग्छ ।

नयाँ सरकार बजेट बनाउँदै छ । स्थानीयस्तरदेखि ठूलासम्म व्यवसायीका गुनासा र माग के–के छन् ?

स्थानीयस्तरदेखि ठूला व्यवसायीसम्मलाई अहिलेको स्थितिबाट पार लगाउनुपर्छ भन्ने नै हो । यसका लागि वैशाखपछि बजेटलाई सुझाव दिन थाल्छौं ।

अहिले खास गरेर साना र मझौला व्यवसायी सारै समस्यामा छन् । उनीहरूलाई परिवार धान्न पनि मुश्किल परेको छ । हार्डवेयरको दोकान राख्नेको व्यापार २० प्रतिशत पनि छैन । त्यसमाथि बैंकहरूको दबाव छ । यो अवस्था कति लम्बिन्छ, कसैलाई थाहा छैन । समस्या जति छिटो समाधान गर्न सकियो उति राम्रो हुन्छ । सरकारले यति बुझिदिए आफैं राम्रो हुन्छ ।

महासंघको निर्वाचनमा तपाईंको सहित तीन प्यानल देखिएका छन् । कत्तिको बलियो हुनुहुन्छ ?

मेरो प्यानल कमजोर छ भन्ने को होला र ? मलाई पनि बलियो छु भन्ने लाग्छ । सबैतिरबाट समर्थन पनि पाएको छु । जिल्ला, नगरको राम्रो समर्थन पाएको छु । वस्तुगत र एशोसिएटबाट पनि धेरैको समर्थन छ । त्यसैले जित्नेमा ढुक्क छु ।

आफ्ना मतदाता व्यवसायी/उद्यमी/व्यापारीलाई के सन्देश दिन चाहनुहुन्छ ?

अहिलेसम्म घागडान उद्योगपति र उनीहरूका सुपुत्रहरूलाई विश्वास गर्‍यौं, यो पटक यो सानो मान्छेलाई जिताइदिनुहोस् । मैले अहिलेसम्म पाँच चोटि भोट हालिसकें, ठिकै थियो । तर, अहिले सबैको हालत खराब भएको छ । यसमा म कसैलाई दोष दिन चाहन्नँ ।

२०७२ सालयता हामी समस्यै समस्यामा छौं । त्यसअघि यस्तो खालको समस्या भोगेका थिएनौं । यो अवस्थामा निडर मान्छेलाई मौका दिनुहोस्, महासंघ परिवर्तन हुन्छ । अमिल्दा खालका विधान पनि संशोधन गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?