+
+

एसीसी प्रिमियर कपका लागि सजिँदै कीर्तिपुर मैदान

नमिता दाहाल नमिता दाहाल
२०७९ चैत २७ गते ९:४३

२७ चैत, काठमाडौं । वैशाख ५ गतेबाट सुरु हुने एसीसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको मर्मत कार्य तीव्र रुपले अघि बढाएको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय भेन्यूका रुपमा प्रयोग हुँदै आएको कीर्तिपुर मैदानमा मैदानबाहिरका अधिकांश पूर्वाधारलाई सम्भव भएसम्म अन्तर्राष्ट्रियस्तरको बनाइँदैछ ।

क्यानले यो प्रतियोगिताका खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा खेलाउनेछ । दुवै मैदानको तयारी अन्तिम चरणमा पुगेको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले बताए ।

त्रिविमा मैदान र पीचको स्तरोन्नत्तिका साथसाथै रंगशाला क्षेत्रमा सरसफाइ, तारजाली मर्मत, पर्खाल र गेट निर्माणदेखि सजावट तथा विभिन्न कक्षहरु व्यवस्थापनको काम भइरहेको छ ।

मैदानको बाहिरको पर्खालदेखि फाटेका जालीहरु निमार्ण गर्ने काम भइरहेको छ । भेन्यू तयारीको जिम्मेवारी पाएका क्यान कोषाध्यक्ष सिंहले कीर्तिपुर मैदानको स्तरोन्नतिका लागि १० देखि १२ लाख रुपैयाँ खर्च लाग्ने बताएका छन् ।

‘अहिलेसम्म पनि यति नै खर्च भन्ने निश्चित भइसकेको छैन । तर, कीर्तिपुर मैदानमा ठूलो खर्च हुने काम धेरै छैन । १० देखि १२ लाखमा यो मैदान तयार हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

हाल कीर्तिपुर मैदानमा बाहिरका भित्ता रङ्गाउनेदेखि पीच तयारसम्मको कार्य भइरहेको छ ।

दर्शक बस्ने चौरलाई छेकिएको पर्खाल पछिल्लो पटक भएको लिग २ को खेलमा दर्शक थेग्न नसक्दा भत्किएको थियो । उक्त क्षेत्रमा पनि अग्लो बनाइ तारबार लगाइएको छ । ‘दर्शक बस्ने चौरमा छिर्ने मुख्य गेट भत्किएको थियो । लिग २ को अन्तिम खेलको दिन दुई समर्थक घाइते पनि भएका थिए । त्यसलाई मर्मत गरेका छौं,’ कोषाध्यक्ष सिंहले भने ।

अन्तर्राष्ट्रिय मान्यताअनुसारको ड्रेसिङ रुम

अन्तर्राष्ट्रिय खेल सञ्चालन भए पनि कीर्तिपुर मैदानको डगआउट र ड्रेसिङ रुम फर्निसिङ पूरा भएको थिएन । हाल ड्रेसिङ रुममा १५ वटा किट र्‍याक, १५ सेट खेलाडीलाई हुने गरी ड्रेसिङ दराज तयार गरिएको छ ।

‘मैले दुबई र श्रीलंकामा अन्तर्राष्ट्रिय ड्रेसिङ रुम देखेर आएको छु । सोही अनुसार यहाँ पनि हामीले बनाउने काम लगभग सक्न लागेका छौं,’ कोषाध्यक्ष सिंहले भने ।

क्यानले जस्मिन पेन्टससँग अफिसियल पेन्टस् साझेदारका रुपमा सम्झौता गरेको छ । रंगरोगनको सबै काम जस्मिनले नै गर्नेछ । क्यानले आफूसँग भएका केहि सामानहरु प्रयोग गरी प्रतियोगिताका लागि तयार पारेको छ ।

यस प्रतियोगिता भेन्यू निर्माणमा हुने अधिकांश खर्च एसियन क्रिकेट काउन्सिल (एसीसी)बाटै आउनेछ । ‘खर्चको एकीन रुपमा भन्न सकिँदैन । एसीसीमा हामीले बनाएर पठाएको खर्चको स्वरुप अनुसार नै खर्च आउनेछ । यहाँ भएका लगभग खर्च एसीसीकै मातहतमा हुनेछ ।’

यसबाहेक मूलपानी मैदानमा कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयले पनि सहयोग गरेका कारण खर्च कम तथा चाँडै काम सक्नका लागि सहयोग पुगेको कोषाध्यक्ष सिंहले बताए ।

‘मूलपानीमा गरेको कार्यमा नगरपालिकाले पनि धेरै सहयोग गरेको छ । उहाँहरुको साथले हामीलाई पनि काम गर्न निकै जोस आएको छ,’ उनले भने ।

त्रिविमा ३ वटा पीच तयार

त्रिवि मैदानमा ८ वटा पीच छन् । आसन्न प्रतियोगिताका लागि त्रिविमा ३ वटा पीच तयार गरिएको त्रिविका क्युरेटर मधु तामाङले जानकारी दिए ।

‘हामीसँग भएको ८ वटा मध्ये ३ वटा पिच प्रतियोगिताका लागि तयार गरेका छौं,’ उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘तीनैवटा पीच ब्याटिङलाई सहयोग पुग्ने खालको छ ।’

पीचको स्तरोन्नति र अन्य कामका लागि ग्राउण्ड स्टाफहरु खटिएका छन् । सिनियरदेखि जुनियर टिमसम्मको बन्द प्रशिक्षणस्थल पनि भएकाले स्वतन्त्रसँग काम गर्न कठिन भएको उनले बताए ।

त्रिवि मैदानमा हाल एसीसी कपका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खेलाडीहरुले दुई वटा सेसनमा तयारी गरिरहेका छन् । यसको बावजुत पनि पीच निर्माणका लागि उनीहरु बिहान खेलाडी आउनुअघि र बेलुकासम्म पनि बसेर पिचलाई समय दिइरहेको क्युरेटर तामाङले बताए । ‘हामी बिहान ७ देखि ९ सम्म तयार गर्छौं । छेउछाउमा नेट राखेर भए पनि बन्द प्रशिक्षणका बेला पनि तयारी गरिरहेका छौं,’ उनले थपे ।

अनुभवी क्युरेटर उनीले २० वर्षभन्दा बढी समयदेखि मैदान व्यवस्थापनमा काम गरिरहेका छन् । पिच क्युरेटर भएर उनले २०७२ सालदेखि काम गरेका हुन् । उनले हाल पिच निमार्णका लागि भएको उपकरणहरुकै सहयोगमा मैदान तयार गरीरहेको बताए । ‘हामीसँग भएकै उपकरणहरुले पिच बनाइ रहेका छौं । अब थप उपकरण आए सहयोग हुनेछ’, उनले भने ।

फोटो तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?